विश्वविद्यालयमा अहिले गरिएका तालाबन्दी अपराध हो : गगन थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालयहरूमा अहिले गरिएका कतिपय तालाबन्दी अपराधीकरणको तहमा पुगेको बताएका छन् । अपराधका रुपमा हुँदै आएका कामलाई सामान्यीकरण गर्दै जाने हो भने क्षमादान गर्दिएजस्तै हुने थापाले बताएका हुन् ।

सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित एजुकेसन समिटमा बोल्ने क्रममा महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा थुप्रै तालाहरू लगाइएको भन्दै यस्तो बताएका हुन् ।
विद्यालय, विश्वविद्यालय कसले चलाउन पाउने र कसरी चलाउने भन्नेबारे यकिन गर्नका लागि पनि सरकारले काम गर्नुपर्ने भन्दै महामन्त्री थापाले त्यसभन्दा अघि निजी विद्यालयहरूले उठाउने शुल्कलाई व्यवस्थित गरेर जानुपर्ने बताएका हुन् ।
'विश्वविद्यालय कसले चलाउने, विद्यालय कसले चलाउने भन्नेबारे संविधानमा लेखिए पनि ऐन बनाएर त्यसलाई सुरु गर्न सकिएन । त्यो हामीले बनाउँदै बनाएनौँ । अझैसम्म पनि बनाएका छैनौं,' उनले भने, 'नेपालमा अहिलेसम्म संघीय कानुन नै छैन । यस्ता कुरामा ध्यान नदिएर हामी अन्यत्र लाग्यौँ । यस किसिमले हेर्दा हामी मूल कुराबाट नै भाग्यौँ जस्तो लाग्छ ।'
प्रकाशित : चैत्र ७, २०७८ ११:५९