कोइला बाल्दा निसासिएर ५ को मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोइला बाल्दा निसासिएर ५ को मृत्यु

कोइला, दाउरा, ग्यास हिटर, गिजर प्रयोगमा सावधानी नअपनाउादा उपत्यकामा दुई महिनामा १० जनाले ज्यान गुमाए
लिला श्रेष्ठ

ललितपुर — ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा निसासिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । ५५ वर्षीया काइँली स्याङ्तानको घरमा आइतबार राति उक्त घटना भएको हो ।

बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले छोरी रोशनी घलानलाई खबर गरेका थिए । उनी आइपुगेर झ्यालबाट हेर्दा दुईदिने नवजात शिशुसहित परिवारका ६ जना सदस्य अचेत अवस्थामा भित्रै फेला परेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे ।

महानगरीय प्रहरी वृत्त चापागाउँ र इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएका प्रहरी र जनप्रतिनिधि पुगेर ढोका खोलेर हेर्दा काइँली स्याङ्तान, सुत्केरी कान्छी बुहारी २२ वर्षीया सुष्मा, माइला छोरा विक्रम तथा बुहारी सिर्जनाका ९ वर्षीय छोरा आशिष र छोरी ५ वर्षीया आश्मा स्याङ्तान मृत अवस्थामा फेला परेका थिए ।

काइँलीका कान्छा छोरा २३ वर्षीय सुवास र उनका दुईदिने शिशु अचेत अवस्थामा फेला परेका थिए । उनीहरूलाई पाटन अस्पताल पुर्‍याइएकामा शिशुको उपचारकै क्रममा मृत्यु भयो भने सुवासको गणेशमान सिंह अस्पतालको आईसीयूमा उपचार भइरहेको वडाध्यक्ष तीर्थबहादुर घलानले बताए । ‘आइतबार साँझ सुत्केरीलाई खाना खुवाईवरी मकलमा कोइला बालेर सबै जना एउटै कोठामा सुतेका रहेछन्,’ उनले भने, ‘नसोचेको घटना भयो ।’

शनिबार शिशुलाई जन्म दिएकी सुष्मा शिशुसहित आइतबार मात्रै प्रसूति गृहबाट डिस्चार्ज भएकी थिइन् । त्यसपछि बेलुका खाना खाएर स्याङ्तान परिवार मकलमा कोइला बालेर एउटै कोठामा सुतेका थिए । ‘हावा नछिरोस् भनेर झ्यालसमेत बोराले बारेर सुतेका रैछन्, बान्तासमेत गरेको पाइएको छ,’ ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले भने । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फरेन्सिक चिकित्सकलाई उद्धृत गर्दै उनले कोइलाबाट निस्किएको धूवाँले निसासिएर मृत्यु भएको जानकारी दिए । काइँलीका जेठा छोरा ३८ वर्षीय राजु भने अर्कै घरमा सुतेका थिए । माइला छोरा विक्रम र बुहारी सिर्जना वैदेशिक रोजगारका लागि विदेशमा छन् । उनीहरूका छोरा आशिष र छोरी आश्माको पनि मृत्यु भएको छ ।

काठमाडौं प्रहरीका अनुसार कोइला, दाउरा, ग्यास हिटर, गिजरलगायतका कारण उपत्यकामा दुई महिनामा १० जनाले ज्यान गुमाएका छन् । जाडोयाममा कोठा न्यानो पार्न बालिने कोइला, दाउरा, ग्यास हिटर, हलोजन हिटरबाट धेरैको ज्यान जाने गरेको प्रहरीको भनाइ छ । चिकित्सकका अनुसार कोइला, दाउरा तथा ग्यास उपयोग गर्दा निस्कने ग्यास कार्बनमोनोअक्साइड हो । जुन देख्न, सुँघ्न र महसुस गर्न सकिँदैन । ग्यास बाहिर जान नपाएपछि कहिलेकाहीँ मानिसको निसासिएर अचानक मृत्यु हुने गरेको भक्तपुर अस्पतालका छाती रोग विशेषज्ञ डा. कुन्दनसिंह कार्कीले बताए । कोठा गुम्म पारेर मकल, आगो तथा हिटर बालेको कोठामा सास लिँदा त्यसबाट निस्किएको कार्बनमोनोअक्साइड फोक्सोमा जान्छ । फोक्सोले रगतका कोषिकाहरूमा अक्सिजन पुर्‍याउने काम गर्छ । कार्बनमोनोअक्साइड ग्यास प्रवेश गरेपछि फोक्सोले रगतका कोषिकाहरूमा कार्बनमोनोअक्साइड पुर्‍याउँछ । त्यसले रगतमा रहेको रक्तकोषिकाबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन पुग्छ । ‘कार्बनमोनोअक्साइडले शरीरमा भएको अक्सिजन बाहिर फालिदिने गर्छ । त्यही कारण अक्सिजनको मात्रा घट्छ,’ डा. कार्कीले भने, ‘मुटुको चालसमेत गडबड हुँदा मृत्युसमेत हुने गरेको छ ।’

