‘प्रसिद्धिको आवरणमा यौन शोषण’ : पललाई खोज्दै प्रहरी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रसिद्धिको आवरणमा यौन शोषण’ : पललाई खोज्दै प्रहरी

बागलुङबाट फर्कंदा गाडीमा दुर्व्यवहार गरेको, गत वर्ष पुस १० मा पोखरा, चैत ७ मा चितवन र गत वैशाख १४ मा तनहुँमा जबर्जस्ती करणी गरेको आरोप
कान्तिपुर संवाददाता

काठमाडौँ — कलाकार पल शाह (पूर्णविक्रम शाह) लाई जबर्जस्ती करणीको आरोप लागेको छ । १७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी छन् । प्रहरीले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर गरिसकेको छ । 

जाहेरीमा शाहले गत चैत ३१ मा बागलुङको गलकोटमा आयोजित महोत्सवबाट फर्किने क्रममा गाडीमा यौन दुर्व्यवहार गरेको र गत वैशाख १४ गते पोखराबाट काठमाडौं फर्किने क्रममा तनहुँमा बास बसेका बेला जबर्जस्ती करणी गरेको उल्लेख छ । त्यस्तै, छायांकनका क्रममा गत वर्ष पुस १० मा पोखरामा र चैत ७ मा चितवनमा जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरको दफा २१९ (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । पीडितले एक महिनाअघि शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिने प्रयास गरेकी थिइन् । तर, वारदातको स्थान फरक जिल्ला भएको र सोही जिल्लाको क्षेत्राधिकारको विषय बताइएपछि पीडित परिवार जाहेरी दिन तनहुँ पुगेको थियो । त्यति बेला पीडित प्रहरीकामा पुगेको सूचना पाएपछि शाहनिकट केहीले सहमति खोज्ने भन्दै पीडित परिवारलाई जाहेरी दिन निरुत्साहित गरेका थिए ।

शाहविरुद्ध प्रहरीमा जाहेरी दर्ता हुनु केही समय अघिदेखि नै उनीमाथि लागेको आरोपबारे फिल्म क्षेत्रका केही व्यक्ति जानकार देखिन्थे । तर, दुई व्यक्तिबीचको सहमति वा विवादको विषय मात्रै बनाएर नाबालिकमाथि भएको जबर्जस्ती करणी र यौन हिंसाजस्तो गम्भीर विषयलाई अनुसन्धानको दायराबाहिरै राखेर सल्टाउने प्रयास भएको थियो ।

भिडियो सम्पादनको काम गर्दागर्दै शाह अभिनयको दुनियाँमा आएका हुन् । उनले ‘नाइँ नभन्नु ल ४’, ‘शत्रुगते’, ‘जोनी जेन्टलमेन’, ‘वीरविक्रम’, ‘म यस्तो गीत गाउँछु १’ र ‘म यस्तो गीत गाउँछु २’ फिल्ममा अभिनय गरेका छन् । ‘हुतुतु’, ‘सत्यम’ र अन्य केही फिल्ममा उनी अनुबन्धित छन् । बुधबार नै उनी अभिनीत ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो आयोजना गरिएको थियो । आफूविरुद्ध उजुरी दर्ता भएपछि शाह प्रिमियर शोमा सहभागी भएनन् ।

फिल्मी दुनियाँ सहकर्मीबाट हुने यौन हिंसाको घटना नयाँ होइन । यसअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले छायांकनका क्रममा आफू यौन हिंसाको सिकार भएको सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिले कला संसारभित्र मौलाइरहेको यौन हिंसा र उत्पीडनका घटनालाई बाहिर ल्याएको थियो र त्यसबारे मुख खोल्न नयाँ पुस्ताका कलाकारले किन सकिरहेका छैनन् भन्ने बहसको सुरुवातसमेत गराएको थियो ।

