दुल्लीकुना–लालीबगर ट्र्याक खोल्दै सेना

७ किलोमिटर चट्टाने भीरमा ट्र्याक छिचोलेपछि हुम्ला सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिने

सुर्खेत,हुम्ला — हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न दुल्लीकुना–लालीबगर खण्डको ट्र्याक खोल्ने काम सुरु भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलले बुधबारदेखि काम थालेको हो । सरकारले गत असोजमा सडकको ट्र्याक खोल्ने जिम्मा सेनालाई दिने निर्णय गरेको थियो ।

दुल्लीकुना–लालीबगर ट्र्याक खोल्दै सेना

सेनाले दुल्लीकुनादेखि लालीबगरसम्मको ७ किलोमिटर चट्टाने भीरमा ट्र्याक खोल्ने जिम्मा पाएको छ । भीर छिचोलिएसँगै सिमकोट सडक सञ्जालमा जोडिनेछ । करिडोरअन्तर्गतको सर्केगार्ड गाउँपालिकास्थित दुल्लीकुनादेखि खार्पुनाथको लालीबगरसम्म चट्टान फोड्न विस्फोट गराउन थालिएको सडक निर्माण कार्यदल प्रमुख अनुप पोखरेलले बताए । त्यसका लागि खार्पुनाथको सुनाखाडामा सेनाको क्याम्प स्थापना गरिएको छ । सिमकोट जोड्न झन्डै १ हजार मिटरको छारेभीर, ३ सय ५० मिटरको सुनाखाडा भीर, ५ सय मिटरको लालीबगडा भीर चुनौती रहेको कार्यदल प्रमुख पोखरेलले बताए । उनका अनुसार ट्र्याक खोल्न बाँकी रहेको ७ किमिमध्ये झन्डै २ हजार ३ सय मिटरमा कडा चट्टान छ । ती भीरमा विस्फोटक पदार्थ प्रयोग गरेरमात्रै ट्र्याक खोल्न सम्भव छ । छारे र लालीबगरको चट्टानी भागमा स्थानीय कामदारको समूहले प्वाल खोप्ने काम सुरु गरिसकेका छन् ।

ठेकेदारलाई विस्फोटक पदार्थ ल्याउन समस्या हुने भएपछि संघीय सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो । लालीबगरसम्म विस्फोटक पदार्थमार्फत चट्टान फोडिने र अन्य ठाउँमा एक्स्काभेटरबाट सडक खन्ने काम एकैसाथ गरिने आयोजना योजना प्रमुख वीरेन्द्रकुमार यादवले बताए । ७ किमिबाहेकको खण्डमा पनि स्थानीय कामदारले पर्खाल लगाउने, ग्याबिन भर्ने र अन्य संरचनाको काम गरिरहेका छन् । सरकारले यो वर्ष सेनालाई १५ करोड रुपैयाँ विनियोजन गरेको छ । थप बजेटको व्यवस्था भए यही वर्ष ३ किलोमिटरसम्म ट्र्याक खोल्न सकिने सेनानी पोखरेलले बताए । ‘बजेट भए अर्को वर्षसम्म हुम्लामा सडकको पुरै ट्र्याक खुल्छ,’ उनले भने, ‘तर यो वर्ष नै बजेट अपर्याप्त भयो ।’ अहिले सुनाखाडामा नेपाली सेनाको ३५ सदस्यीय टोली खटिएको छ । कार्यदलले हेलिकोप्टरबाट आवश्यक सामग्री र विस्फोटक पदार्थ ढुवानी गरेको थियो । ६ दिनको अवधिमा १ सय ६० राउन्ड विस्फोट गराएर ८० मिटर चट्टान फुटाइसकिएको उनको भनाइ छ ।

