टिप्पणी

प्रकाश सपुतको 'पिर'ले निम्त्याएको चिन्ता

कलाकारका कुनै पनि गीत वा सिर्जनामाथि धम्की दिँदै जाने हो भने के कलाकारहरूले गीत गाउनुअघि, फिल्म बनाउनुअघि दल र नेताको अनुमति लिनुपर्ने हो ?
रमन पौडेल

काठमाडौँ — समकालीन नेपाली राजनीतिको प्रतिबिम्ब झल्केको रुपमा गायक प्रकाश सपुतको 'पिर' गीतको चर्चा भइरहेको छ । तर केही सीमित मानिसहरूलाई चाहिँ त्यसले ठूलै पिर पारेको छ । विशेषगरी माओवादीका नेता र कार्यकर्तालाई यो गीतको भिडियोले धेरै नै चिढ्याएको छ । माओवादीका केही युवा नेता, कार्यकर्ताले त विज्ञप्ति निकालेर गायकलाई भिडियो हटाउन चेतावनी नै दिएका छन् । यद्यपि गायकको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

प्रकाश सपुतको 'पिर'ले निम्त्याएको चिन्ता

माओवादी सशस्त्र युद्ध सकिएको १५ वर्ष पुग्नैलाग्दा त्यही युद्धलाई जोडेर यतिबेला चर्चा र चियागफ भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना र प्रकाश सपुतको भिडियोको प्रशंसा सँगै भइरहेको छ यतिबेला ।

गायकले गीतिकथामार्फत पूर्व लडाकूको वर्तमान विद्रुप दृश्य देखाएका छन् । जहाँ मुख्य पात्रको रुपमा गायक आफैं देखिएका छन् । अर्थात् युद्धमा लागेर पनि उपलब्धि अनुभूति गर्न नपाएका पूर्वलडाकू । उनले आफ्नो 'पराजित कथा' गीत र दृश्यबाट सुनाइरहेका छन् । यो सामग्री तयार पारुन्जेलसम्म एकदिनमै साढे १८ लाखभन्दा बढी युट्युब भ्यूज पाइसकेको छ । ट्रेन्डिङमा एक नम्बरमा परेको छ । उक्त भिडियोमाथि यति छोटो अवधिमै अनपेक्षितरुपमा यति धेरै प्रतिक्रिया आए कि त्यसले गीत नहेर्नेलाई पनि हेर्न बाध्य बनाएको छ ।

यसको पछाडि दुइटा प्रमुख कारण छन् । गायकले त्यस कथामा राजनीति र प्रेम देखाएका छन् । राजनीतिभित्र युद्ध र वैदेशिक रोजगार जोडिएको छ । र, प्रेमभित्र सम्झौता र बाध्यता । कथाका केन्द्रीय पात्र हुन् गायक आफैं । अर्थात् पूर्वलडाकु । सरसर्ती हेर्दा उनी युद्धपछिको राजनीतिबाट किनारा लागेका व्यक्तिजस्ता देखिन्छन् ।

तर प्रकाशले गीतबाट जे दृश्य देखाए पनि, जे सन्देश भने पनि वर्तमान राजनीतिक नेतृत्वको व्यवहारप्रति उदासिन र निराश पुस्ताको भावनामा छोएको चाहिँ छ । आम युवाहरूले प्रकाशको प्रशंसा गर्नुको पछाडि पनि त्यही आक्रोश, अपेक्षा वा कुण्ठाले काम गरेको हुनुपर्छ । भिडियोमा देखाइएका केन्द्रीय पात्र अर्थात् पूर्व लडाकुको अनुहारमा अधिकांश वयष्क युवाहरूले आफ्नो नियति देखेर नै प्रकाशको प्रशंसा गरेको हुनुपर्छ ।

जुन कुरा खास वैचारिक आधारबाट नभएर सपाट भावना वा करुणाको रुपमा आएको हुनसक्छ । भिडियोमा कथाको सिर्जनशील पक्षबारे प्रश्न गर्ने ठाउँ पनि छन् । भिडियोमा युद्धकालीन हुलिया देखाउँदैमा माओवादीकै कथा हो कि होइन ? मुठ्ठी उठाएर लालसलाम गरेको देखाउँदैमा त्यो असली माओवादी हुन्छ कि हुँदैन ? यस्ता प्रश्न गर्न सकिएला । माओवादीको समग्र चित्र नै यस्तै मात्र हो त? यो प्रश्न पनि उठाउन सकिएला । अहिले माओवादी धारबाट गीतमा प्रश्न उठाउनेहरुले यस्तै जिज्ञसा पनि राखेका छन् ।

कथाको एकसरो सन्देश भनेको माओवादीका पूर्वलडाकुहरू श्रीमतीलाई विदेश पठाएर परस्त्रीगमनमा जान्छन् भन्ने जस्तो अर्थ लगाउने सक्ने दृश्य पनि भिडियोमा छन् । तर प्रकाशको गीत र भिडियोको सन्देश एउटा अ‌ंश-अंशमा होइन समग्रमा खोज्नुपर्छ । उनले पूरा भिडियोभरि चरित्रलाई माओवादी पात्र हो भनेर चिनाउने भन्नेमै मेहनत गरेका छन् । माओवादी लडाकूबारे आम मानिसको बुझाइअनुसार प्रकाशले त्यो चरित्रको हुलिया र आवरण उतारेका छन् ।

