प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधि सभामा पेस- समाचार - कान्तिपुर समाचार

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधि सभामा पेस

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधि सभामा प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधि सभाको बैठकमा पेस भएको छ । आइतबार एमालेको अवरोध जारी रहेपनि सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव पेस गरेका हुन् ।

उनले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउनुपर्ने कारणसहितको प्रस्ताव बैठकमा पेस गरेका थिए । प्रस्ताव पेस गर्ने क्रममा प्रमुख सचेतक गुरुङले जबराले स्वतन्त्र न्यायपालिकाको सिद्धान्त विपरीत काम गर्न खोजेको बताए ।

जबराका कारण कात्तिकदेखि माघसम्म न्यायलयबाट न्याय सम्पादन हुन नसकेको उनको भनाइ थियो । जबराका कारण न्यायालयमा भ्रष्ट्राचार, विकृति र विसंगति देखा परेको उनले बताए ।

प्रधानन्यायायधीश जबराले संविधानले दिएको क्षेत्राधिकारलाई पूरा गर्न नसकेको उनको भनाइ थियो । संवैधानिक परिषद्को सदस्य भएकाले कार्यपालिकामा पनि हिस्सा खोजेको गुरुङले बताए ।

गत फागुन १ गते ३ जना प्रस्ताव र ९५ जना समर्थिकसहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।


प्रकाशित : फाल्गुन २९, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्

चैतमा निक्षेपको ब्याजदर नबढ्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले चैतका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् । यसका लागि आइतबारसम्म वाणिज्य बैंक र विकास बैकका छाता संगठनहरुले औपचारिक निर्णय गरिसकेका छन् ।


फाइनान्स कम्पनीहरुको छाता संगठन नेपाल वित्त कम्पनी संघले पनि आइतबार ब्याजदर नबढाउने निर्णय गर्ने स्रोतले बताएको छ । ‘वाणिज्य बैंक र विकास बैंकले ब्याजदर नबढाउने भएपछि वित्त कम्पनीले मात्र किन बढाउने भन्ने कुरा आएको छ,’ स्रोतले भन्यो, ‘फेरि बजार बिगार्नु पनि भएन ।’

यसरी चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले सोमबार फागुनकै ब्याजदर प्रकाशित गर्ने छन् । जसअनुसार वाणिज्य बैंकहरुको हाल एक वर्षे मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकिएकाे छ । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत विन्दुले बढाएका थिए । यसका आधारमा यही फागुनमा वाणिज्य बैंकहरुमा संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम भएको छ । सहमति अनुसार नै बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गर्ने भएकाले चैत महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् ।

यस्तै, विकास बैंकहरुले पनि चैत महिनाका लागि एक वर्षे मुद्दती निक्षेपको ब्याजदर अधिकतम ११.५५ प्रतिशतमै स्थिर राख्दै छन् । यो दर फागुनकै हो । फागुन महिनामा फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर एक प्रतिशत विन्दुले बढाएर ११.७१ प्रतिशत कायम गरेका थिए । उनीहरुले चैतमा पनि त्यही ब्याजदर प्रकाशित गर्ने स्रोतले बताएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७८ १३:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×