वनमा बाघ-गोठालो झम्टाझम्टी

शिव पुरी

रौतहट — गाउँबाट झन्डै ३ किलोमिटर उत्तर चोचास्थित राष्ट्रिय वनभित्र गाई चराउनु उनको दैनिकी । सधैं बस्तुभाउ लिएर जाने गुजरा नगरपालिका–२ ब्रह्मटोलका ५८ वर्षीय तीर्थबहादुर राईका लागि शनिबार भने अनपेक्षित घटना भयो । बाघसित उनको जम्काभेट भयो । बाघले झम्टियो, आत्तिएका उनले खुर्पाले हाने । चोट लागेपछि बाघले छाड्यो तर नंग्राले प्रहार गरिसकेको थियो । उनी रक्ताम्मे भए । चोट लागेको बाघ पश्चिमतर्फ लाग्यो । 

वनमा बाघ-गोठालो झम्टाझम्टी

चोचा वन सेक्टरको लमाहा जंगलस्थित तुरतुरेधारानजिक भएको घटनामा घाइते राईको दायाँ हात, निधार र छातीमा गहिरो चोट लागेको छ । घटनालगत्तै स्थानीयले उद्धार गरेर उपचारार्थ चन्द्रनिगाहपुर अस्पताल ल्याए । ‘सुरुमा बाघ देख्नासाथ होस हराएजस्तै भयो,’ उनले घटना सुनाए, ‘मैले केही सोच्न नपाउँदै त्यसले तिखा नंग्रा भएको पञ्जाले मलाई हानिसकेको थियो । मैले पनि खुर्पाले हाने, अनि छोड्यो । म रक्ताम्मे भएर ढले ।’ उनीसँगै दुईजना बालकसमेत जंगल गएका थिए । दुवै केही पर थिए । राईले गुहार मागेपछि उनीहरू आए र गाई छाडेर जंगल बाहिर निस्के ।

‘मलाई त भगवान्ले बचाएकै हुन् । बाघको मुखबाट जोगिएर आएँ । घटना सम्झँदा अहिले पनि जीउ काम्छ,’ उनले भने । राई त्यस्तो घटनामा पर्नु दुई दिनअघि लमाहा जंगलमा घाँस काट्न गएका चन्द्रपुर–६ मोथियाही गाउँका प्रदीप चौधरी पनि बाघको आक्रमणमा परेका थिए । हँसियाले प्रतिकार गरेपछि बाघबाट जोगिएका थिए । चौधरीको बायाँ हातमा चोट लागेको थियो । घटनापछि समूहमा रहेका चौधरी होहल्ला गर्दै जंगलबाट बाहिरिएका थिए । उनका साथी पनि घाँस काट्न छाडेर भागे । ‘कालको मुखबाट जोगिएर आएँ,’ उनले भने, ‘जंगलमा बाघ छ भनेर अनुमान लगाउनै सकेनौं । अचम्मको बाघ देखियो ।’

यसरी घटनामा पर्ने चौधरी र राई मात्रै होइनन्, यसअघि पनि बाघको आक्रमणका घटना भएका छन् । गत असोज २१ मा घाँस लिन गएका चन्द्रपुर–६ का यज्ञबहादुर रायमाझीलाई बाघले आक्रमण गरेको थियो । बाघले चिथोर्दा उनको दुवै हातमा गहिरो चोट लागेको थियो । साइकलमा ७ जनाको समूहमा घाँसदाउरा गर्न गएका रायमाझीसहितको टोलीले लमाहा पुल पारि कालीखोलानजिकै पुग्दा बाघ कराएको सुने । त्यसपछि उनले दाउरा काट्न लगेको बञ्चरो तयारी अवस्थामा राखे । अचानक बाघ अगाडि आइपुग्यो, बञ्चरो प्रहार गरे र भुइँमा लडे । त्यसबेलासम्म बाघले उनलाई झम्टिसकेको थियो । तर बञ्चरोको चोट लागेर बाघ उनलाई छाडेर भागेको रायमाझीले बताए । उनले भने ‘बाघको पनि मुखमा चोट लागेको हुनुपर्छ । कालको मुखबाट जोगिएँ ।’

