सामूहिक विष सेवन : परिवारकै औंठाछापसहित सुसाइड नोट- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामूहिक विष सेवन : परिवारकै औंठाछापसहित सुसाइड नोट

आत्महत्या दुरूत्साहन आरोपमा सहकारीका सञ्चालक/कर्मचारीमाथि प्रहरीले थाल्यो अनुसन्धान
लिला श्रेष्ठ

काठमाडौँ — काठमाडौंको नागार्जुन–६ रामकोट डाँडापौवामा भएको सामूहिक विष सेवन घटनामा तीन दिनअघि नै सुसाइड नोट तयार पारेको खुलेको छ । सोमबार राति प्रधान परिवारका ५ जनाले विष सेवन गरेका थिए, एक जनाको मृत्यु भएको छ । 

काठमाडौं–१५ डल्लु स्थायी घर भएका प्रधान परिवार रामकोटमा डेरा बस्दै आएका थिए । घटनामा ३८ वर्षीय भीममान प्रधान, उनकी ६२ वर्षीया आमा इन्दिरामाया, ३५ वर्षीया श्रीमती मन्दिरा प्रधान, ११ वर्षीया छोरी सुप्रिना र ३३ वर्षीय भतिज सुवर्णमान प्रधानले सोमबार राति विष सेवन गरेका थिए ।

विष सेवनअघि सुवर्णले आफूहरूले ‘आत्महत्या गर्न लागेको’ भन्दै केही आफन्तलाई ‘सुसाइट नोट’ पठाएको खुलेको छ । त्यसको केही समयमै आफन्त र प्रहरी डेरामा पुग्दा इन्दिरामाया, भीममान र सुप्रिया एउटा कोठामा, मन्दिरा र सुवर्णमान छुट्टाछुट्टै कोठामा बेहोस भेटिएका थिए ।

प्रहरीले तत्काल मनमोहन मेमोरियल अस्पताल सीतापाइला पुर्‍याए पनि सुवर्णमानको मृत्यु भएको थियो । बाँकी चार जनाको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए ।

उनीहरू डा. उद्धव पुरीको घरमा ४ महिनादेखि बस्दै आएका थिए । प्रहरीले घटनास्थलबाट औंठाछाप सहितको ७ पेज लामो सुसाइड नोट बरामद गरेको छ । भीममानको कोठामा भेटिएको नोटमा आफू ‘दुनियाँदेखि नै दुःखी र पीडित’ भएको उल्लेख गरेका छन् । आफूले ५/६ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको समेत उनले खुलाएका छन् । इन्दिरामाया क्यान्सरपीडित र सुवर्णमान पनि दीर्घरोगी भएको खुलेको छ । डिप्रेसनमा रहेको, कमजोर आर्थिक अवस्था र बिरामी परिवारका सदस्यको हेरचाह गर्नुपर्ने कारण भीममान तनावमा रहेको हुन सक्ने प्रहरीको भनाइ छ ।

उनकी श्रीमती मन्दिरा ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थामा रकम संकलनकर्ताका रूपमा काम गर्थिन् । सदस्यबाट उठाएको करिब ७ लाख रुपैयाँ हिनामिना भएको भन्दै सहकारी व्यवस्थापकले आरोप लगाएपछि दुई पक्षबीच खटपट सुरु भएको थियो । सहकारीको उजुरीपछि प्रहरी वृत्त जनसेवाले शुक्रबार मन्दिरालाई छलफलका लागि बोलाएको थियो ।

जेठाजु कुमार प्रधानले ‘बोलाएका बेला उपस्थित गराउने’ सर्तमा जिम्मा लिएर फर्किएका थिए । प्रहरीबाट छुटेको साँझ मन्दिराका श्रीमान्ले सुसाइड नोट लेखेर योजनाबद्ध रूपमा परिवारले नै विष सेवन गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलबाट दुई किसिमका विषादीका खोल तथा प्याकेट नखोलिएका केही कीटनाशक औषधि पनि भेटिएको छ ।

