सरकारले सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्छ : सञ्चारमन्त्री कार्की- समाचार - कान्तिपुर समाचार

सरकारले सीमा समस्या कूटनीतिक पहलबाट समाधान गर्छ : सञ्चारमन्त्री कार्की

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सीमासम्बन्धी समस्याहरू आवश्यक कूटनीतिक पहलबाट समाधान गर्ने बताएका छन् । उनले सीमा क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकार सधैं प्रयत्नशील रहेको बताए ।

‘हामी सीमा समस्याबारे सचेत छौं, चाहे भारतसँग होस् वा चीनसँग होस् । कुनै पनि समस्या छन् भने ती समस्या कूटनीतिक ढंगले समाधान गर्न सरकार तयार छ,’ उनले भने, ‘त्यस्ता समस्या समाधानका लागि सरकार सधैं प्रयत्नशील छ ।’

मन्त्री कार्कीले त्यस्ता समस्याहरूका बारेमा आफ्नै संयन्त्रमार्फत अध्ययन र समाधान गर्ने गरेको स्पष्ट पारे । ‘कसले, के रिपोर्ट दियो भनेर सरकारले त्यसको आधारमा होइन, उपयुक्त समयमा वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ,’ मन्त्री कार्कीले भने ।

प्रकाशित : माघ २५, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्

डिजिटल नापनक्सा तथा जग्गा प्रशासन निर्देशिका स्वीकृत [निर्णयहरू]

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले डिजिटलमार्फत नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका‚ २०७८ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डिजिटल माध्यमबाट नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह गर्नका लागि उक्त निर्देशिका स्वीकृत गरेको हो ।

मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली‚ २०७८ समेत स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने‚ राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली‚ २०७८ स्वीकृत गर्ने‚ बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि‚ १९८९ को छैटौं आवधिक प्रतिवेदन स्वीकृत गरी राष्ट्र संघमा पेश गर्ने अनुमति प्रदान गर्ने लगायत निर्णय गरेको छ ।

सिंगापुर‚ इटालीको रोम र रोमानियाको बुखारेस्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्य दूतहरूको पदावधि थप गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।


प्रकाशित : माघ २५, २०७८ १६:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×