सिंहदरबार वैद्यखाना : आफैं उपचारको पर्खाइमा

कुनै समय १६० प्रकारका औषधि उत्पादन गर्ने वैद्यखाना अहिले ११ थरी औषधिमा सिमित
जडिबुटी खरिद प्रक्रिया दुई वर्षदेखि रोकिएको छ, यो वर्ष पनि खरिद नगर्ने भने आउँदो साल औषधि उत्पादन नै ठप्प हुन सक्ने देखिन्छ । 
योजनाविहिन नेतृत्वले संस्था डुबाउँदै लगेको कर्मचारीको आरोप
बुनु थारु

काठमाडौँ — करिब चार सय वर्षको इतिहास बोकेको सिंहदरबार वैद्यखाना यतिबेला आफ्नै इतिहास मेटाउने बाटोमा लम्किरहेको छ । दुई वर्षदेखि आयुर्वेदिक औषधि उत्पादनका लागि अत्यावश्यक जडिबुटीको टेन्डर नै हुनसकेको छैन । कर्मचारी आन्दोलनमा होमिएका छन् । संस्था नेतृत्वविहीन चलिरहेको छ । 

सिंहदरबार वैद्यखाना : आफैं उपचारको पर्खाइमा

देशकै प्रशासनिक केन्द्र सिंहदरबार छेउमै रहेको वैद्यखाना कसरी कमजोर बन्न पुग्यो त ? कारण धेरै छन् । तर, समाधानका लागि भने केही पनि गरिएको देखिँदैन ।

राजा प्रताप मल्लको पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको स्थापना गरिएको इतिहासले देखाउँछ । २०५२ सालबाट त्यही संस्था सिंहदरबार वैद्यखाना विकास समितिको रुपमा सञ्चालित छ । गुणस्तरीय आयुर्वेद औषधि उत्पादन गर्ने पुरानो र एकमात्र सरकारी निकाय सिंहदरबार वैद्यखाना बन्द हुने खतरामा पुगेको छ । उत्पादनमा ह्रास आउँदा वैद्यखानाकै अस्तित्व मेटिने पो हो कि भन्ने चिन्ता सरोकारवालाहरुको छ ।

उत्पादन घट्दै, घाटामा व्यापार

वैद्यखाना परिसरको गेटै बाहिर थुप्रै आयुर्वेदिक औषधि पसल छन् । जहाँ ‘सिंहदरबार वैद्यखानाको औषधि पाइन्छ’ भनेर बोर्ड झुण्ड्याइको छ । तर उपभोक्ताले खोजेको औषधि दिन नसकेको बताउँछन् २२ वर्षदेखि ध्रुवतारा आयुर्वेद चलाइरहेका विश्वराज घिमिरे । ‘यसको औषधिले बजार नपाउने कुरै छैन । च्यवनप्रास, सिलाजितको बढी माग हुन्छ । यसको विश्वसनीयता मानिसमा अझै उत्तिकै छ,’ उनले भने, ‘उत्पादन बढाए त हामीलाई पनि बेच्न गाह्रो छैन ।’ ग्राहकमा चेवनप्रास, सिलाजित, त्रिफला चूर्ण, मिनियालगायतका औषधि बढी माग हुने गरेको उनले बताए ।

कुनै समय १६० प्रकारका औषधि उत्पादन गर्ने वैद्यखानालाई अहिले आफ्नो कारखानामा कतिथरी औषधि बन्छ भनेरै पनि यकिन छैन । कसैले २० त कसैले ७० थरी औषधि बन्छ पनि भनेका छन् । एक कर्मचारीका अनुसार केवल ११ थरी औषधि उत्पादनमा खुम्चिएको छ नेपालको सरकारी वैद्यखाना । कसैले २० त कसैले ७० थरी औषधि बन्छ पनि भनेका छन् ।

वार्षिक ५ करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने वैद्यखानाको लक्ष्य केही वर्षयता ओरोलो लाग्दै गरेको देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा ५ करोड ५४ लाखको औषधि बेचेको वैद्यखानाले २०७७/७८ मा २ करोड ६८ लाख ६२ हजारको मात्रै औषधि बिक्री गरेको तथ्यांकले देखाउँछ ।