चलचित्र निर्देशक एवं टिप्पणीकार मनोज पण्डित कला क्षेत्रका केही मानिसले चर्चा र सफलताको उच्च बिन्दुमा पुगेका बेला आफू सामाजिक कानुनभन्दा माथि छु भन्ने भ्रम पालिरहेको टिप्पणी गर्छन् । यस्ता मानिसले सामाजिक मूल्य र मान्यताभन्दा बाहिर गएर काम गर्ने र आफ्ना काम सबै हिसाबले समाजका निम्ति पाच्य हुन्छ भन्ने भावना राख्ने गरेको उनले बताए । उनले भने, ‘चर्चा कमाइरहेका केही मानिसमा मैले जे गरे पनि समाजले त्यसमा स्वीकार गर्छ भन्ने गलत सोच देखिन्छ ।’

कला क्षेत्रभित्र यौन हिंसाको सिकार भएकाहरूले मुख खोल्न नसक्ने विषयमाथि पनि उनले टिप्पणी गरे । केही घटनामा पीडितले घटनाबारे बोल्न सक्ने अवस्था हुँदाहुँदै पनि उचित परिस्थितिको पर्खाइमा बस्ने गरेको र कतिपयको घटनामा भने पीडकको पक्षबाट स्वार्थ समूहहरू सक्रिय भएर घटना सामसुम पार्न लागिपर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । कलाकारको वरपर रहने स्वार्थी समूहले प्रसिद्धि हासिल गरेका कलाकारको असामाजिक क्रियाकलापको व्यवस्थापन गरेर फाइदा लिने प्रवृत्ति मौलाइरहेको बताए । उनले भने, ‘प्रसिद्धि हासिल गरेकालाई गलत काममा पनि जोगाइराख्ने दलालतन्त्र रंग क्षेत्रमा व्यापक छ । पल प्रकरणमा पनि त्यही देखिन्छ ।’

आरोप प्रमाणित भए के हुन्छ ?
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धी कसुरमा पीडितको उमेरअनुसार फरक–फरक सजायको व्यवस्था छ । संहितामा पीडित १६ वर्षदेखि १८ वर्षसम्मका महिला भए १० वर्षदेखि १२ वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको छ । पीडित १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरका महिला भएको खण्डमा भने सात वर्षदेखि १० वर्षसम्म सजायको व्यवस्था छ ।

प्रकाशित : फाल्गुन १२, २०७८ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्

गठबन्धनका नेता निराश

कुलचन्द्र न्यौपाने, बबिता शर्मा

काठमाडौँ — एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने निर्णायक घडीमा गठबन्धनका दुई धार एकअर्काको अन्तिम कदमको पर्खाइमा छन् । सहयात्रीलाई गलाउने र थकाउने प्रयत्न गर्दै आएका साझेदारहरू अहिले एकअर्काप्रति निराश छन् । एमालेले प्रधानमन्त्रीलाई सहयोग गरेमा वर्तमान गठबन्धन तत्कालै टुट्ने अवस्थामा छ । 

सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीसँग प्रधानमन्त्री देउवाको एउटा मात्र अपेक्षा छ, ‘अनुमोदन प्रक्रिया बहिष्कार गरिदिए पनि सहयोग पुग्छ, पास गराउने संख्या म आफैं जुटाउँछु ।’ तर माओवादी र समाजवादीले संसद्मा उपस्थित हुने र विपक्षमा मत हाल्ने निर्णय गरिसकेका छन् । यस्तो अवस्थामा गठबन्धन टुट्ने र आफूले एमालेसँग सहकार्य गर्ने प्रधानमन्त्रीले स्पष्ट पारिसकेका छन् । यसका लागि कांग्रेसका विभिन्न नेताहरूले एमाले नेताहरूसँग संवाद जारी राखेका छन् ।

देउवाले माओवादी केन्द्रको निर्णायक धारणा बुझ्न बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणलाई खुमलटार पठाएका थिए । ‘गृहमन्त्री आउनुभएको थियो, गठबन्धन नटुटाऔं, एमसीसी पास गरौं । तपाईंहरूले सहयोगी बाटो खोज्नुस् भनेर उहाँले भन्नुभयो,’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने ।

