गठबन्धन टुटे पनि एमसीसी पास गर्नुपर्छ : शशांक कोइराला- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धन टुटे पनि एमसीसी पास गर्नुपर्छ : शशांक कोइराला

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शशांक काइरालाले सत्ता गठबन्धन टुटे पनि एमसीसीलाई संसद्‍बाट अनुमोदन गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि 'एमसीसी त्याग्ने' वा 'गठबन्धन बचाउने' दुई विकल्प
मात्रै रहेको भन्दै गठबन्धन टुटे पनि एमसीसी पास गर्नुपर्ने बताए ।

शुक्रबार संसद्‍ बैठक स्थगित भएपछि नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन् । नेता कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्ने पक्का रहेको दाबी समेत गरे ।

‘एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरू उभिरहेका छन् । हाम्रो अस्तित्व नै डामाडोल हुन्छ । अमेरिकी सेना यहाँ आउँछन् जस्ता धेरै कुराहरू छन् । ९ वटा मुलुकमा एमसीसी जुन चलिरहेको छ त्यसमा त कोही सेना परिचालन भएको छैन । त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसीसी हामीले पारित गर्नुपर्छ,' डा कोइरालाले भने, 'तर शेरबहादुरजीको अघि दुई उपाय छन् । एउटा एमसीसी पास गराउने । अर्को सत्ता नबिग्रियोस् भन्ने । यो विकल्प उहाँले नै रोज्नुपर्ने हो । उहाँले कुन रोज्नुहुन्छ ? एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म । गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ । दुईमध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ । एमसीसी पारित गरौँ भन्ने मेरो सल्लाह हो । किनभने ५ सय मिलियन डलर धेरै हो । यसले ट्रान्समिसन लाइनदेखि बाटोसम्म यत्रो ठूलो अनुदान हतपत कसैले दिँदैन । यसको पछि उनीहरूको कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ ।’

साथै एमसीसीमा अमेरिकाको कुनै स्वार्थ नरहेको पनि उनको जिकिर थियो । सत्तरुढ दल नेपाली कांग्रेसले संसद्‍बाट एमसीसी पास गर्नुपर्ने भन्दैआएको छ । यद्यपि गठबन्धन दलका शीर्ष नेताहरूले मिश्रित प्रतिक्रिया दिन थालेका छन् । एकीकृत समाजवादीले परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने भनेको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति गर्नुपर्ने अडान राख्दैआएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७८ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्

राप्ती र गोकर्णेश्वरलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती नगरपालिका–६ लाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार मन्त्रीपरिषद् बैठकको निर्णय सुुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले पक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितीबाट ४२ दिनसम्मका लागि बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय भएको बताए ।

‘गोेकर्णेश्वरस्थित गोविन्द मगरले पक्षी पालेको स्थान र राप्ती नगरपालिका–६ को अनिता पशुपक्षी कृषि फार्मलाई केन्द्र मानी १ सय मिटर वरपरको क्षेत्रमा पक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितीबाट ४२ दिनसम्मका लागि बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरी नियन्त्रण गर्ने निर्णय भएको छ,’ उनले भने ।

उक्त क्षेत्रमा फागुन १ गते बर्ड फ्लु भेटिएको थियो । बर्ड फ्लु भेटिएपछि गोकर्णेश्वरमा २० वटा स्थानीय कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । चितवनमा १ हजार ९ सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हाँस, २० वटा हाँसका अन्डा, १ हजार केजी दाना र ३ सय ५० वटा अन्डाको क्रेट नष्ट गरिएको छ । महिना दिनअघि मोरङमा पनि बर्ड फ्लु देखिएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७८ १८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×