१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
कोरोना भाइरस

संक्रमण घटे पनि मृत्यु संख्या किन बढ्दैछ ?

बुनु थारु

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमण दर घटे पनि मृत्यु संख्या भने स्थिर रहेको तथ्यांकले देखाएको छ । मंगलबार १२ हजार ६९२ परीक्षणमा १ हजार ९५७ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएको छ । १ साता यताको तथ्यांक हेर्ने हो भने संक्रमण दर ओरालो लाग्दै गरेको देखिन्छ ।

संक्रमण घटे पनि मृत्यु संख्या किन बढ्दैछ ?

माघ १९ गते संक्रमण दर ३१.४० रहेकोमा माघ २५ गते संक्रमण दर आधा अर्थात् १५.४ मा झरिसकेको छ । तर मृत्युको संख्या भने स्थिर देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक ८ देखि १६ जनासम्मले ज्यान गुमाइरहेका छन् । तीमध्ये धेरै जना दीर्घरोगी र ज्येष्ठ नागरिक रहेका छन् । मन्त्रालयले पुस १८ गतेबाट तेस्रो लहरको रुपमा मानेको छ । माघ २० गतेसम्मको तथ्यांकअनुसार हालसम्म १९५ जनाको कोभिडका कारण मृत्यु भइसकेको छ । मृत्यु हुने धेरैजना श्वासप्रश्वासका बिरामी छन् । कसैकसैमा त ३ देखि ४ थरिका रोग पनि देखिएको छ । त्यसैगरी कलेजो, मिर्गौला, क्यान्सर,इपिलिप्सी, मधुमेह, एचआइभी, डिप्रेसन, एन्जाइटी, फोक्सोको क्यान्सर, स्ट्रोक, हाइपर टेन्सन, स्क्रब टाइफसका समस्या भएका बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा कम उमेरकी चितवनकी १६ महिनाकी शिशु छिन् । ब्रेन इन्जुरीबाट उनको मृत्यु भएको थियो ।

मन्त्रालयसँग तेस्रो लहरमा मृत्यु हुने कति जनाले खोप लगाए र कतिले लगाएका थिएनन् भने यकिन तथ्यांक राख्न सकेको छैन । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार पुस १५ देखि हालसम्म अस्पतालमा ४ जनाको कोभिड वार्डमा उपचारको क्रममा मृत्यु भएको छ । गौतमले भने–‘ २ जना खोप लगाएको र २ जना खोप नलगाएका थिए । १ जनाले पूर्ण मात्राको लगाएको र १ जनाले एक मात्राको खोप लिएका थिए । मृत्यु हुनेमा ५५ देखि ९० वर्षसम्मका छन् ।’

अरु अस्पतालको तथ्यांक हेर्ने हो भने मृत्यु हुनेको अवस्था पनि टेकुसरह नै छ । वीर अस्पतालका उपनिर्देशक डा प्रज्वल श्रेष्ठका अनुसार माघ १ गतेदेखि हालसम्म ७० जनाको मृत्यु भएको छ । जसमा ४३ जनाले खोप लगाएका थिएनन् । त्यसैगरी २३ जनाले पूर्ण मात्राको खोप र ४ जनाले एक मात्राको खोप लगाएका थिए । अस्पतालका संक्रामक रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुन अझै केही दिन मृत्यु स्थिर रहने बताउँछन् । उनका अनुसार अब केही दिन मृत्युको संख्यामा त्यत्ति कमी आउने छैन । उनी भन्छन्–‘ओमिक्रोन रुघाखोकी जस्तो लक्षण लिएर आयो, धेरैले थाहा पनि पाएन ।अहिले धेरै अस्पतालको तथ्यांक हेर्दा मर्ने दीर्घरोगी तथा ज्येष्ठ नागरिकहरु रहेका छन् । कतिपयले त एक डोज र कतिपयले खोप पनि नलगाइएको पाइएको छ । ’

उनका अनुसार संक्रमणको संख्या घट्नुको अर्थ संक्रमण छैन भन्ने होइन । डा पुन भन्छन्–‘धेरै जना संक्रमित भइसकेका छन् । अब संक्रमित हुन बाँकी थोरै नै होला । धेरैले परीक्षण गर्दैनन् किनकि ओमिक्रोनले त्यत्ति गाह्रो बनाएको छैन । परीक्षण नगरी पोजिटिभ नभई तथ्यांकमा देखिँदैन । त्यसैले पनि तथ्यांक कम देखिन्छ ।’

