प्रकाशकीय : निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने हाम्रो निष्ठामा कहिल्यै कमी आउने छैन 

प्रकाशकीय

आजबाट हामी २९ वर्ष पूरा गरी ३० औं वर्षमा प्रवेश गरेका छौं । कान्तिपुर पब्लिकेसन्सको वार्षिकोत्सवका अवसरमा म सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छु । 

प्रकाशकीय : निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने हाम्रो निष्ठामा कहिल्यै कमी आउने छैन 

२०४६ सालपछिको खुला परिवेशसँगै व्यावसायिक पत्रकारिताको दिगो जग बसाल्ने प्रयत्नस्वरूप कान्तिपुरको आरम्भ भएको थियो । यो यात्राले अहिले तीन दशक पूरा गर्न लागेको छ । यसबीचमा अनेक संकट, समस्या र सफलतासँग साक्षात्कार गर्दै हामी यहाँसम्म आइपुगेका हौं । चुनौतीलाई कुशलतापूर्वक छिचोल्दै अगाडि बढ्नु नै हाम्रो नियतिजस्तो बनेको छ । निर्भीक पत्रकारितामा कुनै सम्झौता नगर्ने ऊर्जा पनि सायद यसैले दिएको हो ।

पछिल्लो दुई वर्षमा सारा संसारसँगै हामीले पनि कोभिड–सिर्जित बहुआयामिक संकट झेल्नुपर्‍यो । आशा गरौं, भर्खरै आएको ओमिक्रोन भेरिएन्ट नै कोभिड अन्त्यको नयाँ सुरुवात हुनेछ, अब यसले प्रकोपको रूप लिने छैन र हामी विगतमा भन्दा ऊर्जाशील भएर अगाडि बढ्ने छौं । कोभिडकालको असामान्य घडीमा पनि निष्ठासहित आ–आफ्नो जिम्मेवारी पूरा गर्ने कान्तिपुरका सहकर्मीहरू र हामीलाई कठिन परिस्थितिमा पनि साथ, सहयोग र हौसला दिने शुभेच्छुक मित्रहरू सबैप्रति हामी आभार प्रकट गर्दछौं । यसबीचमा हामीले कोभिडसँगै बाँच्ने र हिँड्ने सीप–सामर्थ्य पनि सिकिसकेका छौं । यसले हामीलाई सफलताको नयाँ आयाममा पुर्‍याउने विश्वास छ । जस्तोसुकै प्रतिकूलता भोग्नुपरे पनि निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने हाम्रो निष्ठामा कहिल्यै कमी आउने छैन ।

यसबीचमा हामीले आफ्ना सञ्चारमाध्यमहरूलाई थप परिस्कृत र परिमार्जन गर्ने क्रम जारी राखेका छौं । मुद्रण र अन्य प्राविधिक संयन्त्रलाई पनि थप चुस्त बनाउने काम भएको छ । कान्तिपुरको डिजिटल पत्रिका ‘ई–कान्तिपुर’ लाई नयाँ गति दिएका छौं । पाठकहरूका हाते स्क्रिन र कम्प्युटरमा हरेक क्षण भरपर्दा समाचार सामग्रीहरू यथेष्ट रूपमा पुर्‍याइरहेका छौं । यसलाई अझ क्षेत्रगत ढंगले विस्तार गर्दै लैजाने हाम्रो योजना छ ।

हामी सदैव लोकतन्त्र, कानुनी राज र संवैधानिक मूल्यमान्यताका पक्षमा उभिँदै आएका छौं । विगतमा दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेर संविधानको अपव्याख्या गर्ने प्रयत्न हुँदा हामी सुस्पष्ट ढंगले त्यसको विपक्षमा उभियौं । सम्मानित न्यायालयले त्यो विवादको सही ढंगबाट निरूपण गरिसकेको छ । अहिले मुलुक फेरि एउटा वैदेशिक सहयोग परियोजनालाई लिएर नराम्रोसँग विभाजित भएको छ । यसलाई जिम्मेवार राजनीतिक दलहरूले चाँडै टुंगोमा पुर्‍याएर समाजमा बढ्दो घातक टकराव र अनपेक्षित भूराजनीतिक भुमरीलाई रोक्न सक्षम हुनेछन् भन्ने हाम्रो अपेक्षा छ ।

अन्त्यमा, म फेरि हाम्रा सम्पूर्ण सहकर्मी, पाठकवृन्द, विक्रेता, वितरक, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सबै सहयोगी एवम् शुभेच्छुक महानुभावहरूलाई २९ औं वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ।

प्रकाशित : फाल्गुन ७, २०७८ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?