२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रमुख दलका नेता-कार्यकर्ता गाउँ पसे

विपक्षी कार्यकर्ता र जनप्रतिनिधिलाई पार्टीमा भित्र्याउन होडबाजी
भेला, प्रशिक्षण र संगठन विस्तारमा तीव्रता
कान्तिपुर टिम

काठमाडौँ — स्थानीय तहको निर्वाचन नजिकिएसँगै मुख्य राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिएका छन् । एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीका शीर्ष नेता विभिन्न जिल्ला पुगेर चुनावी कार्यक्रम थालेका छन् । गाउँमा नेता तथा कार्यकर्ताको चहलपहल ह्वात्तै बढेको छ । पार्टीका झन्डाले गाउँ रंगिन थालेका छन् । निर्वाचन नजिकिएसँगै विपक्षी दलका कार्यकर्ता र जनप्रतिनिधिलाई पार्टीमा भित्र्याउन होडबाजी नै चलेको छ । कतिपय ठाउँमा उम्मेदवारको दाबी गर्दै पार्टी फेर्ने क्रम पनि बढेको छ । 

प्रमुख दलका नेता-कार्यकर्ता गाउँ पसे

वैशाख ३० को स्थानीय तह निर्वाचन लक्षित गरी प्रदेश १ मा एमाले, कांग्रेस र माओवादी केन्द्रले मोरङबाट प्रदेशस्तरीय कार्यक्रम सुरु गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि मोरङको पुरानो सदरमुकाम रंगेलीबाट निर्वाचन लक्षित तराई मधेस जनसभाबाट प्रदेशस्तरीय कार्यक्रमको सुरुवात गरे । त्यहाँ ओलीले माओवादी केन्द्रबाट निर्वाचित रंगेली नगर प्रमुख दिलीपकुमार अग्रवाल र उपप्रमुख केशवकुमारी खराललाई एमालेमा भित्र्याए । एमाले मोरङले उम्मेदवार छनोटका लागि वडामा जिल्ला सदस्य, पालिकामा प्रदेश सदस्य र संघीय निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यलाई परिचालन गरेको जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

कांग्रेस नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासहितका नेताले पनि विराटनगरबाट निर्वाचनलक्षित प्रदेशस्तरीय कार्यक्रमको सुरुवात गरे । प्रदेशका सबै जिल्लाका सभापतिको सहभागिता रहेको कार्यक्रममा नेताहरूले एक्लै चुनाव लड्ने मनस्थिति लिएर चुनावी अभियानमा लाग्न निर्देशन दिए । कांग्रेसले प्रदेश १ का १४ वटै जिल्लामा उम्मेदवार छनोटका लागि केन्द्रीय सदस्य खटाएको छ । मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बूले भने केन्द्रीय सदस्यले खटाएको अनुगमन समितिले गाउँ, वडा र नगरबाट सिफारिस गरेका व्यक्तिलाई सबै जिल्लामा एकै दिन उम्मेदवार तोक्ने तयारी छ ।

माओवादी केन्द्रले पनि आइतबार विराटनगरबाट चुनाव लक्षित कार्यक्रम थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा, केन्द्रीय सदस्य राम कार्की प्रदेशभरिका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा सहभागी भए । दाहालले एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउँदै स्थानीय निर्वाचनमा होमिन निर्देशन दिए । प्रदेशका अन्य जिल्लामा पनि नेताहरूलाई बोलाएर चुनावी सरगर्मी बढाउने पार्टीको तयारी रहेको माओवादी केन्द्रको प्रदेश कमिटी सचिव गणेश उप्रेतीले बताए । एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि शीर्ष नेतालाई नै सहभागी गराएर निर्वाचन केन्द्रित कार्यक्रमको तयारी भइरहेको जनाएका छन् ।

गत बिहीबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा वीरगन्जका दुई कार्यक्रममा सहभागी भए । पर्सा कांग्रेसमा आफ्ना पक्षीय पदाधिकारी निर्वाचित भएपछि बधाई दिने कार्यक्रममा सहभागी उनले पार्टीको आन्तरिक चुनाव सकिएकाले अब आउने चुनावमा केन्द्रित हुन निर्देशन दिए । गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली पनि वीरगन्ज पुगे । उनले महानगर प्रमुख विजय सरावगीलाई पार्टी प्रवेश गराउँदै स्थानीय तह निर्वाचनलाई तरंगित बनाइदिए ।

