असहाय बाबुछोराको एक महिनापछि अस्पतालबाट उद्धार- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असहाय बाबुछोराको एक महिनापछि अस्पतालबाट उद्धार

मानसिक रोगी भएका छोराहरुलाई पालनपोषण गर्न नसकेर भारतमा लगेर सडकमा छाड्न लागेका बझाङ तलकोट गाउँपालिकाका ८० वर्षीय सिंग रोकायाले सहयोगी हात पाए ।
विद्या राई

काठमाडौँ — पाटन अस्पतालमा मानसिक स्वास्थ्यको उपचार गराइरहेका बझाङको तलकोट गाउँपालिकाका तीन बाबुछोराको आइतबार उद्धार भएको छ ।

विपन्न तथा असहाय परिवारका उनीहरु आफन्तको सहयोगमा बझाङबाट काठमाडौं उपचारका लागि आइपुगेपनि खर्चको अभावले अस्पतालमा बेडमा छट्पटिरहेका थिए । उनीहरुको तारकेश्वरस्थित नवजीवन परोपकार समाजले उद्दार गरेको हो ।

४५ वर्षको जेठो छोरो रामसिं र ३० वर्षको माइलो छोरो वीरसिं मानसिक रोगी भएपछि ८० वर्षीय सिंग रोकाया कुरुवा बसेका थिए । कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले सहयोग रकम जुटाउने र उद्धारमा नेतृत्व गरे ।

देश तथा विदेशमा बस्ने सहयोगी मन भएका व्यक्तिहरुबाट करिब दुई लाख रुपैयाँ सहयोग उठेको थियो । जसमध्ये २५ हजार उनीहरुलाई लुगाकपडा किन्न र औषधि उपचारमा खर्च भइसकेको दाहालले बताए । बाँकी रकमले कलंकीस्थित सूर्योदय उपचार केन्द्रमा वीरसिंहको मानसिक स्वास्थ्यको सुधारका लागि नियमित उपचारमा खर्च गरिनेछ ।

एक महिना बढी पाटन अस्पतालमा उपचार गरेर आइतबार डिस्चार्ज भएका छन् । उद्धारका लागि समाजका अध्यक्ष दाहाल गाडी लिएर आइतबार दिउसो अस्पताल गेट प्रवेश गरे । सिंग बाहिर घाम तापेर बसिरहेका थिए । दाहाललाई देख्ने बित्तिकै उनी खुसीले भक्कानिए, ‘ओहो ! सर आउनुभएछ, भगवान् भेटेझैं भएको छ ।’ छोराहरुको डिस्चार्जका लागि तयारी भइरहेको जानकारी गराउदै दुवैजना अस्पतालभित्र छिरे । सिंगले जेब्रा झोलामा लुगा प्याकिङ गरे । अस्पतालले डिस्चार्जको पत्र थमायो । तीनै जनालाई गाडीमा राखेर दाहाल समाजको आश्रमस्थल लागे । जेठो छोरो र सिंगलाई आश्रममा बस्ने व्यवस्था मिलाएको छ । आश्रममा बेसहरा, असहाय व्यक्तिहरु ३५ जनालाई आश्रय दिइएको छ । कान्छो मानसिक सन्तुलन अझै पनि निको नभइसकेको हुँदा थप उपचारका लागि कलंकीमा पुन:स्थापना गरिएको छ । पहिलो चरणमा छ महिना उपचार गराइने र मासिक १५ हजार खर्च लाग्नेछ ।

‘जेठोचाहिँ बुबा जता जानुहुन्छ त्यतै जाने गर्नुहुन्छ, कान्छो अलि ‘एग्रेसिभ’ हुनुहुन्छ, त्यही भएर छुट्टाछुट्टै राख्न लागेका हौं, ठिक भएपछि उहाँहरु यतै बस्न चाहानुभए आश्रममै राख्छौ, हैन घरै गएर बस्छौं भन्नुभए पनि उतै पठाउँछौं,’ दाहालले भने । आफूले स्याहारसुसार पाउनुपर्ने उमेरमा उल्टै छोराहरुको रेखदेख गरिरहेका सिंग सहयोग पाएपछि खुसी छन् । ‘बुढेसकालमा पनि छोराहरुको जिम्मेवारी लिनुपर्ने भएको थियो, म पनि केही गर्न सक्दिन, सहयोगी हातहरुको कृपाले काम चलेको छ, उपचार पायौं,’ उनले भने ।

जेठो छोरालाई १० वर्षदेखि नै मानसिक रोग देखिएको थियो । त्यतिबेला उनीहरु सपरिवारै भारतको नैनीतालमा गाइपालन तथा तरकारी खेती गरेर बस्थे । बझाङमा खेतीपाती गरेर जीविका चलाउन गाह्रो भएकाले सिंगले परिवारलाई ४० वर्षअघि नै नैनीताल लिएर गएका थिए । चार छोरा र चार छोरीहरु मध्ये जेठोमात्रै नेपालमा जन्मिएका हुन् । अरु सात सन्तानको जन्म उतै भयो । सबै सन्तानहरुलाई उतै हुर्काए । लेखपढ गराए । छोरीहरुको विवाह गराए । उनीहरु पाँच वर्ष अघिसम्म नैनीतालमै थिए । सिंग र उनकी ७५ बर्षिया पत्नि वृद्धावृद्धा भए । काम गरेर परिवार पाल्न नसक्ने भएपछि बझाङ घर फर्किए । साइलो र कान्छो छोराले घर फर्कन चाहेनन् । पत्निले पहाड पुगेर बस्न नसक्ने भन्दै कञ्चनपुरमा छोरीकै घरमा बस्ने निधो गरिन् ।

