कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

ओली भन्छन् : 'यो सरकार बन्नै नदिन खोज्या हो, ढाल्न खोज्नु नयाँ कुरा भयो र ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्नै नदिन खोजेको तर नसकेको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले वर्तमान सरकार ढल्नैपर्ने पनि धारणा राखेका छन् । 

ओली भन्छन् : 'यो सरकार बन्नै नदिन खोज्या हो, ढाल्न खोज्नु नयाँ कुरा भयो र ?'

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रधानमन्त्री देउवा नेतृत्वको सरकार ढाल्नै खोजेको र ढल्नैपर्ने बताए । 'एमालेले गठबन्धन ढाल्न खोज्यो, गठबन्धन स्वीकारेन, गठबन्धन मन पराएन भन्नु नयाँ कुरा होइन । यो असंवैधानिक, परमादेशी सरकार हो,' उनले भने, 'यो सरकार बन्नै नदिन खोज्या हो, ढाल्न खोज्नु नयाँ कुरा भयो र ? बन्नै नदिन खोजेको हो ।'

संविधान उल्लंघन गरेर वर्तमान सरकार गठन गरिएको ओलीको भनाइ थियो । उनले देउवाको नेतृत्वमा सरकार हुनु संविधानको लागि उल्लंघन भएको आरोप लगाए । कांग्रेससँग पछिल्लो समय भएका छलफलमा आफ्ना अडान स्पष्ट राखेको पनि उनको भनाइ थियो । 'हामीले नेपाली कांग्रेससँग हाम्रा अडान छोड्छौं भनेका थिएनौं । लोकतन्त्रका आधारभूत प्रश्न, मूल्य, मान्यता, प्रणाली र संविधानको रक्षाका लागि मूलभूत रूपमा सहमति, समझदारीका साथ जाउँ भनेका हौं । लोकतन्त्रका लागि बलिदान गरेका एमाले र कांग्रेसबीच समझदारी हुनुपर्छ भनेका हौं । त्यो सदैव भनेका थियौं र अहिले पनि विश्वस्त छौं ।'

ओलीले ताजा जनादेशमा जानुपर्ने पनि धारणा राखेका छन् । उनले वर्तमान सरकार २०७४ सालको निर्वाचनको जनादेशविपरीत भएको दोहोर्‍याए । मुलुकमा अर्थतन्त्र, सुरक्षा व्यवस्था ठीक नभएको उनको आरोप थियो ।

प्रकाशित : फाल्गुन १७, २०७८ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?