१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फल्चा पुनर्निर्माणको सट्टा वडा कार्यालय

पुरातत्त्व विभागद्वारा निर्माण कार्य रोक्न पत्राचार, अध्ययन गर्न प्राविधिक टोली
दामोदर न्यौपाने

काठमाडौँ — काठमाडौं महानगरपालिकाले कानुनविपरीत ज्याठास्थित पुरातात्त्विक महत्त्वको छुस्या महाविहारको जग्गामा वडा कार्यालय भवन बनाउन सुरु गरेको छ । महानगरको वडा २७ को भवन बनाउन शिलान्यास गरिएको स्थानमा महाविहारअन्तर्गतको वयलाछी फल्चा थियो ।

फल्चा पुनर्निर्माणको सट्टा वडा कार्यालय

तर‚ स्थानीयले भत्किएको फल्चा पुनर्निर्माणको माग गर्दै आएकामा महानगरले भने वडा कार्यालय भवन बनाउन लागेको हो । ‘हामीलाई वडा कार्यालय भवन बनाउन लागिएको जानकारीसमेत दिइएन,’ छुस्या बहाः सर्वसंघका महासचिव त्रिरत्न वज्राचार्यले भने, ‘शिलान्यास गर्न आएपछि पो थाहा भयो ।’

महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, वडाध्यक्ष चिनियामान वज्राचार्यले गत माघ २३ मा भवन शिलान्यास गरेका थिए । महानगरको अनुदानमा बन्न लागेको भवन ५ तले हुनेछ । महाविहारछेउको कित्ता नम्बर २१३१ को ४ आना जग्गामा उक्त भवन बन्न लागेको हो । वडाध्यक्ष वज्राचार्यका अनुसार ५ तलामध्ये २ तला मात्र वडा कार्यालयका लागि प्रयोग हुनेछ । बाँकी ३ तलामा पसल, सभाहल तथा एक तला ज्याठा सामुदायिक क्लबलाई दिइनेछ । भवन बनाउन करिब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा २ करोड ८० लाख ८१ हजार रुपैयाँमा प्रतिष्ठा–रमिता–अम्बुजा जेभीले ठेक्का लिएको उनले बताए ।

भवनको बाहिरी भाग नेपाली वास्तुकला झल्कने गरी डिजाइन गरिएको महानगरका इन्जिनियर अमित वज्राचार्यले बताए । उनका अनुसार भवन लिफ्ट, र्‍याम्पसहित ज्येष्ठ नागरिक र अपांगमैत्री रहनेछ । २०७९ पुस मसान्तसम्म निर्माण सक्ने गरी सम्झौता भएको उनले बताए ।

पुरातात्त्विक स्थलमा भवनलगायत संरचना बनाउन पुरातत्त्व विभागको अनुमति लिनुपर्ने व्यवस्था प्राचीन स्मारक संरक्षण ऐनले गरेको छ । तर, महानगरले विभागको स्वीकृति नलिएको विभागका प्रवक्ता रामबहादुर थापाले जानकारी दिए । ‘पुरातात्त्विक स्थलमा संरचना बनेको जानकारी आएपछि त्यसको स्थलगत अध्ययन गर्न प्राविधिक टोली पठाएका छौं,’ कुँवरले भने, ‘प्राविधिक टोलीको प्रतिवेदन अध्ययन गरेर के गर्ने निर्णय हुन्छ ।’

विभागले तत्काललाई काम रोक्न पत्राचारसमेत गरेको छ । ‘उक्त कार्य कसले गर्न लागेको हो ? के कस्तो संरचना निर्माण गर्न लागेको हो ?,’ पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘उक्त वयलाछी आफैं पनि सांस्कृतिक महत्त्वको स्थान भएको र ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वको विहारसँगै निर्माण हुने संरचनाले सम्पदाको महत्त्वमा के–कस्तो असर पर्छ या पर्दैन ? उक्त कार्य गर्न वडा कार्यालयसँग समन्वय गरिएको छ कि छैन ? यथाशीघ्र विभागलाई जानकारी गराउनु हुन एवं उल्लिखित विषयमा स्पष्ट नभएसम्मका लागि निर्माण कार्यमा रोक लगाउन अनुरोध गर्दछु ।’

भवन निर्माण रोकेर उक्त स्थानमा उत्खननको माग गर्दै स्थानीयवासीले पुरातत्त्व विभागमा निवेदनसमेत दिएका छन् । ‘वयलाछी पाटीले ओगटेको स्थानमा वडाको कार्यालय भवन निर्माण गर्ने वा अरू कुनै पनि आधुनिक संरचना निर्माण गर्नु भनेको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक स्थानलाई मास्नु हो । प्राचीन स्मारक संरक्षण ऐनअनुसार आपराधिक र दण्डनीय काम हो,’ निवेदनमा छ, ‘यस्तो कार्यको हामी घोर विरोध गर्छौं ।’ स्थानीयवासीले पुरातात्त्विक महत्त्व बोकेको गणेश, विष्णु, शिवलिंगलगायत पौराणिक महत्त्व रहेको छुस्या बहाः र सँगैको खाली क्षेत्रलाई संरक्षण गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

वडाध्यक्ष वज्राचार्यले भने महाविहारको नभई ज्याठा सामुदायिक क्लबको जग्गामा भवन बनाउन लागेको दाबी गरे । ‘हामीसँग जग्गा छ, भवन बनाएर बस्नुस् भनेपछि काम सुरु गरेका हौं,’ उनले भने, ‘क्लबको जग्गामा भवन बनाउँदा अरूलाई केको आपत्ति ? आफूले गरे ठीक, अरूले गरे बेठीक भन्ने मानसिकता राख्नेहरूले विरोध गरेका हुन् । पहिला किन चुप लागेको ? अहिले आएर विरोध गर्नुको अर्थ छैन ।’

