कोरोना संक्रमण घटेपछि अस्पतालमा बेड खाली हुँदै - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमण घटेपछि अस्पतालमा बेड खाली हुँदै 

चिकित्सक भन्छन् : संक्रमण घटे पनि लापर्वाही नगरौँ, जनस्वास्थ्यका मापदण्ड अपनाऔं
कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण घट्न थालेपछि अस्पतालमा बेडहरू खाली हुन थालेका छन् । कोरोना संक्रमित बिरामी भर्ना हुने दर पनि निकै घटेको अस्पतालहरुको अवस्थाले देखाउँछन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले हाल अस्पतालमा ३ जना मात्र कोरोना संक्रमित उपचार गराइरहेको बताए । उनले उपचाररत बिरामीहरु गम्भीर अवस्थाका नभएको बताए ।

वीर अस्पतालका उपनिर्देशक डा. प्रज्ज्वल श्रेष्ठले हाल ७ जना बिरामी उपचाररत रहेको बताए ।उनले भने–‘माघतिर १८० सम्म बिरामी भर्ना भएकोमा अहिले ७ जना मात्र उपचाररत छन् । उपचारमा कोही डायलाइसिस र केही मिर्गौलाको समस्या भएका बिरामी उपचाररत छन् ।कोरोना घटेपछि बिरामी पनि भर्ना भएका छैनन् ।’

हाल देशभरि सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ । बिहिबार कुल ४ हजार ९२४ पीसीआर र एन्टिजेन परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको छ । तेस्रो लहरको उच्च विन्दुमा संक्रमण दर ४५ सम्म पुगेकोमा हाल कुल संक्रमण दर २.१३ रहेको छ । संक्रमण दरले पनि संक्रमण घटेको देखाउँछ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण सिद्धिएको नै भन्न नमिले पनि यसले अब एकदम अप्ठ्यारो स्थिति भने नआउने बताए ।उनका अनुसार धेरै जना संक्रमित भइसकेको अवस्था र खोप पनि लगाएकाले दोस्रो लहरजस्तै स्वास्थ्य प्रणाली नै हायलकायल पार्न सक्ने स्थिति भने आउँदैन । डा। पुन भन्छन्–‘ कोरोनाले स्वरूप परिवर्तन गरिराख्छ । संक्रमण भए पनि शरीरले एक प्रकारको प्रतिकार गर्छ । कोरोनाले स्वरूप परिवर्तन गर्ला तर जटिल अवस्थामा जाने सम्भावना कम गर्छ ।’ उनले कोरोना घटे पनि जनस्वास्थ्यका मापदण्ड पालना गरिराख्न आग्रह गरेका छन् । भन्छन्–‘ कतिपय देशले मास्क नलगाए पनि हुने भनेर भनिसके । मास्क लगाउने, हात धुने कार्यले श्वाप्रश्वासका रोग तथा संक्रमण जन्य अरु रोगबाट पनि बचाउँछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले अझै पनि धेरै जना खोपको दायरामा नआएकोले सबैजनाले खोप लगाउनुपर्ने बताउँछिन् । डा‍. मिश्रा भन्छिन्–‘कोभिड खोप नलगाएका व्यक्तिले कुन खोप आफ्नो वडा कार्यालयमा जानकारी लिई नजिकका स्वास्थ्य संस्थामा गएर लगाउनुस् ।’

१८ वर्ष माथिका ९१ प्रतिशतले लगाए खोप

१८ वर्षभन्दा माथिकाले ९१.८ प्रतिशतले एक मात्राको खोप र ७९.४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको मन्त्रालयको तथ्यांक छ । त्यसैगरी १२ वर्षमाथिका ९० प्रतिशतले एक मात्राको खोप र ४९ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।कुल जनसंख्याको ७४.१ प्रतिशतले एक मात्राको खोप र ६०.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।अतिरिक्तमात्रा ११ लाख ९९ हजार ५०८ जनाले लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन १९, २०७८ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्

हल्लाकै भरमा मारिन्छन् रेड पान्डा

छाला र मासु केहीमा प्रयोग नहुने भए पनि कृत्रिम बजार सिर्जना गरी रेड पान्डाको तस्करी बढेको छ
गोविन्द पोखरेल

