स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ । एमालेका स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ती जारी गर्दै मन्त्री खतिवडाले २४ लाख खोप हराएको तथ्यको ढाकछोप गर्नुका साथै खोप खरिद गरेर लगाएको भनेर झुटो अभिव्यक्ति दिएको भन्दै बर्खास्त गर्न माग गरेका हुन् ।

स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले अनुदानबाट प्राप्त गरेका र खरिद गरेका खोपहरूमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्ने प्रयासहरु भइरहेको भट्टराईले विज्ञप्तीमा दाबी गरेका छन् ।

यस्तै विज्ञप्तीमा स्वास्थ्यमन्त्री खतिवडाले हालै एक टेलिभिजनमा ‘खोपहरु नहराएको’ दाबी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयंले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनेर दिएको अभिव्यक्तिप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

'खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित छ,' विज्ञप्तीमा उल्लेख छ, 'सांसदहरुका लागि सरकारले दोस्रो डोज संसद् भवन, बानेश्वरमा र तेस्रो डोज सीसीएमसी कार्यालय परिसरमा व्यवस्था गरेको कुरा सबैलाई विदितै छ । उपरोक्त तथ्यबाट स्पष्ट हुन्छ– स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि आम जनसमुदायलाई गलत सूचना दिई कोभिडजस्तो संवेदनशील विषयमा अफवाह सिर्जना गर्नुभएको छ ।'

सरकारले कोभिड–१९ सम्बन्धी विभिन्न समयमा जारी गरेका निर्देशिकाहरुले खोपको कालोबजारी, बिक्री–वितरण र दुरुपयोग गर्नुलाई गम्भीर अपराधका रुपमा उल्लेख गरेका कारण मन्त्री खतिवडाले खोप ऐन र कोभिड निर्देशिकामा उल्लेख भएका प्रावधानविपरीत गम्भीर अपराध गरेका कारण पदबाट बर्खास्त गरिनुपर्ने भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

'आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको हामी निन्दा र भत्र्सना गर्दछौं । यति झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ । साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ,' विज्ञप्तीमा उल्लेख छ ।


प्रकाशित : फाल्गुन ३, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?