सुसाइड नोटमा सहकारीले मानसिक यातना दिएको उल्लेख गर्दै संस्थाका ५/६ जना कर्मचारीको परिचय र मोबाइल नम्बर पनि छ । ‘सामूहिक आत्महत्या गर्दै छौं । हाम्रो मृत्यु भइसकेपछि कसैले नोट भेटाउँदा नच्याती सुरक्षित राखिदिनू’ भनेर लेखिएको नोटमा भीममान दम्पतीले हस्ताक्षर गरेका छन् भने अन्यको औंठाछाप छ । नोटमाथि परीक्षणपछि यकिन हुने एसपी मैनालीले बताए ।

भीममानले आफूलाई ठूलो बुद्ध चोकमा एक व्यक्तिले जुत्ताले हानेको र परिवारका सबै सदस्यलाई मार्नेसम्मको धम्की दिएको लेखेका छन् । अर्का एक जनासँग गाडी किनेको र लकडाउनमा पैसा तिर्न नसक्दा फिर्ता लगी धम्क्याएको समेत उल्लेख छ । सुसाइड नोटमा आरोप लगाइएका सहकारीका सञ्चालक/कर्मचारी र अन्य व्यक्तिमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित : फाल्गुन २५, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

कोइला बाल्दा निसासिएर ५ को मृत्यु

कोइला, दाउरा, ग्यास हिटर, गिजर प्रयोगमा सावधानी नअपनाउादा उपत्यकामा दुई महिनामा १० जनाले ज्यान गुमाए
लिला श्रेष्ठ

ललितपुर — ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा निसासिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । ५५ वर्षीया काइँली स्याङ्तानको घरमा आइतबार राति उक्त घटना भएको हो ।

बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले छोरी रोशनी घलानलाई खबर गरेका थिए । उनी आइपुगेर झ्यालबाट हेर्दा दुईदिने नवजात शिशुसहित परिवारका ६ जना सदस्य अचेत अवस्थामा भित्रै फेला परेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे ।

महानगरीय प्रहरी वृत्त चापागाउँ र इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएका प्रहरी र जनप्रतिनिधि पुगेर ढोका खोलेर हेर्दा काइँली स्याङ्तान, सुत्केरी कान्छी बुहारी २२ वर्षीया सुष्मा, माइला छोरा विक्रम तथा बुहारी सिर्जनाका ९ वर्षीय छोरा आशिष र छोरी ५ वर्षीया आश्मा स्याङ्तान मृत अवस्थामा फेला परेका थिए ।

काइँलीका कान्छा छोरा २३ वर्षीय सुवास र उनका दुईदिने शिशु अचेत अवस्थामा फेला परेका थिए । उनीहरूलाई पाटन अस्पताल पुर्‍याइएकामा शिशुको उपचारकै क्रममा मृत्यु भयो भने सुवासको गणेशमान सिंह अस्पतालको आईसीयूमा उपचार भइरहेको वडाध्यक्ष तीर्थबहादुर घलानले बताए । ‘आइतबार साँझ सुत्केरीलाई खाना खुवाईवरी मकलमा कोइला बालेर सबै जना एउटै कोठामा सुतेका रहेछन्,’ उनले भने, ‘नसोचेको घटना भयो ।’

शनिबार शिशुलाई जन्म दिएकी सुष्मा शिशुसहित आइतबार मात्रै प्रसूति गृहबाट डिस्चार्ज भएकी थिइन् । त्यसपछि बेलुका खाना खाएर स्याङ्तान परिवार मकलमा कोइला बालेर एउटै कोठामा सुतेका थिए । ‘हावा नछिरोस् भनेर झ्यालसमेत बोराले बारेर सुतेका रैछन्, बान्तासमेत गरेको पाइएको छ,’ ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले भने । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक चिकित्सकलाई उद्धृत गर्दै उनले कोइलाबाट निस्किएको धूवाँले निसासिएर मृत्यु भएको जानकारी दिए । काइँलीका जेठा छोरा ३८ वर्षीय राजु भने अर्कै घरमा सुतेका थिए । माइला छोरा विक्रम र बुहारी सिर्जना वैदेशिक रोजगारका लागि विदेशमा छन् । उनीहरूका छोरा आशिष र छोरी आश्माको पनि मृत्यु भएको छ ।