वज्राचार्यले क्लबको जग्गामा भवन बनाउन लागिएको दाबी गरे पनि मालपोत कार्यालयको फिल्डबुकमा भने यो कित्ताको जग्गाधनीको महल खाली छ । ‘उपत्यकाका अधिकांश महाविहारका जग्गा दर्ता नै भएका छैनन् । यहाँको पनि दर्ता नभएर खाली नै छाडिएको छ,’ सर्वसंघका सचिव वज्राचार्यले भने, ‘यहाँ पनि भएको यस्तै हो ।’

महाविहारसँगै रहेको शिलालेखमा पनि यो स्थानमा फल्चा रहेको उल्लेख छ । नेपाल संवत् ७८८ को शिलालेखमा लोकहितका लागि धर्मशाला बनाएको र लोकेश्वर देवताको प्राणप्रतिष्ठा गरी त्यो स्थान गुणाकर महाविहार (छुस्या बहाः) लाई संकल्प गरेर दिएको उल्लेख छ । उक्त शिलालेख ध्वाकाबहाः बस्ने गुणज्योति वज्राचार्य र श्रीमतीहरू पद्मनिल, लक्ष्मी, हेरमती, जेठो छोरा धनसिंह, बुहारी मनाहरी, नाति परिखदेव, नातिनी बुहारी धनवती, पनाति रत्नवती, बहिनी शीलावतीहरूले प्रताप मल्लको पालामा बनाएका हुन् ।

काठको फल्याक राखेर बनाइएको उल्लेख गर्दै शिलालेखमा फल्चाको महत्त्व पनि दर्शाइएको छ । फल्चाको संरक्षण र सरसफाइ गरेका हजार वटा विहार बनाई यज्ञ गरेको जतिकै पुण्य मिल्ने उल्लेखसमेत छ । तर, मर्मतसम्भार नहुँदा फल्चा भत्कियो । फल्चा भत्किएपछि त्योसँगै रहेको चैत्य बिग्रने डरले २०२९ मा चैत्य, शिलालेखलगायत विहारभित्र राखिएको थियो । सम्पदा संरक्षण अभियानकर्मी आलोकसिद्धि तुलाधरका अनुसार छुस्या महाविहारछेउको चैत्य शिखरशैलीको छ । यस्ता चैत्य काठमाडौंमा ३ वटा मात्र छन् ।

प्राचीन नेपाली वास्तुकलामा बनेको यो विहार मल्लकालमा बनेको हो । यहाँ मल्लकालीन काष्ठकलाको नमुना देखिन्छ । रत्न वज्राचार्यले ‘द गुनाकर विहार’ पुस्तकमा उल्लेख गरेअनुसार यो विहारको निर्माण विसं १७०६ मा सुरु भएको थियो । यसको उद्घाटन भने निर्माण सम्पन्न भएको १८ वर्षपछि प्रताप मल्लले गरेका थिए । विसं १७५६ र २०५८ मा गरी दुई पटक विहारको जीर्णोद्धार भएको अभिलेख छ । दुईतले विहारमा प्रवेशद्वार दायाँबायाँ सिंहका मूर्ति छन् । आकर्षक देखिने चारकुने विहारको बीचमा खुला चोक छ । चोकको बीचमा चैत्य छ । शिखर शैलीमा निर्मित प्रस्तरको मन्दिर पनि छ त्यहाँ । चोकमा अवलोकितेश्वर, कुवेश्वर, सुखावती लोकेश्वर, सारीपुत्र र मौद्गल्यानका मूर्ति छन् । यहाँ बौद्ध परम्पराअनुसार पूजा गरिन्छ ।

काठमाडौंको मुख्य जात्रा मानिने इन्द्रजात्रामा समेत यहाँको खुला ठाउँ प्रयोग हुँदै आएको छ । परिवारका दिवंगत सदस्यको सम्झनामा प्राचीन सहरको बाहिरी क्षेत्र हुँदै विभिन्न ठाउँमा परिक्रमा गर्ने गरिन्छ । त्यही क्रममा वडा कार्यालय बनाउन लागिएको क्षेत्र विश्रामका लागि प्रयोग हुन्छ । ‘यो खुला क्षेत्रमा जाडोमा घाम ताप्न प्रयोग हुन्छ । मान्छे मर्दा यहीं जम्मा हुन्छन् । सुत्केरी यहीं घाम तापेर तेल लगाउँछन्,’ ज्याठाका अच्युत रत्न वज्राचार्यले भने, ‘यस्तो महत्त्वपूर्ण ठाउँ हामीलाई पत्तै नदिई मास्न खोजियो ।’

२०७४ मा महानगरका सबै ३२ वटै वडा कार्यालय भवन बनाउने घोषणा गरेका थिए प्रमुख शाक्यले । तर सबै भवन बनिसकेका छैनन् । सबै भवन नेपाली वास्तुकला झल्कने गरी एकै खालको बनाउने गरी डिजाइन गरिएको बताइएको छ । तर, मुखले नेपाली वास्तुकला भन्ने तर पुरातात्त्विक सम्पदा मास्ने काम गरिएको सम्पदा संरक्षण अभियानकर्मीहरूको भनाइ छ । ‘नाराचाहिँ संरक्षणको दिने तर काम भने उल्टो गर्ने,’ सम्पदा संरक्षण अभियानकर्मी तुलाधारले भने, ‘रक्षक नै भक्षक बन्ने ? यही कारण वडाका बाँकी भवन बन्न नसकेका हुन् । सम्पदा र सार्वजनिक ठाउँ ताकेपछि कसले बन्न दिन्छ त ?’

प्रकाशित : फाल्गुन ९, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?