१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

न्युयोर्कमा भेटिएका ७ सय वर्ष पुराना तीन सम्पदा घर फर्किए

रूबिन म्युजियमका अधिकारी नै मूर्ति लिएर काठमाडौंमा
देवेन्द्र भट्टराई

काठमाडौँ — उपत्यकाका प्राचीन विहारहरूबाट सन् ९० को दशकमा चोरिएर धेरैपछि अमेरिकाको न्युयोर्कस्थित प्रसिद्ध रुबिन म्युजियममा फेला परेका दुई पुरातात्त्विक सम्पदा र न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको ६ सय वर्ष पुरानो बुद्ध अक्षोभ्य मूर्ति सोमबार काठमाडौं फर्काइएको छ ।

न्युयोर्कमा भेटिएका ७ सय वर्ष पुराना तीन सम्पदा घर फर्किए

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार रुबिन म्युजियम र तिब्बत ग्यालरीबाट आएका सम्पदाको औपचारिक रूपमा बुधबार पुरातत्त्वलाई हस्तान्तरण हुँदै छ । रुबिनका तर्फबाट म्युजियमकै पदाधिकारी नेपालको पुरातात्त्विक सम्पदा साथैमा लिएर काठमाडौं आएका हुन् । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत कार्यालयले गरेको समन्वयमा तिब्बत म्युजियममा भेटिएको अक्षोभ्य बुद्ध मूर्ति पनि एउटै कार्गोमा आइपुगेको छ ।

ओमबहालस्थित न्हुःछें बहाबाट सन् ८० को दशकमा चोरिएको मूर्तिबारे सम्पदा खोजी तथा पहिचानको अभियान ‘लस्ट आर्ट अफ नेपाल’ ले पहिलो पटक सूचना दिएको थियो । गत पुस महिनामा उक्त चोरी सम्पदाको प्रामाणिकता र नेपालको ‘उत्पत्ति थलो’ पुष्टि हुनासाथै तिब्बत ग्यालरीले आफैं मूर्ति तत्काल फर्काइने भनेर घोषणा गरेको थियो ।

न्युयोर्कको रुबिन म्युजियममा भने इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित उडिरहेकी अप्सरा (गन्धर्व) र पाटनको यम्पी विहारबाट हराएको मूलढोकामाथिको तोरण आकृति फेला परेको थियो । ती सम्पदाको प्रामाणिकता पुष्टि भएपछि गत पुस अन्तिम साता न्युयोर्कमा नेपाली महावाणिज्यदूत कार्यालय र रुबिन म्युजियमका पदाधिकारीबीच सम्पदा घरफिर्तीबारे समझदारी बनेको थियो ।

यी सम्पदा रुबिन म्युजियममा फेला परेको भन्दै गत असोजमा ‘लस्ट आर्ट अफ नेपाल’ ले सूचना दिएको थियो । ‘रुबिन म्युजियममा रहेको नेपालको पुरातात्त्विक सम्पदाबारे हकदाबी जनाउने र प्रामाणिकता प्रस्तुत हुनासाथै म्युजियमले सकारात्मक ढंगमा सम्पदा घरफिर्तीमा तदारुकता देखाएको थियो,’ न्युयोर्कस्थित कार्यवाहक राजदूत विष्णुप्रसाद गौतमले कान्तिपुरसँग फोनमा भने, ‘यी सम्पदा घर फर्काउन लाग्ने सम्पूर्ण खर्च म्युजियम स्वयंले बेहोरेको छ ।’

उनका अनुसार म्युजियमका कार्यकारी निर्देशक डा. जोरिट बित्स्गी र क्युरेटर निर्देशक मिसेल बेनेट सिमोरेला पनि काठमाडौं आएका छन् । डा. बित्सगी भने काठमाडौंमा जारी ‘काठमाडौं ट्रिनाले’ मा सहभागी हुन आएका हुन् । सम्पदा घर फर्काउने तदारुकताका निम्ति ‘सम्पदा पुनःस्थापना अभियान’ ले पनि रुबिन म्युजियमसँग पत्राचार गर्दै आएको थियो ।

सन् १९७० को युनेस्को अभिसन्धिअनुसार हराएका वा चोरिएका सांस्कृतिक सम्पदा भेटिएमा ‘उत्पत्तिको मुलुक’ (कन्ट्री अफ ओरिजिन) लाई फिर्ता गर्नैपर्ने प्रावधान छ । नेपाल र अमेरिका उक्त अभिसन्धिका हस्ताक्षरकर्ता हुन् । न्युयोर्कमै रहेको मेट्रोपोलिटान म्युजियममा पनि थप नेपाली पुरातात्त्विक सम्पदा पाइएको बारे ‘प्रामाणिकता कागजात’ तयार गर्ने काम भइरहेको महावाणिज्यदूत कार्यालयले जनाएको छ ।

इटुम्बहालको केशचन्द्र महाविहारबाट सन् १९९९ देखि हराएकामध्ये ‘माला पहिरिएकी अप्सरा’ एकैचोटि सन् २००३ देखि म्युजियमको ‘डिस्प्ले’ मा राखिएको थियो । यो सम्पदालाई ७ सय वर्ष पुरानो मानिएको छ । यस्तै, ४ सय वर्ष पुरानो मानिने काष्ठकलाको तोरण भने सन् २०१० देखि म्युजियम ‘डिस्प्ले’ मा थियो ।

यी सम्पदाको नेपाल प्रामाणिकता खुलेपछि न्युयोर्क टाइम्सले लेखेको समाचारमा, ‘माला पहिरेकी अप्सरा’ भने म्युजियमका संस्थापकसमेत रहेका रुबिन कल्चरल ट्रस्टका सेली र डोनाल्ड रुबिनले एक निजी व्यापारीबाट खरिद गरेका थिए । तर, यो सम्पदा कोबाट, कसरी खरिद गरिएको हो भनेर म्युजियमले खुलाएको छैन । औपचारिक रूपमा सन् २००४ मा खुलेको भए पनि रुबिन म्युजियममा यसका संस्थापक सेली र डोनाल्ड रुबिनले सन् १९७४ यता गरेका संकलित सम्पदा/कला रहेका छन् । त्यसमा पनि हिमालयन क्षेत्रका कला/सम्पदाको आकर्षण यो म्युजियममा बढी छ ।

प्रकाशित : फाल्गुन १८, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?