१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तस्बिरले फिर्ता ल्यायो फल्चा

आधा शताब्दी हडपिएको फल्चा फिर्ता ल्याउन एक पुस्ताले नै संघर्ष गर्नुपर्‍यो : मेयर महर्जन
दामोदर न्यौपाने

ललितपुर — झन्डै आधा शताब्दी नामेट भएको समय फल्चाले पुनर्जीवन पाएको छ । शनिबार ललितपुर उपमहानगर प्रमुख चिरीबाबु महर्जनले भत्किएको ४९ वर्षपछि समय फल्चाको उद्घाटन गरे । उद्घाटनका क्रममा मेयर महर्जनले पुरानो तस्बिरका कारण फल्चा फेरि बनाउन सफल भएको बताए । ‘यो तस्बिर थिएन भने फल्चा यो रूपमा फर्काउन सकिने थिएन,’ महर्जनले उद्घाटन समारोहमा राखिएको तस्बिर देखाउँदै भने, ‘हजार शब्दले व्याख्या गर्न नसक्ने काम एउटा तस्बिरले गर्न सक्छ भन्ने पुष्टि भएको छ ।’ 

तस्बिरले फिर्ता ल्यायो फल्चा

ललितपुर महानगरापालिका अगाडि अशोक स्तूपको आडैमा कुनै बेला बटुवालाई बस्न र जात्रा पर्वमा सांस्कृतिक गतिविधि सञ्चालन गर्न बनाइएको समय फल्चा (पाटी) हेर्दाहेर्दै पाताल भएको थियो । त्यसपछि स्थानीयले यसलाई हडप्न सुरु गरे । हडपेको फल्चा फेरि फिर्ता ल्याउन त्यही तस्बिर प्रमाणका रूपमा पेस गर्दै हिँड्नु परेको महर्जनले सुनाए । ‘प्रधानमन्त्री शेरबहादुर देउवादेखि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिसम्मलाई यही फोटो देखाउँदै हिँडें,’ महर्जनले भने, ‘यही फोटो हेरेरै सीडीओले फुकुवासमेत गरिदिनुभयो ।’ मेयर महर्जनका अनुसार अदालतले अन्तरिम आदेश दिन नमान्दा होस् वा गृह मन्त्रालयको आदेशले जिल्ला प्रशासन कार्यालयले फल्चा पुनर्निर्माण नगर्न निर्देशन दिँदा यही फोटो देखाएपछि निर्देशन फुकुवा भएको थियो ।

समय फल्चा निर्माण समितिका संयोजक रविन महर्जनका अनुसार उक्त तस्बिर २०२३ सालमा खिचिएको हो । तस्बिरमा फल्चा निकै पुरानो देखिन्छ । पुल्चोक हुँदै जावलाखेलतिर जाने सडकको छेउमै रहेको यो फल्चाको दायाँतिर अशोक स्तूप र बायाँतिर सोह्रखुट्टे पाटी देखिन्छ । महर्जनका अनुसार राजाले वृक्षरोपण गर्ने कार्यक्रमका बेला २०२९ सालमा फल्चा भत्काइएको थियो । फल्चा रहेको स्थान ललितपुर महानगर–३ मा पर्छ । फल्चाको पुनर्जीवन पाएकोमा वडाध्यक्ष गोपाल महर्जनले खुसी व्यक्त गरे । ‘हामीले युद्ध जितेको जस्तो भएको छ,’ उनले भने, ‘कमान्डर (मेयर) बलियो भएर मात्र यो युद्ध जित्न सफल भइयो ।’

फल्चा पुनर्निर्माण गर्न भने महानगर र स्थानीयले लामो कानुनी झमेला झेल्नु परेको थियो । ४९ वर्षपछि फल्चा बनाउने योजना अनुसार गत भदौ ३ गते फल्चा शिलान्यास कार्यक्रम थियो । तर अघिल्लो दिन अधिवक्ता अमृत अर्याललगायतले दिएको रिट निवेदनको सुनुवाइ गर्दै पाटन उच्च अदालतले निर्माण रोक्न अन्तरिम आदेश दियो । शिलान्यास रोकिएपछि मेयर महर्जनले भेलालाई सम्बोधन गरे । ‘त्यही दिन मैले जसरी पनि बनाउँछु भनेर सम्बोधन गरेको थिएँ,’ मेयर महर्जनले भने, ‘आज नबने भोलि बन्छ । तर बनेरै छाड्छ भनेर अडान लिएको थिएँ ।’

भदौ २३ गते अदालतले अन्तरिम आदेश खारेज गरेपछि काम अघि बढ्यो । फल्चामा पहिलेकै जस्तो सामग्री प्रयोग गरिएको छ । त्यस्तै २०२९ सालमा फल्चा भत्किनुअघिको टुँडाल नै प्रयोग गरिएको छ । महर्जनका अनुसार फल्चा भत्किएपछि त्यहाँको टुँडाल वडा प्रहरी कार्यालयमा र मूर्ति ललितपुर प्रहरी परिसरमा राखिएको थियो । निर्माण सम्पन्न गर्न ३५ लाख रुपैयाँ लागेको महर्जनले जानकारी दिए ।

फल्चा बनाउन एक पुस्ताले नै संघर्ष गर्नु परेको महर्जनले बताए । ‘फल्चा बनाउन एउटा पुस्ताले नै संघर्ष गर्नु पर्‍यो,’ मेयर महर्जनले भने, ‘यो दिनको प्रतिक्षा गरेको धेरै भयो । आज आयो यो दिन ।’ मेयर महर्जनले फल्चा बनाउन संघर्ष गर्ने र दिवंगत भइसकेका मलेगो, लक्ष्मी महर्जन, ज्योतिराज शाक्य, दानमाया, शुक्रराज शाक्य लगायतलाई सम्झिए । स्थानीयहरूका अनुसार फल्चामा इन्द्र जात्राको अवसरमा समय (चिउरा) दान गर्ने गरिन्थ्यो । ‘अब फल्चा बनेको छ । समुदायले पहिला जुन प्रयोजनको लागि प्रयोग गर्थे, त्यही प्रयोजनमा प्रयोग गर्न पाउने छन् अब । अब यहाँ समय दान हुन्छ, चिरिबाबुले भने, ‘मैंले ७५ वटा यस्ता पाटी बनाए तर यसमा मात्र महाभारत भयो । महाभारतै भए पनि सफल भैयो । अदालतको कारण सफल भएको हो । देशमा न्याय मरेको छैन है भन्ने उदाहरण हो यो ।’

प्रकाशित : चैत्र ६, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?