महानगरीय प्रहरी परिसर काठमाडौंले बिजुली, कोइला, दाउरा तथा ग्यासको प्रयोग गर्दा सावधानीका उपाय अपनाउन अनुरोध गर्दै आएको छ ।

पाँच जना बेहोस फेला, एकको मृत्यु
काठमाडौंको नागार्जुन–६, रामकोटमा सोमबार साँझ एकै परिवारका पाँच जना बेहोस फेला परेका छन् । तीमध्ये ३० वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको छ । अन्य चार जनाको सीतापाइलास्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख सुदीप गिरीले घटनास्थलमा विषको बट्टा र ‘सुसाइड नोट’ भेटिएको जानकारी दिए । ‘भित्रबाट चुकुल लगाइएको ढोका फोरेर पस्दा परिवारका सबै बेहोस अवस्थामा भेटिएका हुन्,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ ।’ गिरीका अनुसार काठमाडौं महानगरपालिका घर भई रामकोटमा डेरा बस्दै आएको उक्त परिवारले आर्थिक कारोबार बिग्रिएपछि आत्महत्या प्रयास गरेको अनुमान गरिएको छ ।

सावधानीका उपाय

- हावा ओहोरदोहोर हुने ठाउँमा मात्र आगो ताप्ने/हिटर बाल्ने/गिजर प्रयोग गर्ने
- आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने सामग्री नजिकै नराख्ने
- गिजरको मुख्य मेसिनलाई बाथरूमबाहिर खुला ठाउँमा जडान गर्ने
- आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउन नबिर्सने
- कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने
- सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने

प्रकाशित : फाल्गुन २४, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्

विभेद छिचोल्दै ‘हेडमिस’

१० वर्षको उमेरमा विद्यालय टेकिन्, परिवार र समाजको अवरोध छिचोल्दै पढाइलाई निरन्तरता दिइन्, जागिर खाँदै दुई विषयमा स्नातकोत्तर सकेकी लीला गत वर्षदेखि झापाको जनता माविमा प्रधानाध्यापक छिन्
पर्वत पोर्तेल

झापा — पूर्वी पहाड भोजपुरको दुर्गम गाउँ दावाको विपन्न दलित परिवारमा २०२१ सालमा जन्मिइन् लीला मिजार । ठीक त्यहीताका सुदूरपूर्वी झापा बाहुनडाँगीको तेलपानीमा बन्दै थियो, जनता माध्यमिक विद्यालय । अहिलेसम्म ११ जना ब्राह्मण पुरुष प्रधानाध्यापक बनेको विद्यालयको नेतृत्वमा छिन् लीला ।

जिल्लाकै एक्ली दलित महिला ‘हेडमिस’ लीलाको बाल्यकाल र शैक्षिक यात्रा भने निक्कै कठिन थियो । सानैमा बाबु बिते । दाजु–भाइ, दिदी–बहिनी धेरै थिए । ती सबै हुर्काउने, पढाउने जिम्मा एकल आमाको काँधमा आयो । विद्यालय पठाउन चेतना र योजना परिवारमा थिएन । तर उनी आफ्नै रहर र लगनले स्वस्थानी कथासमेत लय मिलाएर पढ्न सक्ने भइन् । भारत गएका लाहुरे दाजुलाई चिठी लेख्न थालेकी थिइन् ।

२०३१ तिर देशभर विद्यालय भर्ना अभियान चल्यो । अभियान लिएर भोजपुरका गाउँगाउँ पुगे शिक्षक ध्रुव तमोट, यादव श्रेष्ठहरू । लीलाको नाम पनि खातामा टिपेर लगे । यसरी १० वर्षको उमेरमा बल्ल विद्यालयको आँगन टेक्ने पाएकी लीला औधी खुसी बनिन् । तर साथीहरूले नै खुसी टिक्न दिएनन् । उनलाई गैरदलित विद्यार्थीले कक्षाकोठामा छिर्नै दिएनन् । ‘साथीहरूको तिरस्कारले स्कुल जान मनै लागेन,’ उनले सुनाइन् ।

विद्यालय छाडेपछि गोठालो भइन्, पहिलेजस्तै । तर विभेदको घटना थाहा पाएपछि शिक्षकहरूले फेरि बोलाए । पढ्ने रहर एकातिर, साथीहरूको तिरस्कार अर्कोतिर । भन्छिन्, ‘गोठालो बनौं कि विद्यार्थी भन्ने अन्योल भयो ।’

बालिका लीलाले केही समय दुवै काम गर्ने निर्णय गरिन् । ‘बिहान गाईबस्तु जंगलमा छाडेर स्कुल जान्थेँ, बेलुका फर्कंदा गाईबस्तु लिएरै फर्किन्थेँ, यो कुरा घरपरिवारलाई थाहै थिएन । किनकि घरधन्दा छाडेर स्कुल जाने भनेर परिवार र समाजले पनि हतोत्साहित गर्थे,’ उनी सम्झन्छिन् ।