हुम्लामा भोकमरी भएपछि तत्कालीन जिल्ला विकास समितिले २०५७ सालदेखि सिमकोट–हिल्सा सडकको निर्माण थालेको थियो । जिविसले काम थालेको सडकमा १२ वर्षपछि सरकारले २०६९ चैतमा हिल्सा–सिमकोट सडक आयोजना कार्यालय स्थापना गरी यो सडकलाई कर्णाली करिडोरको एक हिस्सा बनायो । अहिले सो सडक खण्डको ९५ किलोमिटरमध्ये चीनको सीमा नाम्खा गाउँपालिकाको हिल्साबाट च्याछहरासम्म साढे ७५ किलोमिटर र सिमकोटदेखि च्याछहरासम्म १९ किलोमिटर गरी ९४ किलोमिटर सडकमा पुरै ट्र्याक खोलिएको छ । च्याछहरा भीरको ३ सय मिटर सडकमा ग्रेडिङ मिलाउनेबित्तिकै गाडी सिमकोटदेखि हिल्सासम्म गुड्ने आयोजना प्रमुख यादवले बताए ।

कर्णाली करिडोरअन्तर्गत खुलालु–लैफु– सल्लीसल्लासम्मको १ सय २३ किलोमिटर सडकको ट्र्याक खुलेपछि गत असार ३१ मा सेनाले सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । दुलीकुनाबाट रिपखोलासम्मको ५ किलोमिटर सडकमा भने सडक विभागले ठेकेदारमार्फत काम गरिरहेको छ ।

अहिले खुलालुभन्दा तलको सडक कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकसँग जोडिएको छ । सल्लीसल्लाभन्दा माथि १३ किमि दुलीकुनासम्म सडक विभागले निर्माण सकेर यातायात सञ्चालनमा ल्याएको थियो । खुलालु–हिल्सा कुल २ सय ५८ किमि लम्बाइ छ । त्यसमध्ये खुलालु–सिमकोट खण्डको कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको कुवाडी खोलाखेखि सल्लीसल्लासम्म ३९ किलोमिटर सडक निर्माण भएको छ । अहिले हुम्लाका ताजाकोट, अदानचुली, चंखेली र सर्केगाड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ।

कर्णाली करिडोर जोड्ने खुलालु पुल १२ वर्षपछि सञ्चालनमा आएको छ । तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले २०६६ मा र भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले ०६९ मा पुलको शिलान्यास गरेका थिए । अलपत्र पर्दै आएको पुल कात्तिक अन्तिम सातादेखि सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि सुर्खेतबाट कालीकोटको पश्चिम उत्तरी भेगसहित बाजुरा, मुगु र हुम्लाको सिमानासम्म एउटै गाडीबाट आउन सकिने सेनानी पोखरेलले बताए । उनका अनुसार खुलालुबाट सल्लीसल्लासम्म नेपाली सेनाले ६ वटा बेलिब्रिज निर्माण गरेको छ । खुलालु, शान्तिघाट, फुगाड, जुर्तिगाड, कुवाडी र गल्फागाडमा बेलिब्रिज निर्माण गरी सडक आयोजनालाई जिम्मा दिइएको उनले जानकारी दिए । यो खण्डमा भुक्काखोला, कुण्डाखोला र पैमाखोलामा पुल बनाउन आवश्यक छ । ‘अहिले सल्लीसल्लासम्म सजिलै ठूला गाडी पनि गइरहेका छन्,’ उनले भने, ‘वर्षामा भने ३ वटा खोलामा यातायातका साधन सञ्चालन हुन समस्या पर्ने देखियो ।’

सिमकोट–हिल्सा खण्डमा पनि खुलालु, कवाडी र गल्फागाड खण्डमा पनि पुल बनिसकेका छन् । सल्लीखोला, याङ्गारखोला, ताग्रुखोलाका पुलहरू निर्माणाधीन छन् भने खार्पुस्थित कर्णाली नदीमा भर्खरै टेन्डर भएको छ ।

प्रकाशित : चैत्र ३, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?