काठमाडौँ — प्रहरीले गत फागुन ५ गते दाङबाट दुर्लभ वन्यजन्तु रेड पान्डा(हाब्रे)को ५ थान छालासहित ३ जनालाई पक्राउ गर्‍यो । प्रहरीका अनुसार काठमाडौैं लैजाने क्रममा भालुवाङ–प्यूठान सडक खण्डमा रेडपान्डाका छालासहित पक्राउ परेका हुन् ।

गत पुस १३ गते महानगरीय अपराध महाशाखा मीनभवनले बसुन्धराबाट ४ थान रेड पान्डाको छालासहित ४ जनालाई पक्राउ गर्‍यो । उनीहरु हाल पुर्पक्षका लागि थुनामा छन् ।

कात्तिक ७ गते १ थान रेड पाण्डाको छालासहित महानगरीय अपराध महाशाखाले चाबहिलबाट ५ जनालाई पक्राउ गर्‍यो । अवैध रुपमा रेड पाण्डाको छाला ओसारपसारको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

स्वयम्भूबाट गत साउन १ गते २ थान रेड पान्डाको छालासहित ३ जना पक्राउ परे ।चालू आर्थिक वर्षको ७ महिनामा मात्रै काठमाडौंमा ७ वटा रेडपान्डाको छालासहित १२ जना पक्राउ र एक जना फरार छन् । यसरी हेर्दा हरेक महिना रेडपान्डाको छालाको अबैध ओसारपसार भइरहेको देखिन्छ ।

किन मारिन्छन् ?

वन्यजन्तुको अखेटोपहार ओसारपोसारमा कुनै न कुनै कारण जोडिन्छन् । औषधीय, सांस्कृतिक वा अन्य गुणलाई आधार मानेर वन्यजन्तुको अवैध चोरीसिकार हुने गरेको छ । तर तिनको वैज्ञानिक पुष्टिको आधार भने देखिँदैन । रेड पान्डाको सवालमा कुनै पनि कारण खुल्दैन । अनुसन्धानकर्ताहरुले यसको कुनै अंगको औषधीय प्रयोग पनि छैन न त यसको मासु खान नै योग्य मानिन्छ ।

क्विन्सल्यान्ड विश्वविद्यालयमा रेड पान्डामा विद्यावारिधि गरिरहेका रेड पान्डा नेटवर्क नेपालका डम्बर विष्टको यो जीवको तस्करी सम्बन्धमा सन् २०२० मा आलेख प्रकाशित भएको थियो । उक्त आलेखले रेडपान्डा औषधीय र सांस्कृतिक रुपमा प्रयोग नभएको देखाउँछ । पुराना अनुसन्धानहरुमा यसको रौं चीन र भुटानमा ह्याट बनाउनका लागि प्रयोग हुने भनिए पनि २०१८मा प्रकाशित एक आलेखले त्यस्ता ह्याटहरु नभेटिएको उल्लेख छ ।

जिल्ला वन कार्यालय काठमाडौंकी सहायक वन अधिकृत धनमाया सुनुवार रेडपान्डाको तस्करी ‘आर्टिफिसियल क्रिएटेड मार्केट’ भएको बताउँछिन् । ‘यो रेड पान्डाको तस्करी हुनुको कारण हामीले पनि थाहा पाउन सकेका छैनौं । यसका न त छाला र मासु नै प्रयोग हुन्छ न अन्य अंग नै,’ कार्यालयको वन्यजन्तु अपराध महाशाखाकी प्रमुख समेत रहेकी सुनुवारले भनिन्,‘होहल्ला गरेको भरमा, यति पैसा आउँछ भनेर आर्थिक प्रलोभनमा परेर मानिसहरु ओसारपसारमा लागेका हुन् ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) का प्रवक्ता एसपी श्याम महतो रेड पान्डा मारिनुको कारण आफूहरुले अहिलेसम्म पत्ता लगाउन नसकेको बताउँछन् । उनी भन्छन्,‘रेड पान्डाको चोरीसिकार भएको छ तर केका लागि भने कुनै कारण नै खुल्दैन । यसको छाला केहीमा प्रयोग भएको हामीले पाएका छैनौं । विदेशमा पनि यसको कुनै बजार छैन । यो जीवबारेको बुझाइ अभावमा मारिने गरेको छ ।’

