१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जेष्ठ नागरिक र अशक्तलाई मतदान केन्द्रमा विशेष व्यवस्था

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा ज्येष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिलाका लागि विशेष व्यवस्था तथा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जेष्ठ नागरिक र अशक्तलाई मतदान केन्द्रमा विशेष व्यवस्था

नेपाल अपांग महिला संघका पदाधिकारीहरूसँग आइतबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी स्थानीय तहको निर्वाचनको मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई सहज हुने व्यवस्था गर्ने बताए ।

निर्वाचन आयोगले कोही पनि मतदाता निर्वाचनमा मतदान गर्न नछुटून भन्नेमा सचेत रहेको थपलियाले बताए । साथै सबै मतदान स्थलहरू अपांगमैत्री हुने गरी आवश्यक नीतिगत व्यवस्था गरिएको र त्यो भए/नभएको परीक्षण गर्नका लागि अनुगमन गर्ने पनि बताए ।

उनले भने, ‘मतदानको विषय भनेको मानव अधिकारको विषय हो । हामी चाहन्छौं मतदानमा कोही छुट्नु हुँदैन । मतदातामा नामावलीमा कोही छुट्नु हुन्न । यो नछुट्नका लागि हामीले कसरी हाम्रो क्रियाकलाप संचालन गर्नुपर्छ ? त्यसका लागि सरोकारवाला संस्थासँगको सहयोगमा काम गर्ने हो । त्यो काममा लागि अहिले हामीले सबै मतदान स्थल करिब ११ हजार रहेका छन् । ती सबै मतदान स्थल अपांगमैत्री हुनुपर्छ । महिलामैत्री हुनुपर्छ । ज्येष्ठ नागरिकलाई सहज हुने हुनुपर्छ । सुत्केरी र गर्भवती महिलाका लागि विशेष व्यवस्था गरिनु पर्छ भनेर नीतिगत रुपमा व्यवस्था गरेका छौं । त्यसलाई कार्यान्वयन हुने गरी अनुगमनको व्यवस्था मिलाउने प्रबन्ध गरेका छौं ।’

यस अवसरमा नेपाल अपांग महिला संघका पदाधिकारीहरूले सबै मतदान केन्द्र अपांगमैत्री हुने गरी आवश्यक व्यवस्था मिलाउन माग गरेका थिए । निर्वाचन आयोगसँग अपांगमैत्री मतदान केन्द्र र उनीहरूको प्रतिनिधित्व सबै स्थानीय तहमा सुनिश्चित हुने गरी आगामी निर्वाचनमा आवश्यक व्यवस्था मिलाउन माग गरिएको संघकी अध्यक्ष टीका दाहालले जानकारी दिइन् ।

प्रकाशित : फाल्गुन ८, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?