चिनारुबाटै बालबालिका यौन दुराचारको सिकार- समाचार - कान्तिपुर समाचार

चिनारुबाटै बालबालिका यौन दुराचारको सिकार

साढे दुई वर्षमा पीडित बनेका ६ सय ७१ मध्ये झन्डै ५८ प्रतिशत ११ देखि १६ वर्षका, १० वर्षमुनिका मात्रै ३६ प्रतिशत
जनकराज सापकोटा

काठमाडौँ — २०७६ भदौ ८ गते । साँझको करिब ४ बजे । डोटीको दिपायल सिलगढी नगरपालिका–६ बस्ने २४ वर्षीय सरिफ सोब भनिने सरिफ सिंजापतिले ९ वर्षीय बालक आदर्श (परिवर्तित नाम) लाई १५ रुपैयाँ दिएर चुरोट र बबलगम किन्न नजिकैको पसलमा पठाए । सामान किनेर फर्केका आदर्शलाई कोठाभित्रै बोलाए । बबलगम खान दिए । अनि ढोका थुनेर उनले दुराचार गरे ।

रुँदै घर फर्किन खोजेका बेला उनले आदर्शको हातमा १० रुपैयाँ थमाएर ‘यसबारे कसैलाई भनिस् भने मारिदिन्छु’ भन्दै धम्की दिए ।

यो घटना १७ दिनसम्म गुपचुपमै रह्यो । मुखभरि घाउ र खटिरा आएर उनी खानै नसक्ने भएपछि उनका बुबाले सोधे । त्यसपछि पो बालकले पुरानो घटनाबारे बेलीविस्तार लगाए । लगत्तै पीडितका बुबाले प्रहरीमा जाहेरी दिए । सरिफ पक्राउ परे । बालबालिकालाई ललाइफकाई बोलाउने र अश्लील यौनजन्य गतिविधिमा जबर्जस्ती सामेल गर्ने बाल यौन दुराचारको प्रतिनिधि घटना हो यो । विगतमा यस्ता घटनामा विदेशी नागरिक सम्मिलित हुन्थे । पछिल्ला वर्षमा भने बालबालिका नेपाली नागरिकबाटै यौन दुराचारको सिकारमा पर्न थालेका छन् ।

नेपाल प्रहरीद्वारा आर्थिक वर्ष २०७६/७७ यताका साढे दुई वर्षमा संकलित तथ्यांक केलाउँदा बाल यौन दुराचार घटनामा उल्लेख्य वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा २ सय ४४ बालबालिका यौन दुराचारीको सिकार बनेका थिए । यो संख्या आर्थिक वर्ष २०७७/७८ मा बढेर ३ सय ४ पुग्यो । चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म ६ महिनामै १ सय २१ बालबालिका यौन दुराचारको सिकार भएका छन् । साढे दुई वर्षको अवधिमा बाल यौन दुराचारका घटनामा परेका ६ सय ७१ बालबालिकाको तथ्यांक विश्लेषण गर्दा झन्डै ५८ प्रतिशत अर्थात् ३ सय ८६ जना ११ देखि १६ वर्ष उमेर समूहका छन् । १० वर्षभन्दा मुनिका बालबालिका मात्रै झन्डै ३६ प्रतिशत अर्थात् २ सय ३९ जना छन् । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसी भन्छन्, ‘सानो उमेरका बालबालिका यौन दुराचारीको सिकार बन्ने डरलाग्दो अवस्था बढिरहेको देखिन्छ ।’

विदेशी पेडोफाइल अर्थात् बाल यौन दुराचारीको निसानामा कम उमेरका बालक परिरहेको देखिए पनि नेपालीबाटै भएका यस्ता घटनामा भने बालिका धेरै सिकार भएको देखिन्छ । साढे दुई वर्षको अवधिमा यस्ता घटनामा परेका ६ सय ७१ मध्ये ७ जना मात्रै बालक छन् । तीमध्ये ४ सय ४४ अर्थात् कुल पीडितको ६६ प्रतिशत बालिका कक्षा १ देखि ५ कक्षामा पढ्दै गरेका देखिन्छन् ।

