कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

व्याख्यात्मक टिप्पणी सरकारमा बसिरहने बाटो : रिजाल

कान्तिपुर संवाददाता

मोरङ — कांग्रेस नेता मीनेन्द्र रिजालले एमसीसीको व्याख्यात्मक टिप्पणीले कम्युनिस्ट नेतालाई सरकारमा बसिरहने बाटो मात्रै खोलिएको बताए । विराटनगरमा बुधबार पत्रकारसँगको कुराकानीमा उनले सरकार नछाड्नेका लागि मात्रै व्याख्यात्मक टिप्पणी उपलब्धि भएको बताएका हुन् ।

व्याख्यात्मक टिप्पणी सरकारमा बसिरहने बाटो : रिजाल

व्याख्यात्मक टिप्पणीले सरकार बदल्न चाहेका एमाले अध्यक्ष केपी ओलीको केही नलागेको रिजालको भनाइ थियो ।

‘दुई तिहाइको सरकारको नेतृत्व गरेका केपी ओलीले एमसीसी पास गराउन सक्नुभएन र आज संसद्को ५ अंशको एक अंश संसद्मा उपस्थिति भएका कांग्रेसका नेताले पास गरेर देखायो,’ उनले भने, ‘जुन परिपक्वता र दक्षता देखाएर एमसीसीलाई अनुमोदन गरियो त्यसले प्रधानमन्त्री शेरबहादुर देउवाबाट केही सिक्नुभयो भने ओली र देश दुवैका लागि राम्रो हुन्छ ।’ व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौता गिजोल्ने कम्युनिस्ट नेताहरुको इज्जत जोगाउने काम मात्रै भएको रिजालको भनाइ थियो । उनले यो विषयमा एमसीसी र नियोगका मानिससँग पहिले नै कुरा भएको बताए ।

उनले एमसीसी सम्झौतामा नलेखेका कुरा केही पनि व्याख्यात्मक टिप्पणीमा नलेखिएको बताएका हुन् । ‘व्याख्यात्मक टिप्पणीले एमसीसीलाई परिमार्जन पनि गर्दैन र अमेरिकाले यसलाई हेरेर मान्छु वा मान्दैनौं भनेर भन्नु पनि पर्दैन,’ उनले भने, ‘कम्युनिस्ट राजनीतिबाट यहाँसम्म आइपुगेका नेतालाई र यतिका दिनसम्म जसरी एमसीसीलाई गिजोलियो त्यसमा केही नभनी वहाँहरुको सम्मान पनि जोगाइदिनुपर्ने भएकाले मात्रै व्याख्यात्मक टिप्पणी आएको हो ।’

लामो समयको राजनीति गरेका प्रधानमन्त्री देउवाले एउटा लचकता प्रदर्शन गरेर कम्युनिस्ट नेताहरुको इज्जत जोगाइदिन र एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाउन मात्रै व्याख्यात्मक टिप्पणी आएको रिजालको भनाइ थियो । अहिलेको सत्तारूढ गठबन्धन निर्वाचनसम्मका लागि नभएको उनले प्रस्ट पारे । उनले गठबन्धनको उपादेयता सकिएको दिन भंग हुने सुनाए ।


प्रकाशित : फाल्गुन १८, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x