विश्वविद्यालयमा अझै पनि राजनीति हाबी छ : उपकुलपति बाँस्कोटा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वविद्यालयमा अझै पनि राजनीति हाबी छ : उपकुलपति बाँस्कोटा

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्विवद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले  राजनीति हाबी भएकैले नेपालका विश्वविद्यालयहरूमा विद्यार्थीको आकर्षण नभएको बताएका छन् । 

‘दलहरूले राजनीतिक परिवर्तनका लागि विश्वविद्यालयका शिक्षक, कर्मचारी र प्राध्यापकलाई प्रयोग गरे,’ बाँस्कोटाले भने, ‘त्यसले राजनीतिक परिवर्तन ल्याउन सघायो पनि । त्यसपछि विश्वविद्यालयलाई राजनीतिबाट अलग गर्नुपर्थ्यो । तर, अझै पनि राजनीति हाबी भएको छ ।’

यति हुँदाहुँदै पनि त्रिविप्रति विद्यार्थी र प्राध्यापकको आकर्षण हुँदै नभएको भन्नेमा आफू सहमत नभएको बाँस्कोटाको भनाइ छ । सोमबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर एजुकेसन समिट- २०२२ को तेस्रो सत्र ‘ज्ञानको गन्तव्य, स्वदेश कि विदेश ?’ मा उनले त्रिविमा विश्वका प्रतिष्ठित र स्थापित व्यक्तिहरू प्राध्यापनका लागि आउने गरेको बताए ।

‘आकर्षण नभएको भए उनीहरू आउँथेनन् होला,’ उपकुलपति बाँस्कोटाले भने, ‘बाहिरको काम गरिरहेका, प्रेस्टिजियस ठाउँमा बसिरहेकाहरू त्रिविमा आइरहेका छन् ।’

शिक्षामा फन्डिङको व्यवस्था खोज्दै कतिपय मेधावी विद्यार्थीहरू विदेसिने गरेको पनि उनको भनाइ छ। नयाँ–नयाँ 'इन्टरडिसिप्लिनरी' कोर्समा रुचि हुनेहरू पनि पढाइका लागि विदेसिने उनले बताए । ‘हाम्रा केही समृद्ध वर्गले सामाजिक प्रतिष्ठाका लागि पनि छोराछोरी विदेश पठाउँछन्,’ उनले थपे, ‘यो मेन्टालिटीले, अरुलाई देखाउन, नातेदार गएकाले सन्तानलाई विदेश पठाउने चलन छ ।’

प्रकाशित : चैत्र ७, २०७८ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्

८ महिनामै मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुन मसान्तसम्म कुल १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर रकम आयातका लागि बाहिरिएको छ ।

सोही अवधिमा नेपालले जम्मा १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरी आम्दानी गरेको छ । आयात गत वर्षको यसै अवधिको तुलनामा ३८.६४ प्रतिशत बढेको छ भने निर्यात ८२.९० प्रतिशतले बढेको तथ्यांक छ । पाम र सोयाविनको कच्चा तेल आयात भई प्रशोधन गरी पुन: निर्यात गरिँदा निर्यातको वृद्धिदर उच्च देखिएको हो । निर्यातमा प्रशोधित सोयाबिन तेल र पाम तेल सबैभन्दा अगाडि छन् । पहिलेदेखि नै ठूलो हिस्सा रहेको आयातमा ती कच्चा तेलको हिस्सा कम देखिन पुग्यो भने सानो आकारको निर्यातलाई त्यसले ठूलो वृद्धि दर देखाउन पुग्यो । तसर्थ यो निर्यातको वृद्धिदरलाई लिएर हौसिनुपर्ने अवस्था नरहेको जानकार बताउँछन् ।

८ महिनाको अवधिमा ७ खर्ब ९७ अर्ब रुपैयाँको वस्तु भारतबाट मात्रै आयात भएको छ । त्यस्तै १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भारतमा मात्रै भएको छ । साे अवधिमा चीनबाट कुल १ खर्ब ८६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने ५४ करोड रुपैयाँको वस्तु सो देशमा निर्यात भएको छ ।


प्रकाशित : चैत्र ७, २०७८ १५:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×