६४ वर्षपछि जगदीशपुर ताल पुग्दा...- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६४ वर्षपछि जगदीशपुर ताल पुग्दा...

मनोज पौडेल

कपिलवस्तु — शिर निहुर्‍याएर डिलमा ढोगे । माटोको टीका लगाए । उनका आँखा रसाए । सँगै आएका छोराबुहारी ‘बाबालाई के भयो ?’ भन्दै मुखामुख गर्न थाले । ‘यहाँ आउँदा खुसी र आनन्दले आँसु झरे,’ जगदीशपुर तालनजिक उभिएका ललितपुर, कुपण्डोलका ८८ वर्षीय योगनारायण शर्माले भने । 

जगदीशपुर ताल प्राकृतिक होइन । कृत्रिम रूपमा बनाइएको यो ठूलो तालको निर्माण शर्माले सर्वेक्षण गरेर सुरुवात गरेका थिए । ‘दुःखकष्टसाथ आफैंले बनाउन थालेको तालको यो स्वरूप र विकास ६४ वर्षपछि देख्न पाउँदा खुसी लाग्यो,’ कपडाको पाल टाँगेर ६ महिना बास बसेको ठाउँ देखाउँदै उनले भने, ‘म यहीं रात बिताउँथें । चारैतिर अरू टेन्ट हुन्थे । ती टेन्टमा बसेकाहरूले नै मलाई खाना खुवाउने र सुरक्षा दिने काम गर्थे । उनीहरू यहीं मजदुरी गर्थे ।’ त्यही भएर अहिले आउँदा धेरै खुसी लागेको उनले बताए ।

विशाल ताल देख्दा जीवनमा उत्कृष्ट कर्म गरेको अनुभूति भएको उनले सुनाए । तालबाट हुने सिँचाइले लहलहाउँदो बाली लागेर कृषकको जीवनयापनमा सहयोग पुर्‍याइरहेको देख्दा उनी अझ खुसी भएका छन् । २०१२ सालतिर शर्मा कृषि विकास विभाग खुमलटारमा कृषि इन्जिनियर थिए । २०१४ वैशाखमा उनी जगदीशपुर तालको सर्वेक्षण गर्न आए । उनलाई सहयोग गर्न कृषि प्राविधिकका रूपमा नेपालमा कार्यरत कृषि इन्जिनियर अमेरिकी नागरिक ओटी एलिसन पनि सँगै आएका थिए । नेपालीले मात्रै सक्दैनन् भनेर दरबारले अमेरिकी विज्ञलाई पनि पठाएको उनले बताए । ‘विदेशीसँग काम गर्न लगनशील र मिहिनेती नेपालीलाई पठाउनुपर्छ, त्यसमाथि ज्ञान र सीप भएकालाई पठाउँदा राम्रो हुन्छ भन्ने मान्यता थियो,’ उनले भने, ‘म पनि भर्खर गुवाहाटी विश्वविद्यालयबाट कृषि इन्जिनियरिङमा स्नातक गरेर आएको थिएँ ।’ आफ्नो अंग्रेजी पनि राम्रो भएकाले सबै कुरा विचार गरेर कृषि विभागमार्फत दरबारले आफूलाई छनोट गरेको हुन सक्ने उनले सुनाए । ‘म पनि भर्खरको युवक थिएँ । जोस जाँगर उम्दा थियो,’ उनले भने, ‘मलाई विश्वास गरेर दरबारले काम गर्ने अवसर दिएकामा काम देखाउनु थियो ।’

त्यतिबेला सात दिन पैदल हिँड्दै कपिलवस्तु पुगेको उनले सुनाए । त्यहाँ उनीहरूलाई लिन तत्कालीन बडाहाकिम नन्दबहादुर बम पुगेका थिए । पाँच वर्षदेखि थालिएको तयारीले मूर्तरूप लिने भयो भन्दै उनले उनीहरूलाई स्वागत र खातिरदारी गरेका थिए । ‘अब यहाँका खेत बाँझा हुँदैनन् । कृषकका अनुहारमा खुसी देख्न सकिन्छ,’ बडाहाकिमले त्यतिबेला आफूलाई भनेको कुरा शर्माले अहिले पनि सम्झनामा रहेको बताए ।