अर्थमन्त्री जनार्दन शर्मालाई साथै राखेर कुरा गरेका दाहालले पार्टीको अडान बदल्न कठिनाइ हुने सन्देश दिएको मल्लले बताए । ‘हो, गठबन्धन नटुटाऔं, एमसीसी टेबल गर्ने कुरा थियो, गरिहाल्नुभयो । बाँकी धैर्य गरे भइहाल्यो,’ दाहालको भनाइ उद्धृत गर्दै मल्लले भने, ‘तपाईंहरू प्रक्रियातिर अगाडि बढ्नुभयो भने हामीले विपक्षमा मतदान गर्छौं ।’

लगत्तै खाँण प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे । त्यहाँ पनि सत्ता गठबन्धनको निरन्तरता हुन सक्ने वा नसक्ने विषयमा ओलीले पूर्ववत् जिज्ञासा राखेका थिए । कांग्रेसको चासो भने वर्तमान गठबन्धन भत्किएमा एमालेले देउवालाई प्रधानमन्त्री मान्छ कि मान्दैन भन्नेमा केन्द्रित छ ।

देउवाले प्रधानमन्त्री पद नै जोखिममा पुगे पनि सम्झौता अनुमोदनलाई प्राथमिकतामा राखेको कांग्रेस नेता रामचन्द्र पौडेल बताउँछन् । ‘सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरू एमसीसी स्वीकार गरेर गठबन्धन बचाउने कि विरोधमा उभिएर गठबन्धन छोड्ने एउटा रोज्नुपर्ने ठाउँमा आइपुगेका छन् । नेताहरूसँगका भेटमा पनि मैले यही कुरा भनेको छु,’ पौडेलले कान्तिपुरसँग भने, ‘उहाँहरूले एमसीसी रोज्नु भएन भने हामीहरू केपी ओलीको माग पूरा गर्नुपर्ने बाटोमा पुग्छौं । त्यतिबेला गठबन्धन भत्किन सक्ने देख्छु ।’

३२ महिनाअघि आफ्नै नेतृत्वको सरकारले एमसीसी संसद्‌बाट अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गराएका कारण पक्षमा उभिनुपर्ने नैतिक दबाब एमालेलाई छ । यद्यपि एमाले सम्झौता अनुमोदन गर्ने पक्षमा खुलेको छैन ।

‘फागुन ५ मा बालकोटमा र मंगलबार बालुवाटारमा भएका कुराकानीले दुई नेताबीच आपसी अविश्वास माझामाझ गर्ने काम भएको छ । यसले नयाँ समीकरण बनाएर अघि बढ्न सकिने ढोका खुलेको छ, तर प्रधानमन्त्री नै कुन बाटो जाने भन्नेबारे निर्णायक मोडमा पुगिसक्नुभएको छैन,’ देउवा निकट एक नेताले भन्छन्, ‘संसद्मा छलफल भएर मतदानमा जाने बेलासम्म एउटा निर्णयमा पुग्न सक्ने अवस्था बन्छ ।’

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने समीकरण बदलिने विषयमा विभिन्न संशयहरू बाहिर आए पनि ठोस रूपमा त्यस दिशामा छलफल नभएको दाबी गर्छन् । ‘अहिले प्रधानमन्त्रीज्यू सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षसँग सहमति गरेर एमसीसी पास गराउने पहलमा लाग्नुभएको छ,’ कार्कीले भने, ‘गठबन्धन भत्कने, समीकरण बदलिने कुरा अहिले बजार हल्लाका विषय मात्रै हुन् ।’

