प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधि सभामा पेस

फाल्गुन २९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधि सभामा प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधि सभाको बैठकमा पेस भएको छ । आइतबार एमालेको अवरोध जारी रहेपनि सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव पेस गरेका हुन् ।

उनले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउनुपर्ने कारणसहितको प्रस्ताव बैठकमा पेस गरेका थिए । प्रस्ताव पेस गर्ने क्रममा प्रमुख सचेतक गुरुङले जबराले स्वतन्त्र न्यायपालिकाको सिद्धान्त विपरीत काम गर्न खोजेको बताए । 

जबराका कारण कात्तिकदेखि माघसम्म न्यायलयबाट न्याय सम्पादन हुन नसकेको उनको भनाइ थियो । जबराका कारण न्यायालयमा भ्रष्ट्राचार, विकृति र विसंगति देखा परेको उनले बताए । 

प्रधानन्यायायधीश जबराले संविधानले दिएको क्षेत्राधिकारलाई पूरा गर्न नसकेको उनको भनाइ थियो । संवैधानिक परिषद्को सदस्य भएकाले कार्यपालिकामा पनि हिस्सा खोजेको गुरुङले बताए । 

गत फागुन १ गते ३ जना प्रस्ताव र ९५ जना समर्थिकसहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । 

कान्तिपुर

Link copied successfully