औसतमा प्रत्येक महिना तीन युट्युबरविरुद्ध प्रहरीमा उजुरी

जनकराज सापकोटा

काठमाडौँ — साइबर अपराधका घटनामा एकपछि अर्को युट्युबर जोडिन थालेका छन् । भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने मामिलामा युट्युबरहरू सक्रिय भएपछि पछिल्लो समय प्रहरीले उनीहरूमाथिको निगरानी बढाएको छ । प्रहरीको साइबर ब्युरोका अनुसार औसतमा प्रत्येक महिना तीन जना युट्युबरमाथि उजुरी पर्ने गरेको देखिन्छ । यस्ता अधिकांश उजुरीहरूमा मानहानी, चरित्रहत्या, अनर्गल प्रचार र भ्रमपूर्ण सूचनाहरू फैलाएको आरोप लाग्ने गरेको छ ।

औसतमा प्रत्येक महिना तीन युट्युबरविरुद्ध प्रहरीमा उजुरी

२०७५ जेठमा नेपाल प्रहरीको साइबर ब्युरो स्थापना भएपछि हालसम्म ८८ युट्युबरहरूमाथि साइबर अपराधको उजुरी परेको छ । प्रहरीका अनुसार योबीचमा १९ जना युट्यबरहरू पक्राउ परेका छन् । पक्राउ परेका सबै युट्युबरमाथि विद्युतीय कारोबार ऐन २०६३ अर्न्तगत मुद्दा चलाइएको छ ।

साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालका अनुसार पक्राउ परेका सबैजसो युट्युबरमाथि चरित्रहत्या, मानहानी, भ्रमपूर्ण सूचनाको वितरणजस्ता आरोपहरू लाग्ने गरेको छ । नाबालिकामाथि बलात्कार र यौन हिंसाको आरोपमा पत्रकार पल शाह पक्राउको पृष्ठभूमिमा पक्राउ परेका युट्युबरहरूमाथि भने गोपनीयताको हक उल्लंघन, चरित्रहत्यादेखि अनुसन्धानलाई प्रभावित पार्न खोज्नेजस्ता आरोपहरू लागेका छन् ।

पल शाह पक्राउपछि मात्रै साइबर ब्युरोले दुई युट्युबर र युट्युबमार्फत‍ भ्रमपूर्ण कुरा फैलाउने एक जना पक्राउ परिसकेका छन् । ब्युरोले नेपाल मिडिया नामक युट्युबमार्फत भ्रम फैलाउने, अनर्गल वक्तव्यबाजी गरेको आरोपमा नार्गजुन ८ का ५३ वर्षीय हरि उदासी भन्ने हरि परियारलाई पक्राउ गर्‍यो । सोही दिन ब्युरोले विशाल नेपाल नामक युट्युब च्यानल चलाउने लमजुङ राइनस नगरपालिका घर भई हाल तारकेश्वर ४ बस्ने २७ वर्षीय निशान चिलवाललाई पक्राउ गर्‍यो । त्यसअघि प्रहरीले गत सोमबार क्लेब नेपाल नामक युट्युब च्यानलका संचालक रुपन्देहीको बुटवल नगरपालिका १३ रुपन्देही बस्ने २१ वर्षको राहुल थापा पक्राउ परे ।

असोजयता को को युट्युबरहरू पक्राउ परे

३ फागुन
नेपाली प्र्यांकस्टर्स नामक युट्युब च्यानल संचालक झापा विर्तामोड ४ घर भई हाल भक्तपुरको कौशलटार बस्ने २७ वर्षीय आकाश सेढाई पक्राउ । उनीमाथि सार्वजनिक स्थानमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधरण व्यक्तिलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिएको आरोप छ ।

१२ पुस
साथीभाइ अनलाइन टिभी नामक युट्युब च्यानलमार्फत अश्लिल शिर्षक राखी समाजमा अश्लिलता फैलाउने भिडियो प्रसार गरेकोमा अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ल पक्राउ ।

२६ मंसिर
टेन्सन ब्रो नामक युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाएको आरोपमा बुढानिलकण्ठ-४ बस्ने २१ वर्षीय भरतबहादुर तिरुवा पक्राउ ।

१३ असोज
युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अर्न्तवार्ता तथा फोटोसहितको विवरण राखेको आरोपमा दैनिक खबर युट्युब संचालन गर्ने गोर्कणेश्वर बस्ने २१ वर्षका प्रदीप भण्डारी, हरेक पलको खबर नामक युट्युबका संचालक काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सिराइचुली मिडिया नामक युट्युब च्यानलका संचालक ३५ वर्षीय पिंकला कार्की र मोडर्न अनलाइन टिभीका संचालक गोर्कणेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पक्राउ ।

प्रकाशित : फाल्गुन २७, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?