‘धेरै जना संक्रमित भइसकेका छन् । उनीहरु निको भएर काममा फर्किन थालिसके । बुवाआमा र छोराछोरीबीच दोहोरो संवाद कम छ । स्वास्थ्य अवस्थाका बारेमा एकअर्कालाई भन्दैनन् । तर ज्येष्ठ नागरिकहरुमा दीर्घरोग हुन सक्छ । जटिल भएपछि मात्र अस्पताल ल्याइन्छ । त्यो कारणले पनि मृत्युको संख्या स्थिर देखिएको हो र आगामी केही दिनमा पनि यो स्थिर देखिएला, ’ डा. पुन भन्छन् ।

केही दिनअघि मात्र विश्व स्वास्थ्य संगठनले नेपाललाई १८ वर्षभन्दा माथिका ७० प्रतिशतलाई पूर्ण मात्राको खोप लगाएकोमा बधाई दियो । तर खोप लगाउनेमध्ये कति प्रतिशत ज्येष्ठ नागरिकहरुले पाए भनेर मन्त्रालयसँग यकिन तथ्यांक छैन । सोमबारसम्मको तथ्यांक हेर्दा १८ वर्षमाथिका ७२.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् भने ८८.४ प्रतिशतले एक मात्राको खोप लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहकाले ३२ प्रतिशतले पूर्ण मात्रा र ८० प्रतिशतले एक मात्रा लगाइसकेका छन् । साथै ६ लाख २९ हजार ७४१ जनाले अतिरिक्त मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

डा पुनले ६० माथिका सबै ज्येष्ठ नागरिकहरुले खोप पाए वा पाएनन् भन्नेमा ध्यान दिनुपर्ने बताउँछन् । उनले भने–‘संख्या घट्दै गएको देखिए पनि ज्येष्ठ नागरिकहरुलाई गाह्रो हुन सक्छ । आगामी केही दिनहरु पनि सकसपूर्ण हुन सक्छ । सम्बन्धित निकायमा पनि उनीहरुको पहुँचमा कसरी पुग्ने र उपचारमा कसरी सहज गराउनेमा एकदमै ठूलो ग्याप देखिन्छ । उनीहरुले खोप लगाउन नसकेको अवस्था होला वा दीर्घरोगले व्यापक च्यापेको होला ।’

जनस्वास्थ्य विज्ञ डा. विन्ज्वला श्रेष्ठले ओमिक्रोन र डेल्टा दुवैको संक्रमण रहेको बताउँछिन् । भन्छिन्–‘डेल्टाको पहिलाकै बिरामी उपचार नपाएर अहिले मृत्यु भएको हुन सक्छ । ओमिक्रोनसँगै डेल्टा पनि देखिएको छ । पहिलाको केस पनि होला अथवा खोप नलगाएकाहरु पनि होलान् । किनकि खोप नलगाएकालाई जटिल हुने र मृत्यु हुने सम्भावना छ । खोप लगाए पनि दीर्घरोग भएका बिरामीहरु छन् । ओमिक्रोनले युवाहरुलाई गाह्रो नबनाउला तर बुढाबूढीहरु त जोखिम नै हुन्छन् ।’

उनले पहिला दुई–तीन ज्वरो आइ निको हुने र पुन: ज्वरो आएमा हेल्चेक्र्याइँ नगर्न सुझाव दिन्छिन् । ‘हेल्चेक्र्याइँ गर्दा निमोनिया हुन सक्छ । बेवास्ता नगरी समयमा अस्पताल पुग्ने हो भने धेरै मृत्युदर रोक्न सक्छौं । साथै अस्पतालले पनि कोभिडको बिरामीको राम्रो उपचार दिनुपर्छ जुन उपत्यकाबाहिर अझै पनि पुगेको छैन,’उनले भनिन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राले मृत्यु स्थिर नै रहेको सवालमा यसलाई केलाएर हेर्नुपर्ने बताउँछिन् । डा मिश्रा भन्छिन्–‘विगतका वर्षमा यही समयमा कोरोना हुनुअघि कतिको मृत्यु हुन्थ्यो ? यो आकस्मिक मृत्यु हो कि कोरोनाकै जटिलताले हो भन्ने हेर्नुपर्ने हुन्छ । कोरोना हुनु र यसको जटिलताले मर्नुमा फरक छ । कोरोना लागेको व्यक्तिलाई अरु थुप्रै रोगहरु लागेको हुन सक्छ । यसको तथ्यांक राख्न काम भइरहेको छ।’

प्रकाशित : माघ २५, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?