३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सत्यमोहन : शताब्दी लामो समयको चित्र 

काठमाडौँ — एक सय दुई वर्षे संस्कृतिविद् सत्यमोहन जोशी शुक्रबार मध्यान्हमा पाटन दरबार स्क्वायरमा रहेको पाटन संग्राहलयको भित्री चोकमा भेटिए । हालैमात्र बिरामीबाट तंग्रिएका जोशीको जोस उनको अनुहारमा मुर्झाएजस्तो देखिए पनि एक सतक भन्दा बढीको समयमा उनले भोगेको समयको चित्र समेटिएको आत्मवृतान्त 'सत्यमोहन'को विमोचनमा उनी हर्षित देखिए । 

सत्यमोहन : शताब्दी लामो समयको चित्र 

पत्रकार एवं लेखक गिरिश गिरीले लेखेको यो आत्मबृतान्त बुकहिल पब्लिकेशनले बजारमा ल्याएको हो ।

खचाखच भरिएको विमोचन कार्यक्रममा सत्यमोहनले किताबका बारेमा धेरै लामो त बोलेनन तर उनले आफ्नो जीवनका विविध कालखण्ड पुस्तकाकार रुपमा सार्वजनिक हुनुको हर्ष साटे । उनले बुद्धले चार आर्य सत्यको कुरा गरेजस्तै आफूले पनि पुस्तकमा नयाँ दर्शनको कुरा गरेको बताए । लोकगीतको ईतिहास कहिलेबाट सुरु भयो र कसरी भयो भन्नेबारेको खोजलाई आफूले 'जुरेली दर्शन'को नाम दिएको बताए ।

दार्शनिक भावमा पोखिएका सत्यमोहनले पुस्तकमा आफूले सपनामा जुरेली चरालाई देखेको र त्यस्तै चरा आफूले विपनामा आफ्नै घरआँगनको हलुवावेदको बोटमा जुरेली चरा देखिएको संयोगलाई लेखेका छन् । हलुवावेदमा बसेको जुरेली चरोले पुर्ख्यौली लोकगीतलाई आफ्नै भाका र ताल सुरुमा गुञ्जयमान गरेर गाईरहेको, उफ्रि उफ्रि नाचिरहेको देखेको पुस्तकमा लेखेका छन् । उनले सपनामा देखेको चरा अलप भएजस्तै हलुवावेदमा देखिएको चरो पनि अलप भएको प्रसंग लेख्दै भनेका छन, 'विपनामा देखेको यो जुरेली चरो पनि आखिर शून्यताभित्रको शून्यताकै विकसित क्रममा देखापरेको उही जुरेली चरो हो कि त भन्ने मनमनै सोचे । शून्यता र रुपको दोसाँधमा उभिएको यही जुरेली चरोको बिम्बलाई उनले दर्शनको रुपमा बुझाउन खोज्दै नेपाली लोकगीतको ईतिहासले दीर्घजिवी अथवा चिरञ्जीवी जुरेली चरोझैं प्रतित हुनथाल्छ भनेर लेखेका छन् ।

बिमोचनमा बोल्दै सत्यमोहनले नेपाली लोकसंस्कृति नेपाली एकता जोड्ने कडी भएको बताए । उनले विविध समुदायको बसोबास भएको नेपालमा लोकसंस्कृतिको विविधता भएको भन्दै यो लोकसंस्कृतिको देश भएको बताए । उनले भने, 'सबै लोकसंस्कृतिको एकताले देशको एकता गर्छ । लोकसंस्कृतिलाई हेला गर्ने हो भने जस्तै उन्नती भएपनि समावेशीकरण हुन सक्दैन । आपसमा झगडा भईराख्छ ।'

संस्कृतिविद्को आम चिनारी बनाएका भएपनि सत्यमोहन जोशी जीवनका अनेकन कुईनेटाहरुमा कहिले औद्योगिक तथा व्यापारिक समाचार संग्रह अड्डाका तथ्यांक संकलक भए त कहिले पुरातत्व विभागका निर्देशक । कहिले नेपाल अमेरिका सांस्कृतिक केन्द्रको कल्चरल सेक्रेटरी भए त कहिले तत्कालिन राजकीय प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ भए । जहाँ जे भएपनि सत्यमोहनले ईतिहास र संस्कृतिको खोजीमेली, लोकभाका र लोकसंस्कृतिको खोज अनुसन्धानको काम भने जारी नै राखे । वि‍.सं. २०२६ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाईमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदनपुरस्कार पाए । यसअघि नै जोशीले हाम्रो लोकसंस्कृति पुस्तकका लागि वि.सं. २०१३ सालमा र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी दुईपटक मदनपुरस्कार पाईसकेका थिए ।

