नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउन सकिन्छ : राज्यमन्त्री उमेश श्रेष्ठ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउन सकिन्छ : राज्यमन्त्री उमेश श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — राज्यमन्त्री उमेश श्रेष्ठले अबको शिक्षा दुई धारमा हुनुपर्ने बताएका छन् । सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिट–२०२२ मा बोल्दै श्रेष्ठले उक्त विचार व्यक्त गरेका हुन् ।

‘अब शिक्षा दुई धारमा सञ्चालन गरिनु पर्छ,’ उनले भने, ‘पब्लिक धार र प्राविधिक धार बनाएर जान जरुरी छ । साधारण शिक्षा पढ्ने र प्राविधिक धार पढ्ने मात्र बनायौं भने सहज हुनेछ ।’ निजी र सामुदायिक भनेर दुईखाले शिक्षा सञ्चालन रहेको तर प्राविधिक शिक्षालाई प्राथमिकतामा पर्न नसकेको उनले बताए ।

आफू एक दशकदेखि नीति निर्माण तहमा रहेको तर चाहेजस्तो शिक्षाको विषयलाई सुधार गर्न नपाएको उल्लेख गरे । ‘अहिले शिक्षामा संघीय कानुन बनेको छैन,’ संघीय संसद्ले नयाँ ऐन जारी गर्न लागेको उल्लेख गर्दै उनले भने, ‘विद्यालय शिक्षादेखि देशका एउटै विश्वविद्यालयले १६ सय सम्बन्धन दिदै आएको अवस्था छ । यो हुनु भएन । अब केन्द्रीय, स्टेट, स्थानीय युनिभर्सिटी हुनुपर्छ ।’ उनले पब्लिक र प्राइभेट खुला हुन नसकेको उल्लेख गरे ।

‘अब सरकारले लगानी बढाउनु पर्छ र प्राइभेटमा पढ्नेलाई छात्रवृत्ति दिन सक्नुपर्छ,’ निजी शिक्षालयको योगदानलाई कम आकलन नगर्न संकेत गर्दै राज्यमन्त्री श्रेष्ठले भने, ‘त्यसो भएमा दरार भयो भन्ने घट्छ । पब्लिक प्राइभेट पार्टनरसिप हुनुपर्छ ।’

विदेश जाने विद्यार्थी ताँती रोक्ने काम निजी क्षेत्रका शिक्षालयले गरेको उनले दाबी गरे । ‘तर पनि सात महिनामा ३७ अर्ब रुपैयाँ विदेशिएको छ,’ नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउन सकिने उल्लेख गर्दै भने, ‘विद्यालय तहमा पाँच पाँच वर्षमा हेडमास्टर परिवर्तन गर्नुपर्छ । जुन ठाउँमा आवश्यकता छ, भौतिक पूर्वाधार निर्माण गरेर विद्यार्थि टिकाउन जरुरी छ । अहिले विद्यालय र शिक्षक मर्ज गर्नु पर्ने देखिन्छ ।’

सरकारले अंग्रेजी, गणित र विज्ञानका विषय शिक्षकलाई तालिम दिइनु पर्ने र प्रविधिमैत्री तुल्याउन आवश्यक रहेको जोड दिए । ‘सरकार शिक्षाको समग्र सुधारप्रति गम्भीर छ,’ उनले भने ।

प्रकाशित : चैत्र ७, २०७८ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउने

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि शुक्रबार नेपालमा आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री यी नेपाल आउन लागेको बताएको छ ।

भ्रमणको क्रममा विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने छन् । त्यसैगरी परराष्ट्रमन्त्री नारायण खड्का र उनको टोलीबीच शनिबार द्वीपक्षीय वार्ता हुनेछ ।

विदेशमन्त्री यीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकी निकाय एमसीसीसँगको सम्झौता अनुमोदन भएको महिनाभित्रै उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यी काठमाडौं उत्रने भएका हुन् । नेपालले मूलतः आधा दर्जन विषयमा छलफल अघि बढाउन सके भ्रमण सदुपयोग हुने विज्ञहरूको भनाइ छ ।

प्रकाशित : चैत्र ७, २०७८ १४:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×