कांग्रेस नेता विमलेन्द्र निधि साता लामो जनकपुर बसाइँमा स्थानीय निर्वाचन लक्षित गतिविधिमा सक्रिय रहे । धनुषा कांग्रेसमा आफूपक्षीय पदाधिकारी निर्वाचित भएपछि हौसिएका उनले स्थानीय चुनावमा पनि कांग्रेसको पकड बलियो बनाउन उम्मेदवारको चाहना बुझ्ने प्रयास गरे । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार जनकपुरमा पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्दै स्थानीय निर्वाचन एमालेमय बनाउन आग्रह गरे । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि केही दिनयता मधेसमै छन् । उनले जिल्ला भ्रमण गर्दै स्थानीय निर्वाचनमा पार्टीको प्रभाव बढाउन नेता–कार्यकर्तालाई उत्साह दिइरहेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार गृहजिल्ला रौतहट पुगे । स्थानीय तहको निर्वाचनमा माओवादी, कांग्रेस र जनता समाजवादी पार्टीसित गठबन्धनका लागि गृहकार्य भइरहेको उनले बताए ।

आइतबारदेखि कांग्रेसले सबै जिल्लामा एकसाथ ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरेको छ । एमालेले टोलसम्म संगठन विस्तारसँगै चुनावी अभियान थालेको छ । माओवादी केन्द्रले पालिका र वडा तहसम्मै इन्चार्ज खटाएर संगठन विस्तार गरिरहेको छ । चितवनमा मुख्य दलहरूले चैतसँगै औपचारिक रूपमा नै चुनावी अभियान थाल्ने भएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले चैत पहिलो साताबाटै कार्यक्रम गर्ने तयारी गरेका छन् ।

२०७४ को स्थानीय निर्वाचनको साख जोगाउने गरी सिन्धुलीमा पनि दलहरूले निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गरिरहेका छन् । २०७४ मा यहाँ एमाले, कांग्रेस र माओवादी केन्द्रले तीन/तीन पालिकामा जितेका थिए । एमालेले वडा तथा पालिकास्तरीय संगठन विस्तारलाई तीव्रता दिएको अध्यक्ष कुमारबहादुर कार्कीले बताए । माओवादी केन्द्रले निर्वाचन लक्षित गरी पालिका भेला, प्रशिक्षण, पार्टी प्रवेश कार्यक्रम भइरहेको जिल्ला इन्चार्ज लेखनाथ दाहालले बताए ।

रसुवामा एमालेले स्थानीय तहदेखि जिल्लासम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला सचिव जनार्दन ढकालले बताए । माओवादी केन्द्रले पनि पालिका र वडामा अभियान सञ्चालन गर्न पार्टी हरेक सदस्यसम्म पुग्ने गरी प्रशिक्षण कार्यक्रम राख्न लागेको जनाएको छ । दोलखामा पनि मुख्य दलहरूले गाउँसम्मै दैनिक भेला तथा बैठक गरिरहेका छन् । एमालेले निर्वाचनलाई लक्षित गरेर पहिलो चरणमा भेला तथा बैठकलगायतका कार्यक्रम गरिसकेको जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए । कांग्रेसले आइतबारबाट चुनाव केन्द्रित गरेर ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान मेलुङबाट सुरु गरेको सभापति बर्मा लामाले बताए । माओवादी केन्द्रले पनि स्थानीय चुनावलाई लक्षित गरेर वडा कमिटी निर्माणदेखि भेला बैठक सकिसकेको छ ।

यस्तै, गण्डकी प्रदेशमा पनि दलहरूले भेला, प्रशिक्षणलगायतका गतिविधि बढाएका छन् । पार्टीको नीति, सिद्धान्त, कार्यक्रम र घोषणापत्रभन्दा पनि कसलाई उम्मेदवार बनाउँदा जित्न सकिन्छ भन्नेतर्फ पनि दलहरू केन्द्रित छन् । एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत मुख्य दलहरू टोलमै पुगेर कार्यकर्ता प्रशिक्षणमा खटिएका छन् । एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले निर्वाचन लक्षित गर्दै पार्टीको आन्तरिक प्रशिक्षण सञ्चालन भइरहेको बताइन् ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीलाई चुनाव लागिसकेको बताए । ‘हामीलाई चुनाव लागिसकेको छ,’ उनी भन्छन्, ‘प्रदेशका सबै स्थानीय तह, वडा–वडामा चुनावी अभियान लिएर गइसकेका छौं ।’ माओवादी केन्द्रकी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले चैत ६ मा बृहत् कार्यकर्ता भेला राखेर चुनावी अभियान घोषणा गर्ने तयारीमा रहेको बताइन् ।

