शैलुङका ठेक्का : सातपटक म्याद थप्दा पनि अलपत्र

सत्तापक्षीय नेता पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारीको फोटोसहित स्थानीयले सार्वजनिक दबाब दिँदा पनि अटेरी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले काम नगर्ने ठेकेदारको सम्झौता तोड्न आफूलाई कसैले रोक्न नसक्ने बताएकी थिइन्, दुई महिना बित्यो ठेक्का तोडिएन
विमल खतिवडा, सीमा तामाङ

काठमाडौँ — बालाजु–त्रिशूली–छहरे–विदुर सडक विस्तार थालेको सात वर्ष बित्यो । तर निर्माण अलपत्र छ । बर्खामा हिलो र हिउँदमा उड्ने धूलोले वर्षौंदेखि स्थानीय आजित छन् । लथालिंग सडकका कारण स्थानीयले ओहोरदोहोरमा कष्ट बेहोरिरहेका छन् । बालाजुदेखि मुड्खुसम्म कालोपत्र गरिए पनि त्यसपछि खाल्डाखुल्डी छन् ।

शैलुङका ठेक्का : सातपटक म्याद थप्दा पनि अलपत्र

तीनपिप्लेबाट दाहिनेतर्फ लागेपछि जोडिन्छ, पासाङ ल्हामु राजमार्गको बाटो । त्यहाँ कतै खाल्डाखुल्डी त कतै ग्राभेल छ । सडक छेउमै घर हुनेलाई सडकले ठूलै सास्ती दिएको छ । पानी पर्दा सडकबाट हिलो आँगनमै बगेर पुग्छ । सडक छेउमा किराना पसल गर्दै आएकी ककनी काउलेकी मंगली तामाङ सडक देखेर दिक्क छिन् । ‘हावा लाग्दा माटो/धूलो मात्र होइन, पानी पर्दा हिलो नै घरभित्र पस्छ,’ उनले भनिन्, ‘यो सडकले धुरुक्कै रुवायो । दिनमा ३/४ पटक सफा गर्नुपर्छ ।’

हुँदाछँदाको सडक भत्काए पनि त्यसमा कालोपत्र गरिएको छैन । पहिला त्रिशूली जाने माइक्रो पनि मुड्खु, तीनपिप्ले, काउलेथान हुँदै चल्थे । अहिले भने यो बाटो भएर यातायातका साधन गुडाउन समस्या छ । गल्छी–त्रिशूली–स्याफ्रुबेंसी सडक सुरु भएपछि यो बाटो ओझेलमा परेको पासाङ ल्हामु राजमार्ग कालोपत्र दबाब अभियानका अभियन्ता आदित्यनाथ श्रेष्ठ बताउँछन् । यही फागुन १ र २ मा पनि सडक बनाउन दबाब सिर्जना गर्न अहिले फोहोर बोक्ने ट्रकबाहेक अन्य सवारी चल्न दिइएको उनको भनाइ छ । ‘बाटो बिग्रन्छ भन्दै गाडी चलाउन दिएनौं, असार–साउनमा हिलो रोपेर विरोध गर्‍यौं,’ उनले भने, ‘पटकपटक तीनपिप्लेमा बाटोसमेत बन्द गर्‍यौं तर कसैले सुनेनन् ।’

भारतको आरामाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सनले संयुक्त रूपमा २०७३ असार ३ मा सक्ने गरी २०७१ जेठ २२ मा यो सडकको ठेक्का लिएको थियो । ३१ करोड ४ लाख ६४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकामा अहिलेसम्म निर्माण कम्पनीलाई १९ करोड २२ लाख रुपैयाँ भुक्तानी भइसकेको बालाजु–त्रिशूली–छहरे–विदुर सडक विस्तार आयोजनाका प्रमुख गौतम श्रेष्ठले बताए । अहिलेसम्म ७ पटक म्याद थप थपिइसकेको छ । गत असोजसम्मको भौतिक प्रगति ५४ प्रतिशत मात्र छ । त्यसपछि उल्लेख्य प्रगति छैन । भारतीय कम्पनीसँग संयुक्त रूपमा ठेक्का लिए पनि यसको मुख्य काम शैलुङले गरिरहेको छ । उसले बालाजु–रानीपौवासम्म १७ किमि सडकको ठेक्का लिएको हो । रानीपौवा–पीपलटारसम्म ३४ किमि सडकको ठेक्का भने दिनेशचन्द्र नागार्जुन कोसी एन्ड न्यौपानेले लिएको थियो । तर निर्माण कम्पनीले समयमै काम नगरेको भन्दै यो ठेक्का २०७७ असारमै तोडिइसकेको छ ।

निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेपछि अदालतले असारमै निर्माणको थप काम अघि नबढाउन र कम्पनीलाई कालोसूचीमा पनि नराख्न आयोजनालाई अन्तरिम आदेश दिएको थियो । त्यसपछि यो सडकको काम ठप्प छ । ‘निर्माण व्यवसायीहरूका कामबाट सन्तुष्ट छैनौं, समयमै सडक नबनाएको भन्दै स्थानीयले सडक बन्द गरिरहेका छन्,’ श्रेष्ठले भने, ‘गरेको काम पनि बिग्रिसकेको छ, कालोपत्र नै उप्किइसकेको छ ।’ निर्माण कम्पनीसँग काम चाँडो सक्न भन्दै पटकपटक बैठक गरेर छिट्टै काम सक्ने समझदारी भए पनि भनेअनुसार भएको छैन । अब पनि काम नगरे ठेक्का तोड्नुको विकल्प नभएको उनले बताए ।

समस्या यो सडकमा मात्र होइन, शैलुङ कन्स्ट्रक्सनले जहाँ ठेक्का लिएको छ, सबैजसो सडक अलपत्र छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत रहेका शैलुङका प्रमुख शारदाप्रसाद अधिकारी उपत्यकामा सडक विस्तारको धेरै ठेक्का लिनेमध्ये पर्छन् । भक्तपुर–नगरकोट–सिपाघाट सडक निर्माणको जिम्मा पनि शैलुङ कन्स्ट्रक्सन–एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले लिएको छ । २०७१ जेठ २२ मा ठेक्का लिएर २०७३ कात्तिक ४ मा काम सक्नुपर्ने भए पनि अहिलेसम्म भौतिक प्रगति ८४ प्रतिशत मात्रै छ । यसको म्याद पनि ७ पटक थपिइसकेको छ ।

कोभिडका कारण काम गर्न नपाएका सबै आयोजनालाई सरकारले चैत मसान्तसम्म म्याद दिएको छ । यो म्यादमा पनि काम नसकिए ठेक्का तोड्नुको विकल्प नभएको आयोजनाले जनायो । भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तारको ठेक्का रकम २७ करोड ९० रुपैयाँ छ । अहिले लागत बढेको भन्दै ३५ करोड ८७ लाख १८ हजार रुपैयाँ कायम गरिएको छ । ठेकेदारले राजनीतिक संरक्षण पाएर पटक–पटक म्याद थप्ने काम मात्र गरेको भन्दै यहाँ पनि स्थानीय, व्यवसायी, जनप्रतिनिधिलगायतले ठेक्का रद्द गर्नुपर्ने माग गर्दै आएका छन् । उक्त निर्माण कम्पनीलाई चैत मसान्तसम्मको समय दिइएको आयोजना प्रमुख गौतम श्रेष्ठले बताए ।

सार्वजनिक स्थल एवं सवारीसाधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसेर स्थानीयले विरोध गरिरहेका छन् । सडक विस्तार नभएको भन्दै स्थानीयले गत पुसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई निर्माणाधीन सडकमै विरोध जनाएका थिए । त्यति बेला मन्त्री यादवले समयमै काम नगर्ने ठेकेदारको सम्झौता तोड्न आफूलाई कसैले रोक्न नसक्ने बताएकी थिइन् । तर काम नभए पनि अहिलेसम्म ठेक्का तोडिएको भने छैन ।