यो एउटा गीत हो । एउटा गीतभित्र कथानक चलचित्र जस्तो समग्र पक्ष खोज्ने हो भने त यसमा खोट लगाउन सकिएला । जस्तो कसैले भन्न सक्छ- कथामा मुख्य पात्रको उद्देश्य नै केही देखिँदैन । यस्तो निरुद्देश्य केन्द्रीय पात्र त संसारका कुनै फिल्म वा कथामा हुँदैन । दृश्यमा यसरी दुखी र निराश पात्र देखाउने भनेको चरित्रमा मात्रै हो । पुरा कथाभर दुखी र निराश सोचमात्रै देखाइएको छ । सिंगो राज्य व्यवस्था नै कथामा एन्टागोनिस्ट भूमिकामा देखाइएको छ । तर त्यसप्रति प्रोटागोनिस्टको संघर्ष भने कहींकतै छैन । यस्तो हुनु भनेको कथा बरालिनु हो । तर यो सबै एउटा गीत भित्र खोजेर पाइँदैन । किनकि माओवादी युद्ध र त्यसले सिर्जना गरेका समस्याका बग्रेल्ती आयामहरु छन् । सँगसँगै माओवादी आन्दोलनले ल्याएका सकारात्मक आयाम र सामाजिक चेतना बढाउनमा पुगेको योगदान पनि उत्तिकै छन् । तर ती सबै कुरा एउटा ठाउँमा जोडेर राखिएको भए सपुतको यो सिर्जना 'पिर' हुने थिएन ।

उनले भिडियोको सुरुमै भनेका छन्, यत्तिका राजनीतिक उपलब्धि ल्याएर पनि जनताले केही पाएनन् । नेताहरू नै सुविधाभोगी भएर व्यवस्था नै बिग्रियो भन्ने उनको आशय छ । यो आफैंमा गम्भीर र जटिल मुद्दा हो ।

माओवादीको प्रतिक्रिया

भिडियो सिर्जना जे-जस्तो भए पनि बहुसंख्यक दर्शकबाट चाहिँ प्रकाशले प्रशंसा नै पाएको सोझो अनुमान गर्न सकिन्छ । तर चुनावको मुखमै माओवादीको कथा मिश्रित गीत आउँदा माओवादीका नेता र कार्यकर्ताहरू उत्तेजित बनेका हुन् । माओवादीका युवा पुस्ताका केही नेताले त धम्की नै दिएका छन् । उनीहरूले जे-जस्तो तर्क गरे पनि कसैको सिर्जनालाई थुन्ने र हटाउने भन्नेचाहिँ निरंकुश शासनमा मात्रै हुन्छ ।

माओवादीका नेता र कार्यकर्ताले प्रकाशको सिर्जना पक्षमाथि समीक्षा गरेर आलोचना गर्न सक्छन् । तर धम्की र चेतावनी दिने अधिकार लोकतन्त्रमा पाइँदैन । बरु माओवादीका नेता रामप्रसाद सापकोटा, विद्यार्थी नेता पञ्चा सिंहको प्रतिक्रियाले उनीहरूलाई नै थप कमजोर र गलत सावित गरिदिएको छ । र प्रकाशलाई नै धेरैको सहानुभूति मिलेको छ । यसअघि केपी ओली प्रधानमन्त्री छँदा पशुपति शर्माको गीत 'लुट्न सके लुट...'लाई लिएर पनि एमालेका युवा नेताहरूले धम्की दिएका थिए ।

केपी ओलीको सरकार छँदा माओवादीका धेरै नेताहरूले सायद पशुपति शर्माको प्रशंसा नै गरेका थिए । अहिले चुनावको मुखमा आफैँमाथि यस्तो गीतको बज्रपात पर्दा माओवादीहरू अत्तालिएका हुन सक्छन् । जुन उनीहरूको मुर्ख्याइँ र बचकना हो । कलाकारका कुनै पनि गीत वा सिर्जनामाथि धम्की दिँदै जाने हो भने के कलाकारहरूले गीत गाउनुअघि, फिल्म बनाउनुअघि दल र नेताको अनुमति लिनुपर्ने हो ?

फेरि पनि प्रकाश सपुतको सिर्जनामाथि धेरै कोणबाट बहस र चर्चा हुन सक्छन् । तर त्यसलाई बन्द गर्ने वा हटाउने कल्पना नै हुँदैन । बाहिरी देशमा भएका यस्ता अभ्यास हेर्ने हो भने चिन, इराक, इरान, अफगानिस्तानलगायत देशमा त्यस्ता धेरै स्वतन्त्र फिल्मकर्मी तथा सर्जकहरू छन् । जो आज पनि आफ्नो सिर्जनाका लागि युरोप वा अमेरिकामा विस्थापित बन्नु परेको छ । संसारका बुद्धिजीवी र सर्जकहरूमाझ ती देशलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न सकेको छैन । यही कारणले पनि सर्जकहरू आफ्नो विचार व्यक्त गर्न (कलाको माध्यमबाट वा नाराको माध्यमबाटै किन नहोस्) स्वतन्त्र छन् । र, सधैँ हुनुपर्छ ।

माओवादीका नेताहरूलाई यो सिर्जनाबाट आगामी चुनावको चिन्ता लागेको हुनसक्छ । तर यति छोटो अवधिको क्षणिक महत्वकांक्षाले समग्र सिर्जनामाथि हमला गर्ने संस्कार बसाउनु भविष्यमा आफ्नै लागि प्रत्युत्पादक हुनसक्छ ।

प्रकाशित : फाल्गुन २९, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?