लुम्बिनीमा ठूला दलले स्थानीय तहबाटै चुनावी रणनीतिका लागि अवस्था विश्लेषण, तथ्यांक संकलनदेखि उम्मेदवार छनोटको मापदण्ड बनाउन थालेका छन् । त्यसका लागि वडादेखि टोलसम्म नेता–कार्यकर्ता परिचालित छन् । प्रदेश कमिटी बनाएको माओवादीले पदाधिकारी छनोट, कार्यविभाजन, विभाग र मोर्चा गठनमा जुटेको छ । अर्घाखाँचीमा भने कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाले गठबन्धन गराउने निर्णय गर्दै सोमबार नै पत्रकार सम्मेलन गरेका छन् ।

प्रदेशको ठूलो दल एमालेले प्रदेशस्तरको भेला सकेर कार्यकर्तालाई निर्वाचन केन्द्रित गतिविधिमा लाग्न निर्देशन दिएको छ । सोमबार रूपन्देहीको सैनामैनामा भएको जिल्लास्तरीय प्रशिक्षणमा एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव प्रदीप ज्ञवालीले एमाले एक्लै चुनावी मैदानमा उत्रिने भएकाले त्यहीअनुसार तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । एमालेले ‘हरेक वडा र स्थानीय तहमा सर्वसम्मत र जित्ने उम्मेदवार’ बनाउने गरी तयारी गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

प्रदेशमा दोस्रो ठूलो दल कांग्रेस पनि एक साताअघि प्रदेशस्तरीय बैठक सकेर केन्द्रीय नेताको उपस्थितिमा प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र गाउँ पसेको छ । प्रदेशका सबै निर्वाचन क्षेत्र र १ सय ९ स्थानीय तहसम्मै चुनावी अभियान पुर्‍याइएको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले बताए । केन्द्रमा गठबन्धन भए पनि प्रदेश र जिल्ला तहमा स्थानीय आवश्यकताका आधारमा मात्र गठबन्धन बनाउन सक्ने गरी प्रदेश समितिको बैठकमा छलफल भएको र गठबन्धन भए पनि रूख चुनाव चिह्नलाई प्राथमिकतामा राखेर मात्र गठबन्धन गर्न सकिने निर्णय कांग्रेसले गरेको छ । प्रदेशमा तेस्रो शक्तिका रूपमा रहेको माओवादी केन्द्र कमजोर बन्दै गएकाले गठबन्धन गरेरै निर्वाचनमा जाने तयारीमा छ । वडा र टोल तहसम्म नै नयाँ संगठन विस्तारमा जुटेको माओवादीले प्रदेश कमिटीलाई पनि पूर्णता दिन सकेको छैन ।

लुम्बिनी प्रदेशका माओवादी नेता सुदर्शन बरालले बुधबार प्रदेश कमिटीको बैठक आह्वान गरिएको बताए । छिट्टै हुने कार्यकर्ता प्रशिक्षणलाई अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नेछन् । माओवादीले स्थानीय तह निर्वाचनका लागि गठबन्धन गर्ने विषयमा कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चासँग छलफल चलिरहेको जनाएको छ । ‘अहिले नै कसरी गठबन्धन गर्ने भन्ने टुंगो लागेको छैन,’ उनले भने ।

तनहुँमा कांग्रेस र एमालेले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । मंगलबार मात्र ५० ठाउँमा कांग्रेसको भेला भएको जिल्ला सचिव सहदेव अधिकारीले बताए । एमालेले टोल कमिटी गठन, बैठकसहित पार्टी प्रवेशलाई पनि प्राथमिकतासाथ अगाडि बढाएको जिल्ला सचिव राजेश्वर ढकालले बताए । माओवादी केन्द्रले केन्द्रीय कमिटीको निर्णयबमोजिम चुनावमा होमिने तयारी भइरहेको जनाएको छ । ‘सम्भावित उम्मेदवारको नामावली तयार गरी मत सर्वेक्षण पनि गरिरहेका छौं,’ जिल्ला अध्यक्ष अतिन्द्रकेशरी न्यौपानेले भने, ‘कमिटीका सदस्यलाई हरेक क्षेत्रको राजनीतिक, आर्थिक, सामाजिक अवस्था बुझ्ने र विश्लेषण गर्ने गृहकार्य पनि दिएका छौं ।’ नेकपा एकीकृत समाजवादी पार्टी प्रवेशलाई प्राथमिकता दिँदै आफ्ना उम्मेदवार र पार्टीको अवस्थाबारे बुझ्नेलगायतका काम गरिरहेको जिल्ला सचिव श्रीराम कार्कीले बताए ।