चोरीसिकार बढ्दै

अवैध रुपमा रेड पान्डाको छाला ओसारपसार बितेका एक दशकमा वृद्धि भइरहेको छ । ०७० देखि ०७८ सालसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल प्रहरीले ५५ थान रेड पान्डाको छाला बरामद गर्यो । यो अवधिमा केन्द्रीय अनुसन्धान ब्युरोले रेड पान्डाको ४४ वटा छाला बरामद गरेको छ । ब्युरोबाहेक देशभरका प्रहरी कार्यालयहरुबाट यो समयावधिमा ९० वटा रेडपान्डाको छाला बरामद गरेको नेपाल प्रहरीको तथ्यांकमा देखिन्छ ।

गत कात्तिकमा काठमा‌डौंबाट रेड पान्डासहित पक्राउ परेकाहरू ।

२००८ देखि २०१८सम्म रेड पान्डाका १२१ वटा घटनाहरु भएको विष्टको अनुसन्धानमा देखिएको थियो । त्यसमा हरेक वर्ष १२ वटा बरामद हुने गरेको थियो ।

कागाजमै सीमित रेड पान्डा संरक्षण कार्ययोजना

रेड पान्डा नेपाल सरकारको संरिक्षत वन्यजन्तुभित्र पर्छ । यो लजालु जीव साइटिसको अनुसूची १ र आईयूसीएन रेड लिस्टमा संवेदनशील वन्यजन्तुको रुपमा सूचिकृत छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागले ‘रेड पाण्डा संरक्षण तथा व्यवस्थापन कार्ययोजना, २०१८–२०२३’ निर्माण गरेका छन् । तर यसको कार्यान्वयनको सवालमा नेपाल सरकारका निकायहरुले चासो देखाएको पाइदैन । संरक्षित क्षेत्रभन्दा बाहिर यो जीवको बासस्थान धेरै भएकाले पनि सरकारी निकायको नजरमा परेको देखिँदैन ।

नेपालमा पाइने ७० प्रतिशत हाब्रेको बासस्थान संरिक्षत क्षेत्रभन्दा बाहिर छ । सरकारी निकायहरुले बासस्थान सुधारका कार्यक्रमहरु ल्याएको भनेपनि रेड पान्डा संरक्षणकै लागि भनेर विभागले गरेका कामहरु कमै मात्रामा देखिन्छन् ।


२ हजारदेखि ४८ सय मिटरको उचाइसम्म पाइने यो जीवका लागि नेपालकाे कूल भूभागको १४ दशमलव २३ प्रतिशत क्षेत्र उपयुक्त बासस्थान रहेको अनुसन्धानहरुले देखाएका छन् ।

कार्ययोजनाको दोस्रो मुख्य बुँदामै यसको संरक्षण गर्ने भनिएको छ । कार्ययोजना सम्पन्न गर्न ३० करोड खर्च लाग्ने भनिएको छ । यो जीवको अवैध चोरी शिकार नियन्त्रणका लागि ४ करोड ८६ लाख खर्च लाग्ने अनुमान गरिएको छ । तर पछिल्ला घटनाक्रमहरुले संरक्षणका लागि गरिएका प्रयासहरुमा प्रश्न उठ्ने गरेको छ ।

कार्यायोजनामा अवैध चोरीसिकार नियन्त्रणका लागि नियमित अनुसन्धान गर्ने, जनचेतना फैलाउने, क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने,वन्यजन्तु चोरीसिकारसम्बन्धीको अनुसन्धानलाई अझ सशक्त बनाउने,समुदायमा आधरित चोरीसिकार नियन्त्रण कार्यदलको गठन,नेपाल–भारतबीचको सहकार्य अगाडि बढाउने, सिकारी कुकुरको व्यवस्थापन पनि गर्ने भनिएको छ । तर प्रभावकारी भएको देखिदैँन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेल विभागले रेड पान्डाको संरक्षणका लागि बासस्थान व्यवस्थापनदेखि गोठालाहरुलाई जनचेतना जगाउने कामहरु भइरहेको बताए । 'अन्तर्राष्ट्रिय बजारमा कस्तुरीको बिना र गैंडाको खाग अवैध रुपमा बिक्री हुने सुनिन्छ । तर रेड पान्डा भने बिक्री भएको जानकरी छैन,' उनले भने ।

