कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमसीसी जटिलताको मुख्य जिम्मेवार ओली : नेपाल

‘एमसीसीलाई इन्डो–प्यासिफिकमा सहभागी गराउन पनि तत्कालीन ओली सरकारको भूमिका’
कान्तिपुर संवाददाता

काठमाडौँ — एकीकृत समाजवादी पार्टीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण एमसीसी जटिल र संशयपूर्ण भएको आरोप लगाएको छ । एमसीसीसँगको सम्झौता अनुमोदन भएको दुई दिनपछि आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष माधवकुमार नेपालले ओलीले उत्पन्न गराएको जटिलालाई गठबन्धनले निकास दिएको दाबी गरे । 

एमसीसी जटिलताको मुख्य जिम्मेवार ओली : नेपाल

‘मुलुकभित्रका दलहरूबीच विवाद बीजारोपण गर्ने र जनतालाई समेत उत्तेजित पार्दै विभाजित गर्ने काम ओली नेतृत्वको सरकारबाट भयो,’ मंगलबार विज्ञप्तिमार्फत नेपालले भने, ‘अतः राज्य सञ्चालनको जिम्मा पाएका ओली जस्ता व्यक्तिहरूमा भएको व्यक्तिवादी, दम्भी, अहंकारी, आत्मसमर्पणवादी एवम् षड्यन्त्रकारी प्रवृत्तिले उत्पन्न गराएको जटिलता र संशयपूर्ण क्रियाकलापलाई अहिलेको गठबन्धनले उपयुक्त निकास दिनुपर्ने बाध्यात्मक अवस्था बन्यो ।’

एमसीसीलाई इन्डो–प्यासिफिकमा सहभागी गराउन पनि तत्कालीन ओली सरकारले भूमिका खेलेको अध्यक्ष नेपालको आरोप छ । ‘अमेरिकी विदेश विभागले सन् २०१९ मा जारी गरेको’ अ फ्री एन्ड ओपन इन्डो–प्यासिफिक प्रतिवेदनमा एमसीसीलाई आफ्नो हिस्साका रूपमा उल्लेख गर्दै नेपाललाई त्यसको सदस्य राष्ट्रको सूचीमा राखियो,’ नेपालको भनाइ छ, ‘तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमणमा तत्कालीन प्रधानमन्त्रीको अनुमतिमा एमसीसीमार्फत आईपीएसमा आबद्ध भएको भनेर विभिन्न सञ्चारमाध्यममा आए पनि त्यसबारेमा नेपालका औपचारिक संस्थाहरूबाट कहींकतै विरोध वा निर्णय भएको देखिँदैन ।’

पछि नेपालमा राजनीतिक पार्टीका नेताहरूले विरोध जनाएपछि सन् २०२२ को रिपोर्टमा आईपीएसबाट नेपालको नाम हटाएको समाचार सार्वजनिक भएको दाबी एकीकृत समाजवादीको छ । यसअघि कुनै पनि विकास आयोजनासम्बन्धी वैदेशिक सहयोग सम्झौता संसद्बाट अनुमोदन गराउने काम नभएको तर तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता सदनमा पुर्‍याएपछि विवाद सिर्जना भएको नेपालको आरोप छ । मंगलबार नै एमसीसीबारे आफ्नो र पार्टीको धारणा सार्वजनिक गरेका एमाले अध्यक्ष ओलीले अध्यक्ष नेपालले लगाउँदै आएको आरोपको खण्डन गरेका थिए ।

आफ्नो पार्टीले लिएको अडानकै कारण अहिले संसद्बाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएको अध्यक्ष नेपालले दाबी गरेका छन् । ‘एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्ने योजना ओली सरकारको थियो । अन्य केही दलले समेत यथास्थितिमा एमसीसी पारित गर्ने भनिरहेको सन्दर्भमा हाम्रो पार्टीले उक्त कम्याक्टमा भएका कतिपय शंका र दोहोरो अर्थ लाग्ने विषयबारे स्पष्ट निरूपण नगरी यथास्थितिमा अनुमोदन गर्नु हुँदैन भनेर निर्णयसहित दृढ अडान लियो । उक्त अडानका कारण नै व्याख्यात्मक घोषणासहित एमसीसी कम्प्याक्ट संसद्बाट अनुमोदन हुने अवस्थामा पुग्यो,’ विज्ञप्तिमा भनिएको छ ।

एमाले अध्यक्ष ओलीले एमसीसीलाई चालबाजीका रूपमा उपयोग गर्न खोजेको आरोप नेपालको छ । ‘पछिल्लो समय अन्तर्राष्ट्रिय चासोका रूपमा समेत लिइएको र नेपाली समाज नै पक्ष–विपक्षमा विभाजित भएको एमसीसी कम्प्याक्टलाई संसद्बाट अनुमोदन गरी लागू गर्ने वा नगर्ने भन्ने विषयमा छिटो निर्णयमा पुग्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनालाई केपी ओलीले आफ्नो आदेश पालन नगर्ने तथा आफूसँग असहमत व्यक्ति र समूहलाई समाप्त गर्ने एवम् सत्ता गठबन्धन भत्काउँदै संविधान र संसद्को तेजोबध गर्ने कार्यको पुनरावृत्ति गर्ने गरी चालबाजीका रूपमा उपयोग गर्न खोजे,’ विज्ञप्तिमा छ ।

पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनका दलहरूबीच विभाजन खडा गरेर लोकतन्त्र, संघीयता र संविधानसमेत ध्वस्त गर्ने दुष्प्रयास भएको अध्यक्ष नेपालको दाबी छ ।

प्रकाशित : फाल्गुन १८, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?