कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आर्थिक अभावले पढाइ छाड्दै विद्यार्थी

‘विद्यालय आउजाउ गर्न दिनहुँ ८ घण्टासम्म हिँड्नुपर्छ, डेरा बस्न नसक्नेले बीचमै पढाइ छाड्ने गरेका छन्’
माधव अर्याल

ज्यामिरे, पाल्पा — निस्दी गाउँपालिका–७, रोल्लावासकी यममाया कुँवर मगरले कक्षा ८ सम्म गाउँकै विद्यालयमा पढिन् । माध्यमिक विद्यालय पढ्न छिमेकी जिल्ला नवलपरासीको बेनीमणिपुरस्थित दीपेन्द्र मावि जानुपर्छ । जिल्लाकै ज्यामिरेस्थित जनप्रिय मावि आउजाउ गर्न हरेक दिन ८ घण्टा हिँड्नुपर्छ ।

आर्थिक अभावले पढाइ छाड्दै विद्यार्थी

आर्थिक अभाव र पारिवारिक कारणले उनी विद्यालय जान सकिनन् । कक्षा ९ को पढाइ रोकियो । ‘विद्यालय टाढा भएपछि पढ्न धेरै समस्या छ,’ उनले भनिन्, ‘घरको आर्थिक अवस्था कमजोर भएकाले पनि बाँकी पढ्न सकिएन ।’

ज्यामिरे, बेभोकेका सालबहादुर सारु (घर्ती) ले पनि कक्षा ८ पढेपछि पढाइलाई निरन्तरता दिन सकेनन् । घरको आर्थिक अभावले डेरा नै लिएर पढ्न जान सकेनन् । ९ कक्षा पढ्न नसकेपछि उनी अहिले भारतमा ज्याला–मजदुरी गर्छन् । बेभोकेकै गनी आलेको अवस्था पनि उस्तै छ । कक्षा ८ सम्म गाउँकै प्रगति आधारभूत विद्यालयमा पढे पनि त्यसपछि कहाँ पढ्ने भन्ने उनलाई चिन्ता छ । ‘हरेक वर्ष यही समस्याले विद्यार्थीले पढाइलाई निरन्तरता दिन सक्दैनन्,’ उक्त विद्यालयका प्रधानाध्यापक हेमबहादुर थापाले भने । ज्यामिरेको माध्यमिक विद्यालय टाढा पर्छ । छिमेकी जिल्ला गए पनि डेरा बस्नुपर्छ । जसले गर्दा धेरैले पढाइलाई बीचमै टुंग्याउनुपर्ने बाध्यता छ ।

सरकारले वडा–वडामा विद्यालय खोल्ने अनुमति दिएको छ । विद्यार्थीअनुसार विद्यालय पनि छन् । ‘भौगोलिक विकटता भएपछि के गर्नु ?’ प्रधानाध्यापक थापाले भने, ‘हाम्रो डाँडा र अरुणखोला क्षेत्रका अधिकांश विद्यार्थीको नियति यस्तै छ । पढाइ रोकिएपछि छात्राले छिट्टै विवाह गर्ने, छात्र ज्याला मजदुरीमा हिँड्ने र भारत पलायन हुने समस्या बढ्दो छ ।’

ज्यामिरेको रोल्लावास, बेभोके, मुढावास, पिपयाङ्दी, झर्ल्याङ्दी, मलग्राम, लाभेदी, लाभेटारलगायत गाउँका सयभन्दा बढी विद्यार्थीलाई निमावि पढ्दै समस्या छ । यहाँका अधिकांश वडाका विद्यार्थीले स्कुल जाने बेला झोलामा कापी–किताबसँगै खाजा र उज्यालोको पनि व्यवस्था गर्नुपर्छ । कतिपय विद्यार्थी बिहानै ७ बजे हिँड्नुपर्ने अवस्था छ, उनीहरू बेलुकी ७ बजेपछि मात्रै घर पुग्छन् । सेरोदेवी प्रावि मठेखर्क ज्यामिरेका प्रधानाध्यापक सन्तोष भट्टराईका अनुसार कक्षा ६ मा भर्ना हुने ससाना बालबालिका दिनहुँ ४ घण्टाभन्दा बढी पैदल हिँड्न बाध्य छन् । कक्षा १० मा पुग्दा आधाभन्दा बढीले विद्यालय छाड्ने गरेको उनले बताए । ‘नजिकमा माध्यमिक विद्यालय छैन,’ उनले भने, ‘अरुणखोला क्षेत्रमा बस्नेहरूका लागि आधारभूत विद्यालय पनि टाढै छ ।’

पढाउन मन हुँदै गर्दा पनि आर्थिक अवस्थाले समस्या भएको मलग्रामका अभिभावक गमबहादुर सारुले बताए । ‘डेरा लिनुपर्छ कि त आफन्त खोज्नुपर्छ,’ उनले भने । कक्षा ६ र ७ पढ्ने साना विद्यार्थीलाई बढी समस्या छ । रोल्लावासका ८० र बेभोकेका ६४ घर–परिवारका बालबालिकालाई कक्षा ८ पछि डेरा नगरी सुखै छैन । उनीहरू बेँसीको पाई (अरुणखोला) बस्ने र त्यहींबाट पढ्न हिँड्ने गर्छन् । कतिपयले दीपेन्द्र मावि सर्दी पढ्न आफन्तकहाँ वा डेरा बस्नुपर्ने सेरोदेवी प्राविकी शिक्षिका भूमिसरा गाहाले बताइन् ।

सामान्य परिवारका बासिन्दा खोरिया फाडेर अन्न उब्जनी गरी गुजारा चलाउने अवस्थाका हुन् । ज्यामिरे, नवलपरासीसँग जोडिएको सदरमुकामबाट ७० किलोमिटर पूर्व–दक्षिणमा अवस्थित छ । यहाँका विद्यार्थी कक्षा ५ सम्म गाउँकै प्राथमिक विद्यालयमा पढ्छन् । त्यसपछि छहजार बतासामा रहेको जनप्रिय मावि वा नवलपरासीको सर्दी जानुपर्ने बाध्यता रहेको जनप्रिय माविका सहायक प्रधानाध्यापक यमबहादुर आलेले बताए । ‘यही विद्यालय आउन पनि ४ घण्टा हिँड्नुपर्छ,’ उनले भने, ‘जसले गर्दा पढाइ छाड्न बाध्य छन् ।’

यहाँका गाउँबाट कक्षा ६ मा भर्ना हुन बर्सेनि ३० देखि ४० जना अन्य विद्यालयमा जानुपर्छ । परीक्षाका बेलामा भने निकै संकट आइपर्ने विद्यार्थीको गुनासो छ । ‘घरमा पनि पढ्न भ्याइँदैन,’ विद्यार्थी विनोद सारुले भने, ‘अनि, नतिजा पनि कसरी राम्रो आओस् ।’ बीच बाटोमा जंगल र दुई–तीन ठाउँमा खोला तर्नुपर्ने विद्यार्थीलाई उनले बताए । ज्यामिरे ठूलो भूक्षेत्रमा फैलिएको छ । भएको मावि पनि अपायकमा भएकाले विद्यार्थीलाई समस्या भएको वडाध्यक्ष गगनसिं सोतीले बताए । ‘दुर्गमको वडा भएकाले यहाँका विद्यार्थीले कष्ट गरेरै पढेका छन्,’ उनले भने, ‘कतिपयलाई भने समस्या नै छ । यसमा सरोकारवाला सबैको सहयोग जरुरी छ ।’

प्रकाशित : फाल्गुन ९, २०७८ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?