१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आचार्यको नेतृत्वमा मदन भण्डारी स्पोर्टस् एकेडेमीको नयाँ केन्द्रीय समिति चयन

अमृता अनमोल

काठमाडौँ — मदन भण्डारी स्पोर्टस् एकेडेमीको प्रथम राष्ट्रिय महाधिवेशनले ध्रुव आचार्यको अध्यक्षतामा २ सय २५ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।

आचार्यको नेतृत्वमा मदन भण्डारी स्पोर्टस् एकेडेमीको नयाँ केन्द्रीय समिति चयन

बुटवलका आचार्य यसअघि एकेडेमीका उपाध्यक्ष थिए । अधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय समितिसमेत निर्विरोध चयन गरेको छ । समितिको ८ जना उपाध्यक्षमा राजेश बज्राचार्य, जितेन्द्र श्रेष्ठ, महेन्द्र राई, राजेश गुरुङ, तेज विक्रम बस्नेत, तुल्सी मैनाली, शशीकुमार बर्मा र देवबहादुर कुंवर चयन भएका छन् । महासचिव पुरेन्द्र विक्रम लाखें एवं उपमहासचिवमा मदन उप्रेती र सुवर्णा श्रेष्ण छनोट भएका छन् ।

सचिवमा मिलन राना, देवी वाग्ले, चन्द्र वन्दना राई, डा. शक्ति बस्नेत, सुजु मल्ल, मन्दिरा बस्नेत, अन्जना शिवाकोटी, सन्जु महर्जन र ऋषिकेश श्रेष्ठ चयन भएका छन् । निर्वाचनका लागि एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवालको अध्यक्षतामा दीपक ज्ञवाली र बलबहादुर आचार्य सदस्य रहेको अध्यक्ष मण्डल गठन भएको थियो ।

पूर्व युवा तथा खेलकुद मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले महाधिवेशनको उद्घाटन गर्दै व्यक्तिको अनुशाशनसँगै राष्ट्रको विकास र संवृद्धिका लागि खेल आवश्यक रहेको बताए । अस्थीर राजनीतिका कारण देशले खेलकुदको भरपुर विकास गर्न नसकेको भन्दै उनले त्यसको परिपूर्ति मदन भण्डारी एकेडेमीले गर्न सक्ने बताएका थिए ।

७ वटै प्रदेशमा स्पोर्टस् एकेडेमी स्थापनादेखि खेलकुद पूर्वाधार विकासमा एमाले सरकारले महत्वपूर्ण भूमिका खेले पनि स्थायी सरकार नहुँदा त्यसलाई संस्थागत गर्न नसकिएको उनको भनाइ थियो ।

नवनिर्वाचित अध्यक्ष ध्रुव आचार्यले एकेडेमीको प्रदेश, जिल्ला हुँदै ७ सय ५३ वटै स्थानीय तहमा कमिटी गठन गर्ने योजना बनाएको बताए । पालिकास्तरदेखि नयाँ खेलाडी उत्पादन गर्ने, खेलकुदमा लागेकालाई प्रशिक्षित गरेर सबल बनाउने र व्यवसायिक बनाउन भूमिका खेल्ने उनले बताए । एकेडेमीले आउँदो खेलकुद दिवसको अवसरमा बृहत राष्ट्रिय खेलकुद कार्यक्रम गर्ने पनि उनको प्रतिबद्धता थियो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवालले खेलकुदलाई खेलाडी मात्रका लागि नभई आम नागरिकको स्वास्थ्य, मनोरन्जन र विकाससँग जोड्न आग्रह गरे । सबैका लागि खेल आवश्यक रहेको भन्दै उनले स्थानीय स्रोत साधनको प्रयोग गरेर खेलकुदको विकासमा युवा जोस र जाँगर लगाउनुपर्ने बताए ।

मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले खेलकुदको विकाससँगै जनताको बहुदलीय जनवादलाई नागरिकमाझ पुर्‍याउन स्पोर्टस् एकेडेमीले ठूलो भूमिका खेलेको बताइन् । उनले कोरोना संक्रमणका कारण सुस्ताएका खेल गतिविधि पुन अगाडि बढाउन एकेडेमीलाई थप सक्रिय हुन आग्रह गरिन् ।

मदन भण्डारी वौद्धिक मञ्चका अध्यक्ष कुलबहादुर आचार्यले स्पोर्टस् एकेडेमीले खेल गतिविधिसँगै र जनताको बहुदलीय जनवादलाई फैलाउन काम गर्नुपर्ने बताए । मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले युवा जोस र जागरलाई खेलकुदमा लगाउन सके अनुशाशित युवा उत्पादन हुने र देशमा समृद्धि हुने बताए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी २०६६ पुस १७ मा स्थापना भएको हो । तत्कालीन एमाले महासचिव मदन भण्डारीको स्मृतिमा उनको भावना समेट्ने गरी मदन भण्डारी फाउण्डेशनले एकेडेमी स्थापना गरेको थियो। स्थापनापछि यसले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल प्रतियोगिता र खेल गतिविधि गरिरहेको छ । यसअघि दुई अध्यक्ष राष्ट्रिय भेलामार्फत चयन भएका थिए । स्थापनाको १३ औं वर्षमा बल्ल एकेडेमीले राष्ट्रिय महाधिवेशन आयोजना गरेको हो ।

खेलाडी तथा पदाधिकारी सम्मानित

एकेडेमीले खेलकुदको संरक्षण र विकासमा भूमिका खेलेको भन्दै विभिन्न खेलाडी तथा खेल संरक्षकहरूलाई सम्मान समेत गरेको छ ।

खेलाडीका रुपमा करातेका राष्ट्रिय खेलाडी राजन पाइजा र संस्थापक महासचिव तथा कराते खेलाडी पुरेन्द्र विक्रम लाखेलाई सम्मान गरेको छ ।

खेलकुदको विकास र संरक्षणमा सहयोग गरेको भन्दै पूर्वयुवा तथा खेलकुद मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल, मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारी, मदन भण्डारी स्पोर्टस् एकेडेमीका संस्थापक अध्यक्ष रमेश सिलवाल र निवर्तमान अध्यक्ष विनोद श्रेष्ठलाई सम्मान गरेको छ ।


प्रकाशित : फाल्गुन ८, २०७८ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?