एक दिन गाईबस्तुले छिमेकीको बाली खाएछ । सिकायत घरसम्म पुगेपछि उनी स्कुल जाने गरेकी छन् भन्ने खुलासा भयो । त्यसपछि शिक्षामा प्रतिबन्ध लाग्यो । अभिभावकले ‘बस्तु हेर्न छाडेर स्कुल जाने ?’ भन्दै गाली गरे । उनले ‘अब स्कुल जान्नँ’ भनेर जवाफ दिइन् तर पढ्न छाडिनन् । लीला गाईबस्तु हेर्दै, कहिलेकाहीं मात्र कक्षा पुगिन् । पहिलो, दोस्रो हुँदै गइन् । ‘छोरीको पढाइ निकै राम्रो छ है, पढाउनुपर्छ,’ शिक्षकले अभिभावकसामु प्रशंसा गरेपछि पढाइको औपचारिक बाटो खुल्यो ।

उनी कक्षा ४ पास भएर ५ मा जान लागेकी थिइन् । घरधन्दा गर्नुपर्छ, अब पढाइ पुग्यो भनेर फेरि अवरोध सिर्जना भयो । गाईबस्तु हेर्नुपर्ने बाध्यता आइलाग्यो । तर लीलाले पाँच दिन घरमै भोक हडताल गरिन् । परिणामस्वरूप स्कुल जान पाइन् ।


लीलाले प्राथमिक शिक्षा दुर्गेश्वरी प्राविबाट सकिन् । सिद्धेश्वर माविबाट एसएलसी सकिन् । पढाइ रोकिएन, क्याम्पस पढ्न भोजपुर बहुमुखी क्याम्पस भर्ना भइन् । आईए पढ्दै गर्दा आफैंले पढेको सिद्धेश्वर माविमा शिक्षक बन्ने प्रस्ताव आयो । सहर्ष स्वीकारिन् ।

शिक्षकको रूपमा पहिलो पटक ३ सय ७५ रुपैयाँ तलब थाप्दा उनलाई जीवन सफल भएको लागेको थियो । तर त्यो त सफलताको सुरुवात मात्र थियो । २०४३ सालमा शिक्षक पेसा सुरु गरेपछि पनि उनले पढाइलाई अघि बढाइन् । २०५३ सालमा जनकपुरको बीपी क्याम्पसबाट बीएड गरिन् । उनले २०६३ मा पोस्ट ग्य्राजुएट क्याम्पस विराटनगरबाट समाजशास्त्रमा स्नातकोत्तर र कनकाई बहुमुखी क्याम्पस झापाबाट एजुकेसनल प्लानिङ एन्ड म्यानेजमेन्ट (ईपीएम) विषयमा अर्को स्नातकोत्तर गरिन् ।

लीलाले २०४८ मा झापाका पदमबहादुर गदाइलीसँग विवाह गरिन् । २०६६ चैतमा सडक दुर्घटनामा बितेका पदम पनि बाहुनडाँगीस्थित भानु माविका प्रधानाध्यापक थिए । लीलाले पनि २०४८ देखि २०५३ सालसम्म यही भानु माविमा पढाएकी थिइन् । त्यस्तै २०५३ देखि २०७१ भदौसम्म बाहुनडाँगीकै मेची जनसाधारण माविमा पढाइन् । २०७१ भदौमा मावि तहको शिक्षा आयोग पास गरेपछि भने जनता मावि तेलपानी गइन् । गत वर्ष प्रधानाध्यापक विजयप्रसाद देवले अनिवार्य अवकाश पाएपछि लीलाले यो जिम्मेवार पाइन्, योग्यता र क्षमताका आधारमा ।

लीलाले कक्षाको पढाइ तथा पूर्वाधार विकामा जोड दिएकी छन् । विद्यालयको घेराबारालाई पूर्णता दिएर फूलबारी मात्र होइन, पुस्तकालय निर्माणलगायतका काम गरेकी छन् । उनी २०८१ माघपछि अनिवार्य अवकाश हुन्छिन् । तर अवकाशअघि नै विद्यालयको शैक्षिक गुणस्तरमा आमूल सुधार गर्ने उनको योजना छ । ‘मौका मिल्यो, सहकर्मीहरूको प्रोत्साहन पनि पाएँ, सक्छु भन्ने लागेर जिम्मेवारी लिएँ,’ उनले भनिन्, ‘अवसर पाएपछि जिम्मेवारी निर्वाह गर्ने कुरा ठूलो हुन्न ।’

बाल्यकालमा नै साथीहरूको विभेद थियो, तर त्यसले उनलाई कमजोर होइन, बलियो बनायो । पढेरै उनीहरूभन्दा अब्बल बन्ने अठोट गरिन् । निरन्तर मिहिनेत र कडा परिश्रमकै कारण उनी प्रधानाध्यापकको कुर्सीमा बस्न योग्य बनेकी हुन् । ‘अप्ठ्यारै अप्ठ्यारो बाटो छिचोलेर आएकी हुँ,’ लीलाले ३५ वर्षभन्दा लामो शिक्षण अनुभव सुनाइन्, ‘अहिले नयाँ पुस्ताको बाटो सहज बनाउने प्रयास गर्दै छु ।’

प्रकाशित : फाल्गुन २४, २०७८ ०६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×