चोरीसिकार नियन्त्रण र रेड पान्डा संरक्षणका लागि बरामद भएका छालाको जीन अध्ययन गरेर तथ्यांक संकलन गर्न सकिने रेड पान्डामा विद्यावारिधि गरेका अर्जुन थापाको सुझाव छ । ‘जीन संकलन गरेपछि कुन ठाउँको हो भन्ने थाहा हुन्छ,’ उनले कान्तिपुरसित भने,‘भारतको सिक्किममा मारिएको रेडपान्डा नेपालमा पनि ल्याइएको हुन सक्छ । मोलिक्युलर अध्ययन गर्दा फलानो ठाउँको हो भन्ने थाहा हुन्छ । यो जानकारी भएपछि संरक्षणका कार्यक्रमहरु जरुरी देखिन्छ । ’

केन्द्रविन्दु काठमाडौं

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकालेको एक पुस्तिकाअनुसार २०६१ देखि २०६९ काठमाडौं उपत्यकामा हाब्रेका सातवटा छाला बरामद भए । हाब्रेको अवैध सिकार र व्यापारसम्बन्धी २०१५मा प्रकाशित आलेख अनुसार २००९ मा यस सम्बन्धीको मुद्दा दर्ता शून्य थियो । सन् २०१०मा ४, २०११ मा ८, २०१२मा १२, २०१३मा १६ र २०१४ मा २२वटा मुद्दा दर्ता भएको थियो । यी घटनाले पनि हाब्रेको अवैध चोरी सिकार बढ्दै गएको तथ्यांकहरुले देखाउँछन् ।

अन्य क्षेत्रमा मारेर बेच्ने उद्देश्यले काठमाडौंमा ल्याउने क्रममा मानिसहरु पक्राउ पर्छन् । डिभिजन वन कार्यालय काठमाडौंकी सहायक वन अधिकृत सुनुवार भन्छिन्,‘केन्द्रविन्दु काठमाडौं नै देखिन्छन् । बाटोमा रेड पान्डाको छाला बोकेर हिँडिरहेको अवस्थामा मानिसहरु पक्राउ पर्छन् । बेच्नका लागि भनेर पक्राउ परेका घटनाहरु पनि न्यून छ ।’

गत असोजमा जाजरकोटमा दुई थान रेड पान्डाको छालासहित पक्राउ परेका बारेकोट–५ नायकवाडाका १९ वर्षीय युवा ।

अन्य जिल्लाहरुबाट मारेर काठमाडौं ल्याएको देखिए पनि काठमाडौंबाट कहाँ जाने त्यो अनुसन्धानमा भेटिँदैनन् । कतिपय अवस्थामा कस्तुरीको बिना सिकार गर्न थापिएको पासोमा परेर पनि हाब्रे मारिने घटनाहरु पनि भएको कार्यालयले जनाएको छ ।

काठमाडौंमा हाब्रेको छालासहित पक्राउ पर्नेमध्ये अधिकांश नुवाकोट,धादिङ,दोलखा र सिन्धुपाल्चोकको रहेको सुनुवारले जानकारी दिइन् । उनीहरु प्रलोभनमा पारेर हाब्रो मारेर ओसापोसारमा संलग्न हुने गर्छन् ।

कतिपय घटनाहरु कहाँबाट मारेर ल्याएको, कसलाई र कहाँ बेच्न खोजेको पनि खुल्दैन । सुनुवार भन्छिन्, ‘यो बोक्यो भने,यति पैसा आउँछ,यो हुन्छ भन्ने कारणले गर्दा चोरीसिकार मौलाएको छ । ’

पक्राउ पर्ने मानिसहरु अधिकांश दैनिक ज्यालादरीमा काम गर्नेहरु छन् । विशेष गरेर उनीहरु यातायात, निर्माण क्षेत्रमा मजदुरीको काम गर्नेहरु छन् । रेड पान्डाको ओसारपसारमा पेशेवर रूपमा काम गर्नेहरु कमै मात्रामा देखिने गरेको सुनुवारले बताइन् ।