कांग्रेस नेता मीनेन्द्र रिजालले भने माओवादीले लिएका नीतिका कारण गठबन्धनलाई निरन्तरता दिन कांग्रेसलाई कठिनाइ परेको बताउँछन् । ‘एमसीसी पारित हुन्छ कि हुन्न भन्ने मात्रै अब प्रमुख रहेन । माओवादी न्यूनतम लोकतान्त्रिक मूल्यमान्यता र संसदीय अभ्यासविपरीतको दिशामा जान थालेपछि विकल्प खोज्नुपर्ने ठाउँमा हामीहरू आइपुगेका हौं,’ रिजालले कान्तिपुरसँग भने, ‘हामीले माओवादी चरित्रको संसदीय अभ्यासमा जान खोजेको होइनौं । संसदीय पद्धतिलाई नै उनीहरूले

आफ्नो चरित्रअनुसार ढाल्न खोजेपछि हामीलाई सँगै अघि बढ्न समस्या छ । मेरो जोड त गठबन्धनको विकल्प खोज्नुपर्छ भन्नेमै केन्द्रित छ ।’ नयाँ समीकरण बन्ने विषय सम्झौता संसद्मा निणायार्थ प्रस्तुत हुने घडीसम्म निर्क्योल हुने उनी बताउँछन् ।

कांग्रेसमा पनि एमालेसँग नयाँ समीकरण बनाउनुपर्ने र यही गठबन्धनलाई जोगाउनुपर्ने दुई खाले धारणा छन् । अधिकांश मन्त्रीहरू माओवादीसहितको गठबन्धनको पक्षमा छन् । एमसीसीको भारी कांग्रेस एक्लैले बोक्दा आसन्न स्थानीय निर्वाचनमा नकारात्मक असर पुग्ने तर्क गर्दै अर्का थरी नेताहरूले भने एमालेसँगको समीकरणलाई जोड दिँदै आएका छन् ।

उता माओवादी अध्यक्ष दाहालले पनि गठबन्धनको भविष्य धरापमा परेको संकेत गरिसकेका छन् । बुधबार पार्टीको वाग्मती प्रदेश कमिटीको बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने, ‘यो परिवर्तनलाई कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, सरकार टुटाउने षड्यन्त्र भइरहेको छ ।’ एमसीसी सम्झौतामा देउवाले प्रतिपक्षीसँग सहकार्य गरे गठबन्धन त्यहीबेला तोडिने सन्देश माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई दिइसकेका छन् ।

एकीकृत समाजवादीका एक नेताका अनुसार दाहाल र नेपालले गठबन्धन सुरक्षित गर्ने विषयमा प्रधानमन्त्री देउवासमक्ष तीन प्रस्ताव गरेका छन्, ‘पहिलो– एमसीसी परिमार्जनका लागि पहल गर्ने, दोस्रो– संसदीय समितिमा अध्ययन र त्यसको सिफारिसअनुसार अगाडि बढाउने र तेस्रो– निर्वाचनसम्म एमसीसीलाई पर्खने ।’ तर प्रधानमन्त्रीले एमसीसी सम्झौता अनुमोदन गर्न निर्णायक अग्रसरता लिएका छन् ।

माओवादी र एकीकृत समाजवादी दुवैले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने निर्णयसमेत लिइसकेका छन् । ‘गठबन्धन रहने वा तोडिने भन्ने अब प्रधानमन्त्रीको हातमा छ । उहाँले हरहालतमा अनुमोदन गर्छु, बरु गठबन्धन भत्काउँछु भन्नुभयो भने राजनीतिक कोर्स त्यतैतिर जाला । संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धन बचाउँछु भन्ने सोच्नुभयो भने हाम्रो चासोमा पनि ध्यान दिनुहोला,’ दाहालनिकट एक नेताले भने ।

गठबन्धनमा रहेको जसपामा भने दुई धार छ । अध्यक्ष उपेन्द्र यादवले दाहाल र नेपालले जस्तै यथास्थितिमा पास गर्न नसकिने बताएका छन् भने संघीय अध्यक्ष बाबुराम भट्टराई एमसीसी तत्काल पारित गर्ने पक्षमा छन् । जनमोर्चा भने एमसीसी खारेज हुनुपर्ने पक्षमा छ ।

प्रकाशित : फाल्गुन १२, २०७८ ०६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×