जडिबुटी खरिद प्रक्रिया दुई वर्षदेखि बढ्न नसक्दा उत्पादन र बिक्रीको दर पनि घटिरहेको छ । यो वर्ष जडिबुटी खरिद नगर्ने हो भने आउँदो साल औषधि उत्पादन नै ठप्प हुनसक्ने अवस्था देखिन्छ ।

सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष डा. बाबुराजा अमात्यले समयमा जडिबुटी खरिद गर्न नसक्दा उत्पादन घटेको बताए । ‘सिंहदरबार वैद्यखाना आयुर्वेदिक औषधि उत्पादन गर्ने, बिक्री गर्ने र नाफा समेत कमाउन सक्ने संस्था हो । उत्पादन गर्न त जडिबुटी चाहिन्छ,’ उनले भने, ‘खरिद प्रक्रिया अगाडि नै नबढेपछि समस्या भयो ।’

वैद्यखानाले सार्वजनिक खरिद ऐनअनुसार जडिबुटी खरिद गर्ने गरेको छ । खरिद गरी उत्पादनका लागि भदौमै योजना बोर्डमा पेस भएको थियो, समयमै स्वीकृत पनि भयो तर टेन्डर प्रक्रिया अघि बढ्न सकेन । ‘मैले पटकपटक घच्घच्याइरहेको छु । मन्त्रालयले पनि चासो देखाएको छ,’ अध्यक्ष अमात्यले भने, ‘एक साताभित्र प्रगति विवरणसहित बोर्डको बैठक राख्न भनेको छु ।’

अमात्यका अनुसार कतिपय जडिबुटी मौसमी हुनाले समयमै किनिएन भने सिजन सिद्धिन्छ र खरिद गर्नै पाइँदैन ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार औषधि उत्पादन गर्न ‘गुड म्यानुफ्याक्चरिङ प्रयाक्टिस’ (जीएमपी) मा जानुपर्छ । वैद्यखानामा यो लक्ष्य पनि हराएको अवस्था छ । वैद्यखाना पुरानै संरचना तथा उपकरणको भरमा जेनतेन घस्रिरहेको छ । उत्पादन र बिक्रीको व्यवस्थित योजना नबनाइँदा बजारमा भारतीय कम्पनीहरुको नै जगजगी रहेको स्पष्ट देखिन्छ ।

नेपालमा करिब ५० वटा आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग छन् । नेपाली बजारमा करिब वार्षिक ६ अर्ब रुपैयाँको आयुर्वेद औषधि कारोबार हुने नेपाल आयुर्वेद चिकित्सक संघको दाबी छ । जसमा ४ अर्ब रुपैयाँभन्दा बढी भारतीय कम्पनीकै बजार छ । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार २ अर्बभन्दा कमको बजार नेपाली कम्पनीका उत्पादनले धानेका छन् ।

‘एकतिहाई बजार पनि नेपाली उद्योगले लिनसकेको छैन,’ डा. ज्ञवालीले भने, ‘सरकारी निकायहरुले उत्पादन गर्न सकेनन् भने निजी कम्पनीलाई छाडिदिनुपर्‍यो । त्यो पनि गर्न नसकेको अवस्था छ । एकातिर औषधि अभाव हुने, अर्कोतिर भारतीय औषधिले बजार लिने । अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ ।’

हरेक वर्ष १० करोड रुपैयाँभन्दा बढी आयुर्वेद औषधि उत्पादनको क्षमता भएको वैद्यखानामा अहिले वर्षमा एक करोड रुपैयाँ बराबरको उत्पादन पनि भएको छैन । कति मात्रामा औषधि उत्पादन भइरहेको छ भन्ने तथ्यांक आफैं वैद्यखानासँग नै छैन ।