समुदायमा आधरित रेड पान्डा संरक्षण

हाब्रे संरक्षणका लागि रेड पान्डा नेटवर्कले विगत १० वर्षदेखि पूर्वी पहाडका तीन जिल्लामा कार्यक्रम गर्दै आएको छ । इलाम, पाँचथर र ताप्लेजुङका वन अभिभावक कार्यक्रम नै सञ्चालन गरेर अवैध सिकार नियन्त्रणका कामहरु भइरहेको नेटवर्कका नेपाल प्रतिनिधि आङफुरी शेर्पाले बताए ।

यी क्षेत्रमा यो जीवको अवैध चोरीसिकार कम रहेको शेर्पाले दाबी गरे । तर, कुकुरका कारण रेड पान्डा मारिने गरेको घटनाहरु बेला–बेला सार्वजनिक भइरहन्छन् । शेर्पाका अनुसार रेड पान्डाको अवैध चोरीसिकार पश्चिम नेपालमा धेरै छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका ७ जिल्लाहरुमा समुदायमा आधरित रेडपान्डा संरक्षण कार्यक्रम ल्याउने तयारी भइरहेको शेर्पाले जानकारी दिए ।

तीनजुरे मिल्के जलजले क्षेत्रअन्तर्गत संखुवासभाको मिल्केभन्ज्याङ नजिक जंगलमा क्यामेरा ट्र्यापमा परेको रेडपान्डा ।

कोरोनाकालमा गाउँ फर्किएका मानिसहरूले पैसा कमाउने लोभमा रेड पान्डाहरु मारिएको हुन सक्ने उनले औंल्याए । पश्चिम नेपालको जुम्ला,जाजरकोट,रोल्पा,रुकमलगायतका जिल्लाहरुमा रेड पान्डाका अवैध छाला बढी पक्राउ हुने गरेका घटनाहरु सुनिन्छन् ।

नेपालमा कति छन् रेडपान्डा ?

रेडपान्डाको शरीर रातो खैरो हुन्छ । यसको गाला,मुख,कानको भित्री भाग सेतो, नाकको टुप्पो चहकिलो कालो र शरीरको तल्लो भाग कालो वा गाढा हुन्छ । यसको पुच्छरमा हल्का र गाढा रातो खैरो र रंगका पट्टीहरू हुन्छन् ।

समुद्र सतहदेखि दुई हजार दुई सय मिटरदेखि चार हजार मिटर उचाइसम्म, १० डिग्रीदेखि २५ डिग्री सेल्सियस तापक्रममा रहेको गुराँस, मालिंगो, निगालोको जंगल र पानीको मुहान नजिक भएको स्थान हाब्रेको बासस्थान हो । स्तनधारी जीवको ‘एलुरिडे’ समूहमा अब बाँकी रहेको एकमात्र जीव रेड पान्डा रहेकाले यसलाई ‘लिभिङ फोसिल’ समेत भनिन्छ ।

सन् २०१६ मा गरिएको एक अध्ययनले नेपालका २४ जिल्लामा हाब्रे पाइने उल्लेख छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार रारा,शे–फोक्शुण्डो,लामटाङ, सगरमाथा, मकालु, ढोरपाटन, अन्नपूर्ण, मनास्लु, गौरीशंकर र कञ्चनजंगा संरक्षण क्षेत्रमा रेड पान्डा पाइन्छन् ।

एक्लै बस्न रुचाउने यो मांशाहारी अधिकतम समयमा रुखमा व्यतित गर्छ । बाँसका पातहरू खाने यो जीवले स–साना किरा र अन्डा पनि खाने गरेको अनुसन्धानहरूले देखाएका छन् ।

सन् २०११को एक अनुसन्धानले नेपालमा हाब्रेको संख्या ३१७ देखि ५८२ वटा हुने अनुमान गरेको थियो । सन् २०१२मा प्रकाशित अर्को आलेखले सम्भाव्यता र संख्याको आधारमा नेपालमा हाब्रेको संख्या २३७ देखि १०६१ सम्म हुने अनुमान गरिएको थियो ।

कञ्चनजंघा, संखुवासभा पूर्व र पश्चिम, सगरमाथा, गौरीशंकर, लाङटाङ, मनास्लु, अन्नपूर्ण, ढोरपाटन, रारा, खप्तड र दार्चुला क्षेत्र गरी रेडपान्डाका नेपालमा ११ ठाउँमा ‘सब–पपुलेसन’ छ ।

प्रकाशित : फाल्गुन १९, २०७८ १९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×