२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जसपा पनि तालमेलकै पक्षमा

केन्द्रबाट तालमेल भएको अवस्थामा बाहेक स्थानीय कमिटीले निर्णय लिने
मधु शाही

काठमाडौँ — जनता समाजवादी पार्टी स्थानीय निर्वाचनमा तालमेलको पक्षमा देखिएको छ । जारी केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचन केन्द्रित निर्देशिका तय गर्दै यस्तो आधार बनाएको हो । निर्देशिकामा आवश्यकताअनुसार केन्द्रको निर्णय र स्थानीयस्तरमा तालमेल गर्न सकिने उल्लेख छ । जसपाले उम्मेदवार चयनका लागि सक्रियता, लोकप्रियता, दक्षता र निरन्तरतालाई प्राथमिकता दिने जनाएको छ । 

जसपा पनि तालमेलकै पक्षमा

केन्द्रबाट तालमेलको निर्णय भएको अवस्थामा बाहेक स्थानीय कमिटीले अर्को पार्टीको सोही स्तरको कमिटीसँग छलफल गर्ने निर्देशिकामा उल्लेख छ । उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरी माथिल्लो समितिमा पठाउनुपर्ने उल्लेख छ । कार्यकारिणी सदस्य प्रशान्त सिंहले गठबन्धन सरकारमा भएका दलसँग तालमेलको सम्भावना रहेको बताए । ‘हामी छुट्टाछुट्टै चुनाव लड्दा पनि जितिएला,’ उनी भन्छन्, ‘तर स्थानीय तहमा गठबन्धन अवस्था हेरेर तालमेल गर्नु जरुरी छ ।’

स्थानीय चुनावमा जसपाको मुद्दा पहिचान र अधिकारसँगै बढी जोड विकासप्रधान मुद्दामा हुने नेताहरूले बताएका छन् । कार्यकारिणी सदस्य प्रकाश अधिकारीले स्थानीय तहको विकासमा केन्द्रित चुनावी एजेन्डा तय हुने बताए ।

बैठकले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले शनिबार पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । ‘प्रतिवेदनमा केही असन्तुष्टि देखिए पनि छलफलपछि बैठकले पारित गरेको छ,’ भट्टराईनिकट एक कार्यकारिणी सदस्यले भने, ‘सुरुमा प्रतिवेदन धेरै लामो भयो भन्दै खासगरी मधेस केन्द्रित नेताले सुन्न चाहेका थिएनन् ।’ ती नेताका अनुसार जसपामा ३३ पेज लामो राजनीतिक प्रतिवेदन वा दस्ताबेज बनाएर छलफल गर्ने अभ्यास थिएन । पार्टीका केन्द्रीय कार्यकारणी सदस्य रामसहाय यादवले प्रतिवेदन पारित भएपछि जसपा फुट र गुटको भ्रमबाट मुक्त रहेको बताए । ‘पार्टी अब स्थानीय चुनावमा कसरी अगाडि बढ्नेमै केन्द्रित हुनेछ,’ उनले भने ।

कांग्रेसप्रति नरम रहेको भट्टराईको प्रतिवेदन नेपालका कम्युनिस्ट पार्टीप्रति भने कठोर छ । ‘कम्युनिस्ट पार्टी सबै एउटै पेन्सिलका फरक–फरक टुक्रामात्रै हुन्,’ उनले उल्लेख गरेका छन् । प्रतिवेदनमा एमाले र कांग्रेसलाई एउटै सिक्काको दुई पाटा भनिएको छ । ‘कांग्रेस र कम्युनिस्टको ब्रान्ड नामबाहेक कांग्रेस र एमालेको नीतिमा भिन्नता पाउन गाह्रो छ,’ उनले उल्लेख गरेका छन् । उनले माओवादीलाई अवसरवादी र एकीकृत समाजवादीलाई विचारमा अस्पष्ट भनेका छन् । उनले एमसीसीका विषयमा पनि एमाले, माओवादी र समाजवादीले अस्थिरता, अवसरवादी र द्वैध चरित्र प्रदर्शन गरेको टिप्पणी गरेका छन् । उनले राप्रपालाई नेपालको रुढिवादी धारको प्रतिनिधि गर्ने दल भनेका छन् भने आफ्नै पार्टीबाट फुटेको लोकतान्त्रिक समाजवादीलाई विचार, सिद्धान्त र एजेन्डाविहीन भनेर आलोचना गरेका छन् । त्यस्तै, विवेकशील साझा, जनमतलगात पार्टीको भविष्य अन्योलपूर्ण रहेको बताएका छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७८ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?