होस्टाइल गराउने प्रवृत्ति बढ्दो

कलिला बालबालिका चिनेजानेकै मान्छे र छिमेकीबाटै पीडित देखिन्छन् । आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा यौन दुराचारमा परेका १ सय २१ बालबालिकामध्ये ५३ जना चिनेजानेकै मान्छेबाट, ३८ जना छिमेकीबाट यौन दुरुपयोगमा परेका थिए । अपरिचितहरूबाट पीडित १२ जना मात्रै थिए भने बाँकी १८ जना अन्य नजिकका नातेदारबाट पीडित बनेका थिए । यो तथ्यांकले भन्छ, बालबालिका टोल समाजभित्रै असुरक्षित छन् । ‘चिनेजानेकै र आफन्तबाटै उनीहरू जोखिममा परिरहेका छन्,’ प्रहरी प्रवक्ता केसी भन्छन्, ‘त्यसैले पनि सबैजसो घटना बाहिर आउँदैनन् ।’

प्रवक्ता केसीको भनाइले बाल यौन दुराचारका घटना तथ्यांकमै मात्र सीमित छैनन् । डोटीकै घटनामा ९ वर्षीय बालकका अभिभावक १७ दिनपछि मात्रै प्रहरीकहाँ पुगे । प्रहरी बयानमा उनीहरूले घटनाको बेलीविस्तार त लगाए तर सोही मुद्दा डोटी अदालतमा पुग्दा भने पीडितहरूले घटनाबारे इन्कारी बयान दिए । तर जिल्ला न्यायाधीशले पीडित बालकको स्वास्थ्य रिपोर्ट र अन्य प्रमाणका आधारमा मुद्दा अगाडि बढाए । यो दृष्टान्तले बाल यौन दुरुपयोगका धेरैजसो घटना बाहिर नआउने र आएका घटनामा पनि पीडितलाई ‘होस्टाइल’ गराउने (बयान फेराउने) प्रवृत्ति रहेको बुझ्न गाह्रो पर्दैन ।

कुल ६ सय ७१ घटना केलाउँदा ४९.६२ प्रतिशत अर्थात् ३ सय ३३ घटनामा डर र धम्की देखाएर यौन दुरुपयोग गरिएको देखिन्छ । अध्ययनमा समेटिएका कुल घटनामा २ सय ४३ अर्थात् ३६.२१ प्रतिशत घटनामा ललाइफकाई र ४१ अर्थात् ६.११ प्रतिशत घटनामा बालबालिकालाई प्रलोभनमा पारिएको देखिन्छ । उनीहरू धेरैजसो विवाहित पुरुषबाटै सिकार भइरहेको तथ्यांकले देखाउँछ । ६ सय ७१ घटनाका पीडकमध्ये ४ सय ६० अर्थात् ६८.५५ प्रतिशत विवाहित पुरुष छन् । अविवाहित पुरुषको संख्या भने झन्डै २७ प्रतिशत अर्थात् १ सय ८१ जना मात्रै देखिन्छ । त्यसो त बालबालिका महिलाबाट पनि यौन दुरुपयोगको सिकार भएका छन् । तर यो संख्या निकै कम छ । साढे दुई वर्षको अवधिमा २ जना विवाहित महिला बाल यौन दुरुपयोगको घटनामा सामेल छन् ।

दुराचारीमाथिको त्यो फैसला

डोटी जिल्ला अदालतले बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुनको घटनामा ५ महिना २० दिन कैद र ७ हजार जरिवाना गरेको फैसलालाई उच्च अदालत दिपायलले उल्टाएर जन्मकैदको सजाय र कुल १० लाख ३० हजार जरिवाना ठहर गर्‍यो । दिपायल सिलगढी–६ को घटनामा सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (१) को कसुर भएको भन्दै बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुनको कसुरमा जिल्ला अदालतमा मुद्दा लगेको थियो ।

घटनाको झन्डै ६ महिनापछि २०७६ फागुन २१ मा जिल्ला अदालतले पीडकलाई बाल यौन दुरुपयोगमा मात्रै दोषी ठहर गर्दै ५ महिना २० दिन कैद र ७ हजार जरिवाना सुनायो । अदालतले सरकारी वकिलको कार्यालयले लगेको अप्राकृतिक मैथुनको कसुरमा दाबी पुग्न नसक्ने ठहर गर्‍यो ।