ललितपुरको ढोलाहिटी–सुनाकोठी सडकमा अघिल्लो माघमा सकिएको कालोपत्र जेठमै भत्कियो । सडकमा बाक्लै खाल्डाखुल्डी थिए । अहिले सडकसम्म बनाए पनि कालोपत्र भने अझै गरिएको छैन । ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर हुँदै सरस्वतीकुण्ड पुग्ने ९ किलोमिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । दुई खण्डको ठेक्का पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले लिएको हो । २०७४ साउन १६ मा ठेक्का सम्झौता भएकामा म्याद सकिसकेको छ । पहिलो खण्ड ढोलाहिटीदेखि सुनाकोठीसम्मको दूरी ३.२ किमि छ, जसमध्ये २.५ किमि खण्ड ललितपुर–२७ मा र बाँकी खण्ड गोदावरी नगरपालिका–१२ मा पर्छ । अहिले धेरै समस्या यही २.५ किमि खण्डमा छ, जसको ठेक्का २०७५ कात्तिक २६ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ जेठ २६ मा दिवा–शैलुङ जेभीले लिएको हो । २.५ किमिको खण्डमा २०७७ माघ पहिलो साता मात्रै सडक कालोपत्र सुरु भएको थियो । पूरा काम हुन नपाउँदै २०७८ जेठ दोसो साताबाट कालोपत्र भत्कियो । चार पटकसम्म म्याद थप भयो । तर काम हुन सकेको छैन ।

सडक समयमै नबनेपछि स्थानीयले विरोधस्वरूप बाजा बजाएर रोपाइँ पनि गरे । धेरै पटक सडक बन्द गराए । तर सडकको अवस्था जस्ताको तस्तै छ । यो सडकको ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले लगाएको हो । यो सडक २३ करोड ३१ लाख ४६ हजार रुपैयाँमा ठेक्का लगाइएकामा ठेकेदारले ६ करोड ३४ लाख ३४ हजार रुपैयाँ भुक्तानी पाइसकेका छन् । शैलुङका प्रमुख शारदाप्रसाद अधिकारीले गत असोजमा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जे निर्देशन दिन्छ, त्यहीअनुसार काम गर्ने प्रतिक्रिया दिएका थिए । तर आयोजनाले दिएको निर्देशनअनुसार निर्माण कम्पनीले अहिलेसम्म पनि काम गरेको छैन ।

सडक निर्माण छिट्टै सक्न भनेर शैलुङका प्रमुखसँग बसेर कुरा गरिसकेको ललितपुर महानगरपालिका २७ का वडा अध्यक्ष बाबुराज महर्जन बताउँछन् । तर निर्माण कम्पनीले अहिलेसम्म काम सुरु नगरेको र खाल्डाखुल्डी पुर्ने मात्र काम भएको उनको भनाइ छ । ‘अब पनि काम नगरे वडावासी चुप लागेर बस्दैनन्,’ उनले भने, ‘ठेक्का तोड्न सम्बन्धित कार्यालयलाई अनुरोध गर्छौं ।’

ढोलाहिटी–सुनाकोठी सडकको कालोपत्र उप्किएपछि ठेकेदार लामो समय सम्पर्कमा नआएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । ‘अहिले यो सडकमा खाल्डाखुल्डी पुर्ने काम मात्र भएको छ । ठेकेदारले पनि काम गर्छु भनेका छन्,’ उनले भने, ‘अब पनि काम नगरे धरौटी रकम निकालेर नयाँ ठेक्का गरेर भए पनि काम सक्छौं ।’

शैलुङले नै विस्तारको जिम्मा लिएको कलंकी–नागढुंगा सडक पनि अझै निर्माण सकिएको छैन । ‘बनेको सडक बिग्रिसकेको छ, हामीलाई मर्मत गर्न कठिन छ । उसले पनि मर्मत गरिदिएको छैन,’ जोशीले भने, ‘अब तुरुन्त मर्मत गरेर हस्तान्तरण नगरे हामीले आफ्नोअनुसार काम अघि बढाउँछौं ।’

शैलुङ कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर अनुप अधिकारी भने बालाजु–रानीपौवा सडक खण्डमा ५५ प्रतिशतभन्दा बढी काम भइसकेको दाबी गर्छन् । ढोलाहिटी खण्डमा बेस हाल्ने काम सुरु भएको उनले बताए । ‘निर्माणका क्रममा केही आयोजनामा हाम्रो कमजोरी भए होला, केही सरकारका पनि होलान्,’ उनले भने, ‘जति ठेक्का हाम्रा छन्, तीन महिनाभित्र सबै सक्न काम गरिरहेका छौं ।’

प्रकाशित : फाल्गुन १३, २०७८ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?