गत असोज १३ को साँझ चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी त्यही स्थानमा बाघको आक्रमणमा परी मारिएका थिए । गाउँबाट झन्डै ७ किलोमिटर पश्चिम तुरतुरेधारानजिक घना जंगलभित्र घाँस खोज्ने क्रममा भण्डारी बाघको आक्रमणमा परेका थिए । साथीहरू हरि खड्का, गुञ्ज रानामगर र सुदीप थापालाई साथै लिएर संगम साइकलमा जंगल छिरेका थिए । चारैजना लमाह जंगलको बीच भागमा पर्ने तुरतुरेधारा क्षेत्रनजिक पुगे । त्यही घाँस खोज्न लागे । संगम खोल्सा तरेर पारि गए, अरू वारि नै घाँस काट्न थाले । चारैजनाले बाटोमै साइकल राखेका थिए ।

खड्का, रानामगर र थापालाई बाघले आक्रमण गरी घाइते बनायो । भण्डारीलाई भने घिसारेर लग्यो । खड्का अहिले पनि घटना सम्झे तर्सिन्छन् । संगमलाई खोज्न राति नै गाउँका १४/१५ जना युवा हातमा टर्चलाइट र हँसिया बोकेर जंगल गएका थिए । राति त्यही स्थानमा बाघले फेरि आक्रमण गरेको थियो । अधिकांशले भागेर ज्यान जोगाए । केही रूख चढेर ज्यान जोगाए । स्थानीयले रौतहटको चारकोसे झाडीमा बाघ छैन भन्थे । दिनहुँ बस्तुभाउ लिएर जंगल जाने र घाँसदाउरा गर्न जानेले त्यसअघि बाघको आक्रमणका घटना सुने–देखेका थिएनन् ।

दुई दशकअघि लमाहा जंगलमा बाघ थियो । त्यसबेला केही घरपालवा पशु जोगाउन गाह्रो परेको स्थानीय प्रह्लाद थापा सम्झन्छन् । पछिल्लो समय बाघ देखिएको थिएन । भालु, मृग, बँदेल, नीलगाईलगायतको वन्यजन्तु भने बढेको थिए । गत वर्ष भने उक्त वन क्षेत्रमा बाघ रहेको पुष्टि भएको थियो । क्यामेरा ट्र्यापिङबाट निगरानी गर्दा रौतहटको राष्ट्रिय वनमा चारवटा बाघ देखिएको डिभिजन वन चन्द्रनिगाहपुरका निमित्त प्रमुख अमरदेव यादवले बताए । ‘जंगलमा बाघलगायतका वन्यजन्तु बढेको छ । गाउँलेलाई जथाभावी जंगल प्रवेश नगर्नुस् भनेका छौं,’ उनले भने, ‘तर वर्षौंदेखिको घाँसदाउरा र चरिचरनको बानी छ । टेर्दैनन् । अब बाघको आक्रमणका घटना हुन थालेका छन् ।’ लमाहास्थित तुरतुरे धारा जंगल अहिले बाघको बासस्थान भएको छ ।

गाउँलेमाथि आक्रमणका घटना हुन थालेपछि संरक्षणकर्मीले बाघमाथि निगरानी थालेका छन् । यस क्रममा बाघको निगरानीसँगै गणनाका लागि वनमा ठाउँठाउँमा ट्र्यापिङ क्यामरा राखिएका छन् । ती क्यामरा हराउन थालेपछि भने प्राविधिक हैरान छन् । पौराई वन क्षेत्रमा जडान गरिएकामध्ये दुईवटा क्यामरा हराएको छ । बाघ गणनाका लागि जडान गरिएको क्यामरा गायब भएको वन्यजन्तु प्राविधिक टीकाराम थारूले बताए । अहिले बाघको सम्भावित बासस्थान र पानी खान आउजाउ गर्ने ठाउँमा १ सय २२ वटा क्यामरा जडान गरिएका छन् । रौतहटको धनसर खोलापूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री, नुनथर, पौराई, रंगपुर लगायतका वनमा क्यामरा जडान गरिएका छन् ।

प्रकाशित : माघ २५, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?