काठमाडौं प्रहरीका अनुसार कोइला, दाउरा, ग्यास हिटर, गिजरलगायतका कारण उपत्यकामा दुई महिनामा १० जनाले ज्यान गुमाएका छन् । जाडोयाममा कोठा न्यानो पार्न बालिने कोइला, दाउरा, ग्यास हिटर, हलोजन हिटरबाट धेरैको ज्यान जाने गरेको प्रहरीको भनाइ छ । चिकित्सकका अनुसार कोइला, दाउरा तथा ग्यास उपयोग गर्दा निस्कने ग्यास कार्बनमोनोअक्साइड हो । जुन देख्न, सुँघ्न र महसुस गर्न सकिँदैन । ग्यास बाहिर जान नपाएपछि कहिलेकाहीँ मानिसको निसासिएर अचानक मृत्यु हुने गरेको भक्तपुर अस्पतालका छाती रोग विशेषज्ञ डा. कुन्दनसिंह कार्कीले बताए । कोठा गुम्म पारेर मकल, आगो तथा हिटर बालेको कोठामा सास लिँदा त्यसबाट निस्किएको कार्बनमोनोअक्साइड फोक्सोमा जान्छ । फोक्सोले रगतका कोषिकाहरूमा अक्सिजन पुर्‍याउने काम गर्छ । कार्बनमोनोअक्साइड ग्यास प्रवेश गरेपछि फोक्सोले रगतका कोषिकाहरूमा कार्बनमोनोअक्साइड पुर्‍याउँछ । त्यसले रगतमा रहेको रक्तकोषिकाबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन पुग्छ । ‘कार्बनमोनोअक्साइडले शरीरमा भएको अक्सिजन बाहिर फालिदिने गर्छ । त्यही कारण अक्सिजनको मात्रा घट्छ,’ डा. कार्कीले भने, ‘मुटुको चालसमेत गडबड हुँदा मृत्युसमेत हुने गरेको छ ।’

महानगरीय प्रहरी परिसर काठमाडौंले बिजुली, कोइला, दाउरा तथा ग्यासको प्रयोग गर्दा सावधानीका उपाय अपनाउन अनुरोध गर्दै आएको छ ।

पाँच जना बेहोस फेला, एकको मृत्यु
काठमाडौंको नागार्जुन–६, रामकोटमा सोमबार साँझ एकै परिवारका पाँच जना बेहोस फेला परेका छन् । तीमध्ये ३० वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको छ । अन्य चार जनाको सीतापाइलास्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख सुदीप गिरीले घटनास्थलमा विषको बट्टा र ‘सुसाइड नोट’ भेटिएको जानकारी दिए । ‘भित्रबाट चुकुल लगाइएको ढोका फोरेर पस्दा परिवारका सबै बेहोस अवस्थामा भेटिएका हुन्,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ ।’ गिरीका अनुसार काठमाडौं महानगरपालिका घर भई रामकोटमा डेरा बस्दै आएको उक्त परिवारले आर्थिक कारोबार बिग्रिएपछि आत्महत्या प्रयास गरेको अनुमान गरिएको छ ।

सावधानीका उपाय

- हावा ओहोरदोहोर हुने ठाउँमा मात्र आगो ताप्ने/हिटर बाल्ने/गिजर प्रयोग गर्ने
- आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने सामग्री नजिकै नराख्ने
- गिजरको मुख्य मेसिनलाई बाथरूमबाहिर खुला ठाउँमा जडान गर्ने
- आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउन नबिर्सने
- कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने
- सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने

प्रकाशित : फाल्गुन २४, २०७८ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×