२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मधेस प्रदेशमा बढी म्यादी

सबैभन्दा बढी म्यादी खटिने जिल्ला मोरङ (३७२७), सबैभन्दा कम मुस्ताङ (२३२)
मातृका दाहाल

काठमाडौँ — सरकारले स्थानीय तह निर्वाचन सुरक्षार्थ मधेस प्रदेशमा सबैभन्दा बढी म्यादी प्रहरी खटाउने भएको छ । सातवटै प्रदेश र उपत्यका गरी देशभर १ लाख म्यादीको दरबन्दी स्वीकृत भएकामा मधेसका ८ जिल्लामा २१ हजार ६ सय ९८ जना भर्ना गर्न लागिएको हो ।

मधेस प्रदेशमा बढी म्यादी

सबैभन्दा कम म्यादी प्रहरी खटिनेमा कर्णाली प्रदेश परको छ । कर्णाली प्रदेशका १० जिल्लामा ७ हजार ७ सय १३ जना म्यादीको दरबन्दी निर्धारण गरिएको छ । ७७ जिल्लामध्ये बढी म्यादी खटिने जिल्ला मोरङ परको छ । मोरङमा ३ हजार ७ सय २७ र सबैभन्दा कम मुस्ताङमा २ सय ३२ जना भर्ना लिन लागिएको छ ।

निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको अन्तिम विवरण निर्क्योल गरपछि म्यादी प्रहरीको तैनाथी संख्यामा केही तलमाथि पर्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचनमा नेपाल प्रहरीको सहयोगीका रूपमा जवानसरह सुविधासहित ४० दिन कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले आइतबारबाट देशभर एकसाथ म्यादी प्रहरीको भर्नाका लागि आवेदन खुलाएको छ ।

उपत्यकाका महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुर तथा बाँकी ७४ जिल्ला प्रहरी कार्यालयबाट एकसाथ म्यादीको भर्ना आवेदन लिइँदै छ । चैत ११ सम्म आवेदन दर्ता र चैत १५ बाट छनोट प्रक्रिया टुंग्याएर चैत २२ मा अन्तिम नतिजा प्रकाशन गर्ने प्रहरीको कार्यतालिका छ । छनोटमा परका आवेदकलाई चैत २८ बाट प्रशिक्षण दिएर प्रहरीको सहयोगीका रूपमा मतदान स्थल र केन्द्र तथा आवश्यकताअनुसार गस्तीमा खटाउने तयारी छ ।

उच्च सुरक्षा संवेदनशीलता र निर्वाचन क्षेत्रका आधारमा म्यादीको संख्या निर्धारण गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो । तीन हजारभन्दा माथि म्यादी प्रहरी खटिने जिल्लामा मोरङ (३७२७), धनुषा (३४८६), सप्तरी (३१३९) र सर्लाही (३०८८) छन् । त्यस्तै २ हजारदेखि ३ हजारसम्म म्यादी खटिने ९ जिल्लामा काठमाडौं (२७६७), झापा (२७६४), महोत्तरी (२७३६), रौतहट (२५८९), बारा (२५२८), कपिलवस्तु (२३८४), रूपन्देही (२३६०), सिरहा (२३३१) र सुनसरी (२१४३) छन् । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्लाको सुरक्षा चुनौती, निर्वाचन क्षेत्र, मतदान स्थल, मतदान केन्द्रलगायत स्थिति र अघिल्लो निर्वाचन सुरक्षा रणनीतिलाई आधार बनाएर म्यादी प्रहरीको संख्या निर्धारण गरिएको हो । प्रदेश १ का १४ जिल्लामा १७ हजार ८ सय ३१ म्यादीको कोटा निर्धारण गरिएकामा सबैभन्दा बढी मोरङमा ३ हजार ७ सय २७ र सबैभन्दा कम ओखलढुंगामा ५ सय ७९ जना म्यादी भर्ना गरिनेछ ।

मधेस प्रदेश सबैभन्दा बढी म्यादी खटिने जिल्लामा परको छ । मधेस प्रदेशका ८ जिल्लामा कुल संख्याको करिब २२ प्रतिशत म्यादी खटाइँदै छ । मधेसमा सबैभन्दा बढी धनुषामा ३ हजार ४ सय ८६ र सबैभन्दा कम पर्सामा १ हजार ८ सय १ जना भर्ना गरिनेछ । मधेस प्रदेशमा पर्साबाहेक बाँकी प्रत्येक जिल्लामा दुई हजारभन्दा माथि म्यादी खटिनेछन् । वाग्मती प्रदेशअन्तर्गत (उपत्यकाबाहेक) का १० जिल्लामा ११ हजार ३ सय ६३ म्यादी खटिनेछन् । यो प्रदेशअन्तर्गत सबैभन्दा बढी चितवनमा १ हजार ७ सय ९ र सबैभन्दा कम रसुवामा २ सय ६३ म्यादी भर्ना हुनेछन् । उपत्यकाका तीन जिल्लाका लागि ४ हजार ७ सय ३५ म्यादीको कोटा तय भएकामा काठमाडौंमा २ हजार ७ सय ६७, ललितपुरमा १ हजार २ सय ५ र भक्तपुरमा ७ सय ६३ जना म्यादी प्रहरी भर्ना हुनेछन् । गण्डकी प्रदेशका ११ जिल्लामा १० हजार ६ सय २५ म्यादी प्रहरी तैनाथ गरिनेछ । गण्डकी प्रदेशमा सबैभन्दा बढी गोरखामा १ हजार ८ सय ६८ र सबैभन्दा कम मुस्ताङमा २ सय ३२ म्यादीको भर्ना गरिनेछ । कास्की, पूर्वी नवलपरासी, स्याङ्जा र तनहुँमा पनि १ हजारभन्दा माथिको संख्यामा म्यादी प्रहरी खटाइँदै छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका लागि १६ हजार ९८ म्यादीको दरबन्दी कायम गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी कपिलवस्तुमा २ हजार ३ सय ८४ र सबैभन्दा कम पूर्वी रुकुमका लागि ३ सय २ जना भर्ना गरिनेछ । कर्णाली प्रदेशका १० जिल्लामा ७ हजार ७ सय १३ म्यादीको दरबन्दी स्वीकृत भएकामा सबैभन्दा बढी सुर्खेतमा १ हजार २ सय ६१ र सबैभन्दा कम हुम्लामा ४ सय १६ जना भर्ना गरिनेछ ।

सुदूरपश्चिमका ९ जिल्लामा ९ हजार ९ सय ३७ म्यादी भर्ना गर्न लागिएकामा सबैभन्दा बढी कैलालीमा २ हजार ४ सय ५७ र सबैभन्दा कम डडेलधुरामा ६ सय ५२ जना भर्ना गर्न लागिएको छ । मापदण्डअनुसार म्यादी भर्नाका लागि १८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आइतबारदेखि चैत ११ सम्म जिल्ला प्रहरी कार्यालयमा बिहान १० देखि अपराह्न ५ बजेसम्म आवेदन दिन पाउनेछन् ।

आवेदक कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आँखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको ५ फिट २ इन्च र ५० केजी तौल, महिलाको हकमा ५ फिट उचाइ र तौल कम्तीमा ४२ केजी हुनुपर्ने सर्त राखिएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ । म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति एक हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ ।

प्रकाशित : चैत्र ६, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?