यति हुँदा पनि उत्पादन अधिकृत डा. हरिदेवप्रसाद यादव वैद्यखानाको उत्पादन क्षमता खस्किएको भन्न नमिल्ने बताउँछन् । उनले भने, ‘पोहोर साल ७ लट च्यवनप्रास बनेकामा यो पालि २४ लट बनेको छ ।’ नयाँ मेसिन किन्न पहल भइरहेको र सातै प्रदेशमा वैद्यखाना खोल्न सके राम्रो हुनको भनाइ छ ।

असन्तुष्ट कर्मचारी

साउन २४ देखि कर्मचारी कल्याण कोषको लागि आन्दोलनरत छन् । ६४ जनाको दरबन्दी रहेको वैद्यखानामा हाल ४२ जना स्थायी कर्मचारी कार्यरत छन् । सिंहदरबार वैद्यखाना विकास समिति कर्मचारी प्रशासन नियमावली २०६३ को बुँदा ९ (१५) मा कर्मचारी कल्याण कोषको व्यवस्था गरिएको छ । वैद्यखानाका योजना अधिकृत सतिश पौडेल यो कर्मचारीको व्यक्तिगत माग नभएकाले संस्थाले नै गर्नुपर्ने दायित्व भएको बताउँछन् ।

‘सुरुदेखि नै व्यवस्थित गर्दै जानुपर्ने दायित्वलाई समयमा नगर्दा पछि संस्थालाई नै बोझ हुन्छ । सञ्चय कोष वापत दिनुपर्ने ११ करोड पुगिसकेको छ,’ उनले भने, ‘कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा झन् व्यवस्थापन र बोर्डसँग आन्दोलन गर्नुपर्ने अवस्था छ ।’

अहिलेको नेतृत्वप्रति धेरैजना कर्मचारी असन्तुष्ट छन् । योजनाविहिन नेतृत्वले संस्था डुबाउँदै लगेको कर्मचारीको आरोप छ । ‘संस्थालाई कसरी लाने हो नेतृत्वमा भरपर्छ । टेन्डर हुन सकेको छैन । औषधि उत्पादन भएको छैन । खर्च र आम्दानीको लेखाजोखा नै छैन भने संस्था कसरी अघि बढ्छ ?’ एक कर्मचारीले भने, ‘म महिनौंदेखि कामविहिन छु । वैद्यखाना जिउँदो लास होइन गन्हाउने संस्था भइसक्यो । लथालिंग व्यवस्थापनले आजित भइसकेका छौँ । काम गर्न सक्ने नेतृत्व दिनुपर्यो ।’ उनले वैद्यखानाले उत्पादन गरेका औषधिहरु अतिथि सत्कारका रुपमा जथाभावी बाँडिएको पनि बताए ।

अर्का कर्मचारीले यति लामो इतिहास रहेको वैद्यखाना बचाउन नेतृत्वलाई वास्ता नै नभएको बताए । ‘उनीहरु आफ्नै स्वार्थमा चलेका छन्,’ उनले भने, ‘संस्थालाई सुधार्न होइन भएको इतिहास मेटाउनतिर लागेका छन् ।’

वैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. सबरी साहले कुनैपनि संस्था चल्न सबै कर्मचारीको सहयोग चाहिने बताए । उनले संस्था उँभो नलाग्नुमा कर्मचारीले समयमा दिइएको जिम्मेवारी पूरा नगरेको आरोप लगाए । ‘औषधि उत्पादन गरेर नाफा कमाउने संस्था हो । उत्पादनको लागि कच्चा पदार्थ चाहिन्छ । टेन्डर प्रक्रियाबाट आउँछ । दिइएको जिम्मेवारी पूरा गरिएन भने कसरी हुन्छ ?’ उनले भने, ‘मैले जति प्रयास गरेको छु, त्यो नगरेको भए वैद्यखाना बन्द हुने अवस्थामा गइसक्थ्यो ।’ यो आर्थिक वर्षको अन्तिमसम्म जडिबुटी खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न हुने उनले दाबी गरे ।

