कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पाकिस्तानको हिन्दु साधुबेलो मन्दिरमा नेपालको साइनो

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानी राज्य सिन्धको सक्कर सहरमा सिन्धु नदीको बीच टापुमा रहेको साधुबेलो मन्दिरबारे जानकारी पाएपछि नेपाली हिन्दु धर्माबलम्बी समेत भ्रमणमा जान थालेका छन् ।  

पाकिस्तानको हिन्दु साधुबेलो मन्दिरमा नेपालको साइनो

नेपालबाट सन् १८२३ मा गएका वनखण्डी महाराज साधुले स्थापना गरेको मानिने र जंगलमा साधुहरु बस्ने भएको हुनाले सिन्धी भाषामा ‘साधुको जंगलका रुपमा साधुबेलो नाम प्रचलनमा रहेको पाइएको छ । मन्दिर परिसरमा ८ वटा मन्दिर, पुस्तकालय, भोजनालय एवं तीर्थयात्री/योगीको अवासगृह रहेको हालै साधुबेलो भ्रमणमा पुगेर आएका इस्लामाबादस्थित नेपाली राजदूत तापस अधिकारीले बताएका छन् । उक्त मन्दिर राजधानी इस्लामाबादबाट करिब १ हजार किलोमिटरको दूरीमा रहेको छ ।

पाकिस्तानको स्वतन्त्रतापश्चात उक्त मन्दिरबाट महन्तहरु भारत गए पनि वर्षको एकपटक उक्त तीर्थस्थानमा आई औपचारिकरुपमा मन्दिर खोल्ने र पर्व मनाउने गरिएको छ । हाल उक्त मन्दिरको ११औं प्रमुख महन्तका रुपमा रहेका गौरीशंकर महाराज मुम्बईमा बस्ने र त्यहाँबाट साधुवेलो एव वनखण्डी महाराजका नाममा स्थापित डेड दर्जन जति धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक एव आध्यात्मिक संस्थाहरुको नेतृत्व गर्ने गरेका छन् ।

‘मन्दिरमा वनखण्डी महाराजको निर्वाणको दिन, शिवरात्री, होली, रामनवमी, कृष्णाष्टमी आदिका दिन ठूलो मेला लाग्ने हुनाले उक्त अवसरमा श्रद्धालुहरुको जमघट हुने गरेको रहेछ’,भ्रमणपछि राजदूत अधिकारीले भने । पाकिस्तान सरकारको अल्पसंख्यक धार्मिक स्थल संरक्षण गर्न स्थापना भएको संस्था ‘इभाक्युयी ट्रस्ट प्रोपर्टी बोर्ड’ले मन्दिर परिसरको सरसफाइ र संरक्षण गर्ने गरेको र नित्य पूजाआजाको प्रबन्ध गरेको जनाइएको छ ।

साधुबेलो धामका वर्तमान महन्त गौरी शंकर महाराजका अनुसार, इतिहासमा वनखण्डी महाराज नेपालको मोरङमा धुनी जगाएर तपस्या गरी बसेको र यो स्थान हाल सुनसरी जिल्लामा अखण्ड धुनी रहेको रामधुनी स्थल रहेको जानकारी दिइएको छ । विराटनगरको देवकोटा चोकमा समेत वनखण्डी महादेवको मन्दिर रहेको छ जुन वनखण्डी महाराजले स्थापना गरेको मानिन्छ ।

‘पाकिस्तानी हिन्दुहरु एवं त्यहाँबाट संसारका विभिन्न स्थानमा गएर बसेका हिन्दुको यो आस्था सम्बन्धित यात्रालाई व्यवस्थित गर्न सकेमा नेपालको धार्मिक पर्यटनमा एक नयाँ अध्याय थपिने देखिन्छ,’राजदूत अधिकारीले भने ।

प्रकाशित : फाल्गुन १६, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?