

काठमाडौँ — माओवादी केन्द्रको केन्द्रीय समितिले एमसीसी सम्झौता पारित गर्ने क्रममा प्रतिनिधिसभाबाट पारित गरिएको व्याख्यात्मक घोषणा अनुमोदन गरेको छ । पार्टीभित्र एमसीसी सम्झौता पारित गरेको विषयलाई लिएर जारी विवादको असर कार्यकर्तामा नपरोस् भनेर माओवादीले अपिल पनि सार्वजनिक गर्ने निर्णय गरेको छ ।


काठमाडौंमा सोमबार सकिएको केन्द्रीय समितिको बैठकले एमसीसीबारे बाहिर समान धारणा राख्ने र पार्टी कमिटीमा फरक धारणा लिएर छलफल गर्ने निर्णय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । 'एमसीसीबारे पार्टी केन्द्रले अपील निकाल्ने निर्णय गरेको छ । एमसीसीबारे २०७९ जेठ २० गते बोलाइएको केन्द्रीय समिति बैठकमा छलफल गर्ने निर्णय पनि भएको छ,' ती केन्द्रीय सदस्यले भने ।
पार्टीभित्रका मतभेदमा आन्तरिक रूपमा नै छलफल गर्ने र समाधानको बाटोमा जाने निर्णय लिँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको माओवादीका केन्द्रीय सदस्यले जानकारी दिए ।
त्यस्तै, माओवादीले केन्द्रीय समितिबाट स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम पनि तय गरेको छ ।
प्रकाशित : फाल्गुन २३, २०७८ १९:१०