अर्थमन्त्री शर्मा भन्छन् : राष्ट्रिय सहमति नजुटाए एमसीसी पास हुँदैन - समाचार - कान्तिपुर समाचार

अर्थमन्त्री शर्मा भन्छन् : राष्ट्रिय सहमति नजुटाए एमसीसी पास हुँदैन 

अगन्धर तिवारी

पर्वत — अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने दाबी गरेका छन् ।

बिहीबार दिउँसो १ बजे संसद्मा एमसीसीमाथि सामान्य छलफल गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि अर्थमन्त्री पर्वतमा एउटा कार्यक्रममा सहभागी हुन आएका थिए ।

पर्वत उद्योग वाणिज्य संघको ४६औं स्थापना दिवस तथा ३९ औं साधारण सभालाई सम्बोधन गर्दै शर्माले एमसीसी अहिले राष्ट्रिय मुद्दा बनको र सहजै समाधान हुन नसक्ने दाबी गरेका हुन् । ‘एमसीसी अहिले राष्ट्रिय संकटको इस्यु र विषय बनेको छ । यसले समाज र पार्टीहरुलाई विभाजनमा ल्याएको छ,’ उनले भने, ‘त्यसबाट बच्नका लागि राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता छ । यसलाई आफ्नो गोरुको बाह्रै टक्काको कुरा गरियो भने नेपालमा ठूलो समस्या पैदा हुन्छ ।’

सत्ता साझेदारको ठूलो दल नेपाली कांग्रेसतर्फ लक्षित गर्दै शर्माले कांग्रेस अहिले एमसीसीको विषयलाई लिएर राजनीतिक पार्टी र समाजलाई विभाजन गर्न खोजेको संकेत गरे । ‘यसरी जान खोज्दा राजनीतिक पार्टीहरुमा विभाजन आउन सक्छ । यसको लागि राष्ट्रिय सहमति जुटाउनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सहमति केको लागि ? के शर्तमा भन्दा राष्ट्रहित, हाम्रो स्वाधिनता र स्वाभिमानलाई केन्द्रमा राखेर राष्ट्रिय सहमति जुटाउनुपर्छ ।’ करिब १८ मिनेट लामो भाषण गरेका शर्माले एमसीसीका विषयमा एक मिनेट मात्रै बोलेका थिए ।

प्रकाशित : फाल्गुन १२, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्

सेयर बजारमा उच्च गिरावट, कारोबार भने बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च गिरावट आएको छ । परिसूचक नेप्से ५८. ९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६६१ अंकमा झरेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार कुल ४ अर्ब २९ करोडको कारोबार भएको छ । बुधबार ३ अर्ब १३ करोडको कारोबार भएको थियो । 

सबै उपसमूह खस्किएका छन् । बैंकिङ ३०, ब्यापार ५०, होटल तथा पर्यटन ४८, विकास बैंक ११५, जलविद्युत् ९०, फाइनान्स ६९, निर्जीवन बीमा २४५, उत्पादन १२९, अन्य ६५, माइक्रोफाइनान्स १०९, जीवन बीमा ४१८ र लगानी उपसमूह २ अंकले घटे ।

१५८ कम्पनीको मूल्य घट्दा ६ को बढ्यो । हिमालयन जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । बढेका अरुको मूल्यवृद्धि २ प्रतिशतभन्दा मुनि रह्यो । युनिभर्सल पावर, न्यादी हाइड्रोपावर, नयाा सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा धेरैले घट्यो । कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर, नेपाल टेलिकम, जीवन विकास लघुवित्त, अरुणभ्याली हाइड्रोपावर र हिमालयन डिस्टलरी क्रमश: अगाडि रहे ।

प्रकाशित : फाल्गुन १२, २०७८ १५:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×