१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बेलायतका लागि नवनियुक्त नेपाली राजदूतले गरे पदबहाली

कान्तिपुर संवाददाता

लन्डन — बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बुधबार दिउँसो पदबहाली गरेका छन् ।

बेलायतका लागि नवनियुक्त नेपाली राजदूतले गरे पदबहाली

लण्डन आएकै दिन आचार्यले पदबहाली गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । उनी बेलायतका लागि २२ औँ नेपाली राजदूत हुन् । चार महिनादेखि राजदूतविहीन लन्डन दूतावासले अब नयाँ राजदूत पाएको छ ।

पदबहालीपछि आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैरआवासीय नेपाली नागरिकहरुसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी उनले भूतपूर्व ब्रिटिस गोर्खा समस्या समाधान आफ्नो प्राथमिकताको विषय रहेको समेत उनले बताएका छन् ।

व्यापार, लगानी, पर्यटन प्रवर्द्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिका अझ प्रभावकारी बनाउन दूतावासमा एकजना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोक्ने निर्णय समेत राजदूतले गरेको दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

गत अक्टोबर २४ तारिख तत्कालीन राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएयता उपनियोग प्रमुख रोशन खनालले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

राजदूत आचार्य नेपालका एक अनुभवी कूटनीतिज्ञ मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९८३ मार्चमा शाखा अधिकृतको रूपमा नेपालको परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले पछि परराष्ट्र मन्त्रालयको सचिवसम्मको जिम्मेवारी सम्हालेका थिए ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि रहिसकेका आचार्यले राष्ट्रसंघमा उपमहासचिवको जिम्मेवारी समेत सम्हालेका थिए ।

सन् २०१२ अगस्टमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले उनलाई उपमहासचिवमा नियुक्त गरेका थिए । आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा आर्थिक सल्लाहकारको भूमिकासमेत निर्वाह गरेका थिए ।

प्रकाशित : फाल्गुन १२, २०७८ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?