संसद् प्रभावकारी हुन सकेन, सभामुखको भूमिकाले थप गतिरोध सिर्जना भयो : ओली


काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाबाट आइतबार नै व्याख्यात्मक घोषणासहित पारित भएको एमसीसीबारे पार्टीको धारणा जारी गर्न मंगलबार पत्रकार सम्मेलन गर्दै ओलीले सभामुखको आलोचना गरेका हुन् ।


सभामुख सापकोटाले पदीय मर्यादा विपरीत कार्य गरिरहेको प्रमुख प्रतिपक्षी दलका नेता ओलीको भनाइ थियो । 'संसद्मा माननीय सदस्यहरूको अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक छ । सरकारले दिएको बिजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकूल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो,' ओलीले जारी गरेको वक्तव्यमा भनिएको छ, 'षड्यन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनु भयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ ।'
एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका सांसदहरूलाई सभामुख सापकोटाले जोगाएको पनि ओलीको भनाइ थियो । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेको भन्दै भदौयता संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ । यसबारे ओलीले भनेका छन्, 'उहाँ नै दलहरूले कारबाही गरेका अनुशासनहीन सांसदलाई जोगाएर दल विभाजनको मतियार बन्नुभयो । अहिले राष्ट्रिय राजनीति लिकबाट बाहिरिएको छ । संसदभित्र वा बाहिरको हाम्रो जारी लडाइँ लोकतन्त्रको आधारभूत मूल्य, मान्यता र दलीय प्रणालीको मर्मलाई स्थापित गर्न र त्यसलाई अझ सुदृढ गर्नका लागि हो ।'
संसद् प्रभावकारी नहुनुमा सभामुखको भूमिका जिम्मेवार भएको ओलीको भनाइ छ । 'संसद् जननिर्वाचित प्रतिनिधिमार्फत् लोकतन्त्रको अभ्यास गरिने थलो हो । चार वर्षअघिको जनादेश अहिले खण्डित भएको छ । त्यसैले संसद् प्रभावकारी हुन सकिरहेको छैन,' उनले भनेका छन्, 'त्यसमाथि सभामुखको भूमिकाले थप गतिरोध सिर्जना भएको छ । यी सबै घटनाक्रमले सभामुख यस गरिमामय पदका लागि योग्य हुनुहुन्न भन्ने थप पुष्टि भएको छ ।'
प्रकाशित : फाल्गुन १७, २०७८ १३:५६