लिमीसँग सम्पर्क विच्छेद

जनकबहादुर शाही

हुम्ला — नाम्खा गाउँपालिका–६ स्थित लिमी बाक्लो हिमपातका कारण फेरि सम्पर्कविहीन बनेको छ । मंसिर दोस्रो साता पनि हिमपातकै कारण लिमीको अन्य क्षेत्रसँग सम्पर्क टुटेको थियो । ‘अहिले लिमीमा सम्पर्क गर्ने माध्यम नेपाल टेलिकमको भिस्याट फोन र वर्ल्डलिंकको इन्टरनेट सेवा मात्र हुन् । दुवै सेवा अवरुद्ध भएको छ,’ नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले भने ।

लिमीसँग सम्पर्क विच्छेद

लिमी जाने झन्डै ५ हजार मिटर उचाइका नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण सदरमुकाम सिमकोट र चिनियाँ सीमा नाका हिल्साबाट लिमी जान बन्द छ । ती लेकमा अहिले पनि झन्डै ३ फिट हिउँ जमेको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘त्यहाँ जान पनि सम्भव छैन, बाटोघाटो पुरिएका कारण स्थानीय बासिन्दा गाउँबाट बाहिर निस्कन पनि सकेका छैनन,’ उनले भने, ‘भिस्याट बिग्रिएपछि त्यहाँको विषयमा अरु जानकारी पनि हुन सकेको छैन ।’

लिमीका बासिन्दाले हिमपात हुनुअघि आफ्नो गाउँ छाड्थे । तर यो वर्ष गाउँ नछाड्दै कात्तिक पहिलो साता भारी हिमपात हुनाले उनीहरूले गाउँ छाड्न पाएनन् । त्यसयता लिमीमा ७ पल्ट भारी हिमपात भएको छ । स्थानीयले खाद्यान्न र अन्य आवश्यक सामग्री जोहो गरिसकेकाले खासै समस्या भने नभएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानले बताए ।

लिमी समुद्र सतहदेखि झन्डै ३ हजार ८ सय मिटरको उचाइमा छ । लिमीस्थित हल्जीमा ८०, जाङमा ३० र तिलमा २५ परिवारको बसोबास छ । अहिले लिमीमा अहिले झन्डै ६ सय जना रहेको अनुमान छ । लिमीबाट गाउँपालिकाको केन्द्र यलबाङ पुग्न दुई दिन र सदरमुकाम सिमकोट पुग्न पाँच दिन हिँड्नुपर्छ ।

प्रकाशित : फाल्गुन २४, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?