एकीकृत समाजवादी भने संगठन विस्तारमा लागेको छ । संगठन भएका जिल्लामा क्षेत्र र पालिकास्तरमा कमिटी गठन भइरहेको र त्यो अभियान वडासम्म पुर्‍याउने तयारीमा जुटेको प्रदेश सचिव राजु गुरुङले बताए । प्रदेशका केही जिल्लामा जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पनि बलियो प्रभाव छ । बलियो संगठन नभएका साना दलले पनि संगठन विस्तार तीव्र पारेका छन् ।

कर्णालीमा माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार वीरेन्द्रनगरमा कार्यकर्ताहरूलाई चुनावमा केन्द्रित हुन निर्देशन दिँदै पार्टीका एजेन्डाहरूबारे प्रशिक्षणसमेत दिए । आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वीरेन्द्रनगरमै आयोजना गरिएको आमसभालाई सम्बोधन गरे भने सोमबार कांग्रेस महामन्त्री गगन थापाले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानको सुरु गरे ।

नेताहरूको दौडधुपले चुनाव नजिकिएको जस्तो लागेको बराहताल–४ की डिलकुमारी खत्रीले बताइन् । ‘सामुदायिक भवनमा दैनिकजसो फेरिने झन्डा, ब्यानर, नाराबाजी र भाषणले चुनावकै झल्को दिएको छ,’ उनले भनिन् । एकीकृत समाजवादीका प्रदेश इन्चार्ज प्रकाश ज्वालाले पार्टीका नियमित कामहरू जारी रहेको बताए । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले प्रदेश समिति बैठकको निर्णय सुनाउन सबै नेताहरूलाई गाउँगाउँमा खटाइएको बताइन् । कांग्रेस प्रदेश महामन्त्री कृष्णबहादुर रोकायाले सबै जिल्लामा अभियान सुरु गरी चुनावी कार्यक्रमलाई तीव्रता दिएको जनाए ।

सुदूरपश्चिममा दलहरूले चुनावी कार्यक्रम थालेका छन् । सोमबार माओवादी केन्द्रका अध्यक्ष दाहालले धनगढीमा आयोजित नौवटै जिल्लाका अगुवा कार्यकर्ता भेलामा दुई महिनासम्म मतदाताको घरघरमा पुग्न निर्देशन दिए । कांग्रेसले पनि केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका प्रतिनिधिहरू बेग्लाबेग्लै रूपमा परिचालन गरिएको पार्टीका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले बताए । ‘केन्द्रले खटाएका प्रतिनिधिको अगुवाइमा आइतबारदेखि जिल्लामा कार्यक्रम सुरु भएका छन्,’ सभापति बलायरले भने, ‘प्रदेश समितिबाट खटाइएका प्रतिनिधि १५ दिनसम्म हरेक स्थानीय तहमा परिचालित हुँदै छन् ।’

प्रदेश सचिव धर्मराज पाठकका अनुसार पार्टीले दुई साताअघि नै प्रदेशस्तरीय प्रशिक्षण सकेको छ । ८८ वटै पालिकामा सर्भेक्षण गर्ने, स्थानीय मुद्दाको पहिचान गर्ने, राम्रा कामहरूको प्रचारप्रसार गर्नेलगायत सुरु भएको उनले बताए । एकीकृत समाजवादीले पनि निर्वाचन लक्षित अभियान भइरहेको जनाएको छ । संगठन निर्माणमा जुटेका नेताकार्यकर्ता निर्वाचन केन्द्रित कार्यक्रममा परिचालित भएको प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले बताए । एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपालगायतका दलहरूले धुमधामका साथ पार्टी प्रवेशलगायत विभिन्न गतिविधिहरू गरिरहेका छन् । हरेक कार्यक्रममा सय/डेढ सयको संख्यामा पार्टी प्रवेश पनि हुने गरेका छन् । ‘टोल–टोलमा भेलादेखि पार्टी प्रवेश कार्यक्रम चलिरहेको छ,’ एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले भने, ‘समाजवादीमा गएकालाई फर्काउने काम पनि भइरहेको छ ।’ प्रवेश गरेकामध्ये कतिपयले त सामाजिक सञ्जालमार्फत आफूलाई झुक्याइएको प्रतिक्रिया दिने गरेका छन् ।

प्रकाशित : चैत्र २, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?