वैशाख मसान्तसम्म लक्षित जनसंख्याका सबैलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप

फागुन १ देखि १८ वर्षमाथिका सबैलाई बुस्टर

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्याका सबैलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको बताएका छन् । स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगति विवरण सार्वजनिक गर्दै शुक्रबार वैशाख मसान्तसम्ममा लक्षित जनसंख्याका सबैलाई खोप प्रदान गर्ने दाबी गरेका हुन् ।

वैशाख मसान्तसम्म लक्षित जनसंख्याका सबैलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप

उनले गत असोज २२ गते मन्त्रालयको कार्यभार सम्हालेपछिको प्रगति विवरण सार्वजनिक गरे पनि त्यसमा अधिकांश रुपमा विगतका सरकारहरूले गरेका निर्णयहरूकै निरन्तरतामात्रै देखिएका छन् ।

उनले लक्षित जनसंख्यालाई खोप दिनका लागि खोपको सुनिश्चितता भइसकेको पनि दाबी गरेका छन् । उनका अनुसार माघ २७ गतेसम्म १२ वर्षमाथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको पनि जानकारी दिएका छन् । नेपालले हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० डोज खोप प्राप्त गरिसकेको छ भने नागरिकलाई ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकेको छ ।

मन्त्री खतिवडाले कोभिड–१९ को खोप अभियानलाई नै आफ्नो प्रमुख कार्यका रुपमा पेश गरेका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य आफ्नो नेतृत्वमा भएको बताए; यद्यपि पूर्ववत् सरकारले नै खोप प्राप्तिको सुनिश्चितता गरिसकेको थियो । यस्तै गर्भवती महिलालाई खोप लगाउन थालिएको कार्यलाई पनि मन्त्री खतिवडाले आफ्नो कार्यगत सफलतामा समावेश गरेका छन् ।

ओमिक्रोन भेरिएन्ट नेपालमा फैलिसकेपछि मात्रै स्वास्थ्य मन्त्रालयले अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिने निर्णय गर्नुलाई आफ्नो सफलताका रुपमा पेश गरेका छन् । सरकारले पुसको अन्तिम साता नै बुस्टर डोज दिने घोषणा गरेपनि पछि त्यो प्राविधिक कारण भन्दै माघको २ गतेदेखि मात्रै सुरु गरिएको थियो ।

त्यस्तै, ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको सुनिश्चितता गरेको पनि मन्त्री खतिवडाले जानकारी गराएका छन् ।

यसैगरी मन्त्री खतिवडाले फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर खोप प्रदान गर्ने बताएका छन् ।

स्वास्थ्यमन्त्रीले आफ्नो कार्यगत प्रगती विवरणमा नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (२०७८–२०८३) मन्त्रिपरिषद्‌बाट स्वीकृत भइसकेको, मिर्गौला प्रत्यारोपण, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा, राष्ट्रिय राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८-२०८८ को मस्यौदा, राष्ट्रिय आँखा स्वास्थ्य रणनीति २०७८-२०८६ को अन्तिम मस्यौदा, जेरीयाट्रीक स्वास्थ्य सेवा रणनीति २०७८, नेपाल स्वास्थ्य लेखा २०१७/१८, नेपाल स्वास्थ्य संस्था सर्वेक्षण–२०२१, टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७८, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८ तर्जुमा भएको पनि उल्लेख गरेका छन् ।

यस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाकुनै ठोस योजना हठात्‌मा उद्धघाटन गरेका ३९६ आधारभूत अस्पतालमध्ये २२६ वटाको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भइएसकेको पनि आफ्नो कार्यगत प्रगति विवरणमा समेटेका छन् ।

प्रकाशित : माघ २८, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?