निजी क्षेत्रलाई गाली गरेर मात्र सार्वजनिक शिक्षा प्रणाली सुध्रिँदैन : बुढाथोकी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी क्षेत्रलाई गाली गरेर मात्र सार्वजनिक शिक्षा प्रणाली सुध्रिँदैन : बुढाथोकी

कान्तिपुर संवाददाता

काठमाडौँ — अनलाइन शिक्षा प्लेटफर्म माई सेकेन्ड टिचरका सहसंस्थापक सुलभ बुढाथोकीले निजी क्षेत्रलाई गाली गरेर मात्र सार्वजनिक र निजी क्षेत्रले दिने शिक्षाबीचको खाडल अन्त्य नहुने बताएका छन् । 

सोमबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर एजुकेसन समिटमा बुढाथोकीले निजी र सरकारी दुवैले राम्रो काम गर्न सक्ने भएकाले गाली गरेर अवस्था नसुध्रिने बताएका हुन् ।

‘निजी क्षेत्रमा राम्रो र नराम्रो गर्ने दुवै छन्, त्यसैले निजी क्षेत्रलाई एउटै टोकरीमा राखेर नदाँज्नु होला,’ उनले भने, ‘राम्रो गर्ने निजी क्षेत्रलाई थपथपाउनु पनि पर्छ ।’

नेपालमै ‘साइबर सुरक्षा’ विषयको अध्ययन गराई अहिले धेरै बैंकहरुको सुरक्षा भैरव टेक्नेलोजीले गरिरहेको उनले दाबी गरे । निजी क्षेत्र लुट्नै आएको नजरले हेर्ने गरेको पनि उनले गुनासो गरे ।

प्रकाशित : चैत्र ७, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्

लोसपा नेता राजेशमान सिंह जसपामा प्रवेश

भूषण यादव

वीरगन्ज — मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जमा स्थानीय चुनावको मुखमा दल बदल्ने होडबाजी चलेको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।


जसपाका अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सिंहलाई सोमबार वीरगन्ज नगरसभा गृहमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत पार्टीमा स्वागत गरेका थिए ।

यसअघि सिंहले एमालेमा प्रवेश गर्ने घोषणा गरेका थिए । तर, सिंह प्रवेश गर्नुअगावै वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपा त्याग गरी एमाले प्रवेश गरेपछि सिंह असन्तुष्ट देखिएका थिए । अघिल्लो स्थानीय तहमा जसपाबाट टिकट लिएर निर्वाचित भएका सरावगीले विगत लामो समयदेखि पार्टीको आन्तरिक किचलोका कारण आफूले काम गर्न नसकेको गुनासो गर्दै आएका थिए ।

कांग्रेस प्रवेश गर्न प्रयास सफल नभएपछि मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीको घरमा आयोजना भएको एक वैवाहिक कार्यक्रममा सहभागी हुन आउँदा मेयर सरावगीलाई टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

सोमबार जसपमा प्रवेश गरेका राजेशमान सिंहले गतमाघ २८ मा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन आयोजन गरी अबको राजनीतिक यात्रा एमालेबाट अगाडि बढाउने घोषणा गरेका थिए । एमालेमार्फत फरक बाटोबाट मधेसको माग सम्बोधन गर्ने उनले जनाएका थिए । त्यसअघि सिंहले आफ्ना सहयोगी नेता तथा कार्यकर्ता लिएर काठमाडौंमा एमाले अध्यक्ष ओलीसँग भेटघाट गरिसकेका थिए ।

अगामी चैत ८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वीरगन्जमा हुने भनिएको पार्टी प्रवेश कार्यक्रममार्फत एमाले प्रवेश गर्ने सिंहको योजना थियो । यहीबीचमा वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले एमाले प्रवेश गरेपछि सिंहले जसपाका नेताहरूसँग वार्ता अगाडि बढाएका थिए । सरावगीको एमाले प्रवेशपछि एमालेबाट मेयरको टिकट पाउने उद्देश्यका साथ पार्टी प्रवेश गर्न लागेका सिंह झस्किएका थिए ।

जानकारका अनुसार एमाले पर्साका नेताहरूको व्यक्तिगत स्वार्थका कारण सिंहको पार्टी प्रवेश पटक-पटक पछाडि धकेलिएको थियो । एमालेका एक नेता भन्छन्, ‘व्यापारिक पृष्ठभूमि भएका मेयरलाई भित्र्याउने उद्देश्यका कारण राजेशमान र उनको समूहको प्रवेश विभिन्न बहानामा धकेलिएको थियो ।’ मेयरको एमाले प्रवेशले पर्सामा दुई गुटमा विभाजित भएको जसपा अहिले एकजुट भएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा सिंहले १२ हजार १ सय ६५ मत ल्याएका थिए ।

प्रकाशित : चैत्र ७, २०७८ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×