पीडितहरूले प्रहरीमा दिएको बयानविपरीत जिल्ला अदालतमा इन्कारी बयान दिएका थिए । तर पनि जिल्ला अदालतले घटना विवरण, पीडित बालकको स्वास्थ्य रिपोर्ट र अन्य प्रमाणका आधारमा फैसला सुनाएको थियो । उच्च अदालतले पीडितहरूले इन्कारी बयान दिए पनि घटनामाथि गहिरो अनुसन्धान आवश्यक हुने भन्दै फैसलामा लेख्यो, ‘वस्तुनिष्ठ प्रमाणबाट वारदात स्थापित भइरहेको सन्दर्भमा केवल पीडित पक्षले उल्टा बकपत्र गर्दैमा अपराधबाट उन्मुक्ति पाउन सक्दैनन् ।’ २०७८ साउन २५ मा न्यायाधीश टेकनारायण कुँवर र जगतबहादुर थापाले गरेको जिल्ला अदालतको फैसला उल्ट्याउँदै बाल यौन दुराचारतर्फ ३ वर्ष कैद, ३० हजार जरिवाना र अप्राकृतिक मैथुनतर्फ जन्मकैद र १० लाख क्षतिपूर्ति भराई पाउने ठहर गर्‍यो ।

बाल यौन दुरुपयोगका घटनाको फैसलामा यो मुद्दा किन महत्त्वपूर्ण छ भने यसले बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुनबीचको फरक मात्रै छुट्याउने कोसिस गरेको छैन, यी दुई कसरी फरक अपराध हुन् र अप्राकृतिक मैथुनमा पनि बालबालिका कसरी सिकार हुन सक्छन् भन्ने प्रस्ट्याएको छ । उच्च अदालतले यो घटनालाई पेडोफाइलका रूपमा समेत व्याख्या गरेको छ ।

अधिवक्ता निर्मला भण्डारी बाल यौन दुरुपयोगका घटनालाई हेर्ने कानुनी दृष्टिकोणको आधार स्पष्ट हुनुपर्ने बताउँछिन् । डोटीकै घटनामा जिल्ला अदालतले गरेको फैसलामा त्रुटि भएको औंल्याउँदै उनले भनिन्, ‘जिल्ला अदालतले जुन कानुनमा टेकेर फैसला गर्न खोजेको छ, त्यो त्रुटिपूर्ण मात्रै छैन, बाल यौन दुरुपयोगका घटनालाई बुझ्ने संवेदनशीलताको अभाव पनि देखिन्छ ।’

अपराध संहिता २०७४ को दफा २२५ र दफा २२६ मा बाल यौन दुरुपयोगबारे उल्लेख गरिएको छ । कसैले करणीको आशयले बालबालिकालाई एकान्तमा लगेर निजको अंग छोएमा, समातेमा वा आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा बाल यौन दुरुपयोग मानिनेछ । यस्तो कसुरमा व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

प्रकाशित : माघ २५, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्

चन्द नेतृत्वको नेकपाको जुम्ला कमिटी माओवादी केन्द्रमा 'समाहित'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा पुरानै पार्टी नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । मंगलबार खुमलटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले तिरुवालगायतका नेता कार्यकर्तालाई स्वागत गरेका हुन् ।

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार इन्चार्ज तिरुवासहित नेकपाको जुम्ला कमिटी नै माओवादी केन्द्रमा समाहित भएको छ । शान्ति प्रक्रिया र चुनावी प्रक्रियामा समेत सहभागी भइसकेपछि २०६९ असार ४ मा पार्टीका वरिष्ठ नेता मोहन वैद्य युद्धकालीन ठूलो समूहसहित बाहिरिएका थिए ।

सोही बेला चन्द निकट मानिने तिरुवाले पनि पार्टी छाडेका थिए । पछि वैद्य नेतृत्वको पार्टी फुटेपछि भने तिरुवा चन्द नेतृत्वको नेकपामा गएका थिए ।


प्रकाशित : माघ २५, २०७८ ११:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×