नेतृत्वविहीन संस्था

महिनौँदेखि संस्था नेतृत्वविहिन छ । केही समयअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नरदेवी आयुर्वेद अस्पतालका ११ औं तहका डा. प्रदीप केसीलाई कार्यकारी निर्देशकका रुपमा वैद्यखाना पठाएपनि आफ्नो दरबन्दी नभएको भन्दै हाजिर गरेनन् । सरकारले २०७५ सालमा वैद्यखाना समितिको बोर्ड खारेज गरेकाे थियो । तर २०७७ सालमा पुनः बोर्ड खडा गरियो ।

वैद्यखाना विकास समिति गठन आदेश २०७७ मा आयुर्वेद समूहको एघारौं तहको कर्मचारीलाई वैद्यखानाको कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी तोकिनेछ भन्ने उल्लेख छ । १० औँ तहका डा. सबरी साहले हाल वैद्यखानाको नेतृत्व गरिरहेका छन् । महिनौँदेखि प्रमुखविहिन रहेको यो संस्थाले महत्वपूर्ण निर्णय लिन सकेको छैन । देशभर आयुर्वेद समूहका ३ जना मात्र ११ औँ तहका कर्मचारी छन् । सबैले प्रमुख भएर संस्था हाँकिरहेका छन् ।

वैद्यखानाका धेरै कर्मचारी गठनादेश कार्यान्वयन गर्न नसकेमा संशोधनमा जानुपर्ने बताउँछन् । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवाली ऐतिहासिक सिंहदरबार वैद्यखाना धरासयी बन्दै गरेकोमा दुःख व्यक्त गर्छन् । उनले यो संस्थालाई दिगो र सरकारको एउटा प्रभावशाली संस्थाको रुपमा विकास गर्ने हो भने संसदबाट ऐन नै ल्याउनुपर्ने बताउँछन् । ‘गठनआदेश संशोधन गर्न सकिन्छ । ११ औँ तहका कर्मचारी पनि धेरै छैनन् । नयाँ ढंगले सोच्नुपर्छ । खुल्ला प्रतिस्पर्धाबाट ल्याउनुपर्छ,’ उनले भने ।

बोर्ड समितिका सदस्यसमेत रहेका वैकल्पिक तथा आयुर्वेद चिकित्सा विभाग, टेकुका निर्देशक डा. वासुदेव उपाध्याय सबै उद्योग आधुनिकरणमा गइसके वैद्यखाना भने पुरानै ढर्रामा चलिरहेको बताउँछन् ।

‘भित्रभित्र एकअर्कामा अविश्वास जन्मिएको हो वा सरकारी संस्थामा जे गरे पनि चल्छ भन्ने सोचले हो,’ उनले भने, ‘राम्रो टिम वर्क, मार्केटिङ र नयाँ प्रविधि अपनाइयो भने पक्कै पनि वैद्यखाना उकास्न सकिन्छ । तर यस्तै पाराले चल्ने हो भने बन्द पनि हुन सक्छ ।’

कार्यदलको सुझाव

गत पुसमा वैद्यखाना विकास समिति कर्मचारी कल्याणकोष लगायतको सुधारका लागि प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निति योजना तथा अनुगमन महाशाखाको उक्त प्रतिवेदनमा कर्मचारीहरुलाई कोषबाट भुक्तानी हुने सेवासुविधाको वास्तविक दायित्वको अनुमान गरी वार्षिक रुपमा आफ्नो आयको निश्चित रकम कोषमा जम्मा गर्दै जानुपर्ने सुझाव दिएको छ ।

त्यसैगरी वैद्यखानाको आर्थिक आयस्रोत बढाउन १५ दिनभित्र कार्ययोजना तयार गर्ने र कारखानाका लागि आवश्यक कच्चा पदार्थको आपूर्ति लगायत खरिद कार्यका लागि खरिद योजना बनाउने र खरिद प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्ने उल्लेख छ । उत्पादन क्षमता बढाउन र बजार विस्तार गर्ने रणनीति बनाउने लगायतका सुझाव प्रतिविदेनले दिएको छ । तर समयसीमा नाघिसक्दा अझै पनि केही ठोस कदम चालिएको देखिँदैन ।

प्रकाशित : फाल्गुन ११, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?