जीवीत अवस्थामै हुलाक टिकटमा प्रकाशित पहिलो नागरिक रहेको सत्यमोहन जोशीको आत्मकथामा राणाकालदेखि गणतन्त्रकालसम्मको समय चित्र जोशीको भोगाई र अनुभवका आधारमा खिचिएको छ ।

जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पंचायत देखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण ईतिहासका साक्षी जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि हुन् । एकै व्यक्तित्वको अनेकन भूमिका र त्यसमा निरन्तरको सर्मपणभाव देखेरै होला पुस्तक विमोचनका वक्ता रहेका गीतकार/संगीतकार एवं लोकगीत संकलक अमृत गुरुङले भने, ‘एक जुनीमा कति काम गर्न भ्याउनुभाको के तपाईंले ?’

===========

झण्डै सय बर्ष अघिको बाल्यकाल

(पुस्तकको म सत्यमोहन खण्डबाट लिईएको सम्पादित अंश)

श्रीपंचमीको दिन म पाँच बर्षको पुगेको थिएँ । बाले एउटा काठको फलेकमा अंगारले पोत्नुभयो । यसरी तयार भएको कालोपाटी र खरी मलाई समात्न लगाउनुभयो । त्यसदिन पितालीले मलाई घरमै कखरा सिकाउन सुरु गर्नुभयो । अलिअलि जानिसकेपछि त्यस समयको केटाकेटीलाई पढाउने पहिलो पुस्तक आठ आनामा पाईन्थ्यो । त्यो ल्याएर पढाउन थाल्नुभयो ।

मलाई पिताजीले पाटन स्कुल भनिने मंगलबजारको स्कुलमा भर्ना गरिदिनुभयो । ९० सालको भुकम्पपछि त्यो स्कुल लगनखेल सारियो । एकजना थिए, महन्थ मास्टर । ति मास्टरको चोट म अहिले पनि सम्झिन्छु । मेरो कन्सिरीमा समातेर जुरुक्क माथि उचाल्दै ड्याम्म हिर्काएका थिए ।

त्यसबेला विधार्थीलाई पिट्न भनेपछि मास्टरहरु असाध्यै क्रूरता प्रकट गर्थे । एकजना ठाकुर दास भन्ने मास्टरले त त्यसैगरी विद्यार्थीलाई कुट्दा टाउको फुटेर रगपच्छे पारिदिएका थिए ।एक त पढाएको कुरै बुझ्न सकिनँ । त्यसमाथि असाध्यै डरलाग्दा महन्थ मास्टरले त्यस्तरी कुटेपछि म स्कुल जानै छाडिदिएँ । पढाई छुट्यो । पढ्नै नसक्ने भए जस्तो लाग्न थाल्यो ।

पिताजीले मोहनशम्सेरको दरबारमा जागिर सुरु गरेपछि हामी महाराजगन्जमा बस्न थाल्यौं । त्यही बेला पिताजीले मेरो भर्ना दरबार हाईस्कुलमा गरिदिनुभएको थियो । त्यतिबेला म १२ बर्षको थिएँ होला । पढ्ने मामलामा म असाध्यै अल्छी थिएँ । त्यस बेला पढने लेख्नेभन्दा पनि पिताजीले दिएको एक पैसा वा दुई पैसाको लोभ मलाई बढी हुन्थ्यो । त्यो पैसाले हलुवा खान पाईन्थ्यो । मनभोग र चनाभुजा खान पनि पुग्थ्यो । त्यसको लोभैले म दरबार हाईस्कुल नियमित जान्थे ।

दरबार हाईस्कुल जानुभन्दा पहिले पाटनमै फाटफुट कक्षा लिएको, ट्युसन पढेको र बाले पढाएको हिसाबले गर्दा मैले एकैपटक तीन अर्थात् उतिबेलाको सात कक्षाबाट पढने अवसर पाएको थिए । यसरी कक्षा बढाएर भर्ना गरिदिदा सुरुमा मलाई केही मुश्किल परेको थियो ।

म प्राय: सबैभन्दा पछाडीको बेच्नमा बस्थे । संकोच लाग्थ्यो । तर विस्तारै विस्तारै सबैथोक सामान्य हुँदै गयो ।

प्रकाशित : चैत्र ४, २०७८ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?