काठमाडौंमा हुर्किएको मान्छे उजाड, जंगल, बाघ भालु लाग्ने ठाउँ देखेर आत्तिएका थिए । लामखुट्टे र औलोको प्रकोप उस्तै थियो । ‘दरबारले विश्वास गरेर पठाएको मान्छे, मै आत्तिएँ भने विदेशी बस्ने कुरै हुँदैन’ भन्ने सोचेर मन मुटु दह्रो बनाएको शर्माले बताए । ताल उत्खनन गर्ने ठाउँ हेर्दै एलिसन आत्तिए । १०/१५ घर भएको सानो बस्ती । चारैतिर घनाजंगल । बीचमा ठूल्ठूला झाडी र रूख थिए । त्यहीं सिमसार र धाप क्षेत्र थियो । सानो कुलोमा पानी जम्मा हुन्थ्यो । त्यहाँ सर्प, बिच्छी, गोहोरो र गोहीलगायत विषालु सरिसृपको खानी थियो । धसिने हिलो उस्तै थियो । कोही गएर धसिएर निस्कनै सक्थेनन् । ‘बडाहाकिमलाई हात्तीको व्यवस्था गर्न भन्यौं, उनले एउटा मलाई र अर्को एलिसनलाई हात्तीको व्यवस्था गरिदिए,’ शर्माले भने, ‘त्यसपछि दुई साता लगाएर सर्वेक्षण गरेका हौं ।’

त्यतिखेर तराईमा औलाको प्रकोप थियो । एलिसन फर्किए । डरत्रासले उनलाई पनि बस्न मन लागेन । ‘एक्लै काम गर्न सकिन्न कि भन्ने लाग्यो । तर, अठोट गरें,’ शर्माले भने, ‘एलिसन फर्किएपछि म ६ महिना बसेर ताल खनेर मात्रै फर्किएँ ।’ सुरुमा ३० हेक्टरजति खनेर ताल बनाएको उनले बताए । ‘मैले प्राविधिक काम गर्थें, खनेको मिल्यो कि मिलेन भनेर हेर्थें,’ उनले भने, ‘खन्ने मजदुर भने बडाहाकिमले उर्दी लगाएर बोलाउँथे । धेरै मजदुर आसपासकै थारू र यादव समुदायका थिए ।’

उनले खन्न सुरु गरेको ताल ०२८ र ०४२ सालमा विस्तार हुँदै अहिले १ सय ५७ हेक्टरमा फैलिएको छ । कृत्रिम रूपमा बनाइएको मुलुककै सबैभन्दा ठूलो ताल यही भएको छ । सिमसार र जैविक विविधताका कारण यो ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको थियो ।

ताल निर्माण गरेर फर्केको तीन वर्षपछि उनको विवाह भयो । यसपछि अझ खुसी बने । श्रीमतीलाई पनि आफ्नो मिहिनेत र परिश्रम परेको ताल घुमाउन ल्याएको उनले बताए । ३४ वर्ष काम गरेर उनी खुमलटार कृषि अनुसन्धान केन्द्रबाट सेवानिवृत्त भए । त्यसपछि करिब २० वर्ष छोराहरूसँग सिंगापुर र अमेरिकामा बसे । त्यता बस्न मन नलागेपछि ८ वर्षअघि नेपाल फर्केको उनले सुनाए ।

प्रकाशित : फाल्गुन २२, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

माला बनाउन भ्याईनभ्याई

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–९ वनकसियामा तिहारका लागि सयपत्रीको माला बनाउन भ्याईनभ्याई छ । ५ जना मजदुरले ५ दिनदेखि माला बनाउँदै बजार पठाउँदै गरेका छन् ।

प्लस टु अध्यनरत बुटवलका वृजेश गुप्ताले यहाँ फूल खेती गरेका छन् । व्यवसायमा रुचि भएका वृजेश गुप्ताले पढ्दै जग्गा लिजमा लिएर १० कट्ठामा सयपत्री खेती गरेका छन् । साउन पहिलो साता बिउ छरेर बेर्ना तयार गरी फूल रोपेका हुन् । ७० दिनमै फूलको कोपिला लाग्न थालेर अहिले बारी पहेलै भएको छ । तिहारलाई लक्षित गरेर फूल उत्पादन गरी माला बनाई बेच्न उनलाई भ्याईनभ्याई छ । उनले कपिलवस्तु, रुपन्देही र दाङसम्म माला बेचिरहेका छन् । उनले ५ सय रुपैयाँ किलो फूल पनि बेचिरहेका छन् ।

थाइल्यान्डबाट बिउ आयात गरी गाढा सुन्तला रंगको सयपत्रीको बगैँचा मनमोहक देखिएको छ । कर्मा ५५५ जातको फूलको उनले बगैँचामै मजदुर राखेर माला बनाई बेच्न पठाइरहेका छन् । गोलो, अठिलो, मध्यम आकार र छिटो नकुहिने फूल भएकाले यसको माग बढी रहेको छ । सातादेखि उनलाई भ्याईनभ्याई भएको छ ।

तिहारमा बचेका फूल मंसिरको लगनका बेला बेच्ने तयारी गरिएको छ । एक लाख लगानी गरेर सय दिनमा ५ लाख आम्दानी भएको बताए ।


प्रकाशित : कार्तिक १९, २०७८ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×