सिंगले जेठो र माइलो छोरो लिएर गाउँ पुगे । चार दशक अघि छोडेको घर भत्किएर नामोनिशाना थिएन । जग्गाजमिन कहाँ कति छन् अत्तोपत्तो छैन । सुरुका केही समय आफन्तको घरमा आश्रय लिए । सधैं आफन्तकै घरमा बस्न असहज भएपछि तलकोट बजारको पाटीपौवा, विद्यालय हाताभित्र बस्न थाले । मागेर ल्याएको, अरुले दया गरेर दिएको खानेकुरा खान्थे । कहिले भोकै खुल्ला आकाशमुनि सुते । मनकारीहरुले दिएको लुगाकपडा लगाउँथे । उनीहरुको घर भन्नु नै पाटीपौवा, खुल्ला आकाश थियो, परिवार भनेकै वरिपरिका गाउँले थिए ।

जेठो छोरो सधैं एकोहोरो हुने, टोलाउने गर्थे । मान्छेले बोलाए एक वाक्य बोलिदिन्थे । जेठोको मानसिक स्वास्थ्य ठिक नभएपनि कान्छोमा समस्या थिएन । जब उनीहरु भारतबाट गाउँ फर्किए र घरविहिन भएर खुल्ला आकाशमुनि बस्न थाले । बेवारिसे भएर बस्नुपरेकाले मानिसहरुले गिज्याउँथे । हेला गर्थे । विस्तारै कान्छो छोरामा पनि समस्या देखिन थाल्यो । पछिल्लो समयमा गाउँका कुखुरा चोर्ने, भाडाकुँडा फाल्ने, वृद्ध बुबालाई कुट्ने, अभद्र व्यवहार गर्न थालेपछि गाउँले अन्यत्रै जान दबाब दिन थाले ।

आफ्नै घर बस्नुपर्‍यो कि त ठाउँ छाडेर जानुपर्‍यो भन्ने दबाब भएपछि सिंगले एक महिनाअघि गाउँपालिकामा घरविहिनलाई सहयोगको माग गर्दै निवेदन दिए । गाउँपालिकाले सुनुवाइ नै गरेन । आफूसित आयस्रोत नभएकाले उनीहरु घर बनाएर बस्न सक्दैन्थे । ठाउँ छोड्नुपर्ने निरन्तर दबाब आउन थालेपछि सिंगले आफ्ना छोराहरुलाई भारतमा लगेर सडकमा छोडिदिने जानकारी गराए ।

पुसको दोस्रो साता उनी छोराहरु लिएर भारत लागे । छोड्न लग्दै गर्दा कञ्चनपुरमा छोरीको घर पसेका थिए । उनले गाउँमा आफन्तहरुलाई खबर गरिन् । केही महिनायता काठमाडौं बसेर शिक्षक सेवा तयारी गरिरहेका तलकोटको लोकण्ड गाउँमा कैलाश आधारभूत विद्यालयका लालबहादुर शिक्षक रोकायाले यो खबर पाएपछि उपचारका लागि राजधानीमा उद्धार गरेर ल्याएका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले तिनुपर्ने ऋण १७ खर्ब २८ अर्ब पुग्यो

जीडीपी अनुपातमा २२.२४% विदेशी ऋण
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको ऋण १७ खर्ब २८ अर्ब ९३ करोड ९३ हजार रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल सरकारले तिर्नुपर्ने कुल ऋण रकम कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ४०.३९ प्रतिशत पुगेको छ । सरकारको कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड १७ लाख र बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड ८३ लाख ९३ हजार ६७१ रुपैयाँ रहेको छ ।

गत असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब रुपैयाँ बराबर रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा यस्तो ऋण घटेर १७ खर्ब २३ अर्ब १७ करोड रुपैयाँमा कायम भएको थियो । फेरि दोस्रो त्रैमासिक अवधिमा ऋण रकम ५ अर्ब ७५ करोड १६ लाख रुपैयाँले बढेको छ । गत असोज मसान्तको तुलनामा पुस मसान्तसम्मको सार्वजनिक ऋण ०.३३ प्रतिशतले बढी हो । यो अवधिमा नेपाल सरकारले बाह्य ऋण ०.०३ प्रतिशतले घटाएको छ भने आन्तरिक ऋण ०.७३ प्रतिशतले बढाएको छ ।

अहिले जीडीपीको तुलनामा आन्तरिक ऋण १८.२८ प्रतिशत र बाह्य ऋण २२.२४ प्रतिशत रहेको पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । नेपालले हालसम्म लिएको कुल ऋण रकममध्ये ८७.३७ प्रतिशत बहुपक्षीय र १२.६३ प्रतिशत द्विपक्षीय रहेको पनि कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार अहिले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । सार्वजनिक ऋणलाई जनसंख्याको अनुपातसँग तुलना गर्दा अहिले प्रति नेपालीको टाउकोमा ५९ हजार २२५ रुपैयाँ ऋण छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले करिब साढे ६४ अर्ब रुपैयाँ बराबर ऋण तिरेको छ । आन्तरिक तथा बाह्य ऋणको साँवा र ब्याजका रुपमा उक्त रकम तिरिएको अर्थ मन्त्रालयले जनाएको छ । यसरी तिरिएको रकममध्ये आन्तरिक ऋणतर्फ ४८ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी भएको अर्थ मन्त्रालयले जनाएको छ । जसमा साँवातर्फ २९ अर्ब र ब्याजतर्फ १९ अर्ब ८१ करोड रुपैयाँ तिरिएको छ । त्यस्तै, बाह्य ऋणको साँवा र ब्याजका रुपमा १५ अर्ब ५३ रुपैयाँ रुपैयाँ सरकारले तिरेको छ ।



प्रकाशित : फाल्गुन ९, २०७८ १८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×