श्रमिक अस्पतालका लागि अध्ययन टोली गठन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रमिक अस्पतालका लागि अध्ययन टोली गठन

रासस

काठमाडौँ — सरकारले श्रमिक अस्पताल निर्माणका लागि पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गरेको छ ।

मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको सम्भाव्यता अध्ययन टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्ने बताइएको छ ।

टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिका साथै संयुक्त ट्रेड युनियन महासङ्घका प्रतिनिधि छन् ।

मुलुकको आर्थिक विकास र समृद्धिका आधारका रुपमा रहेका लाखौँ श्रमिकलाई भरपर्दो र सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको मन्त्री कृष्णकुमार श्रेष्ठको भनाइ छ ।

आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरूको परिवारका सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेसागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने, योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था कार्यान्वयन गराउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनीहरुको परिवारका सदस्यका लागि सहुलियतमा उपचार सेवा उपलब्ध गराउने अस्पतला सञ्चालनको उद्देश्यमा उल्लेख छ ।

प्रकाशित : माघ २४, २०७८ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्

हिउँ खेल्न गएका गोरखाका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन

हरिराम उप्रेती

गोरखा — हिउँ खेल्न हिँडेका गोरखाका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला घले पाँच दिनदेखि परिवारको सम्पर्कमा नआएपछि खोजी थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

‘माघ २० गते खाना खाएर लाप्राकमा हिउँ खेल्न गएको परिवारले सूचना दिनुभएको छ,’दाहालले भने,‘प्रहरीलाई २३ गते जानकारी आयो, हिजोदेखि खोजी तीव्र पारेका छौं ।’गत बिहीबार धार्चे गाउँपालिका–४ लाप्राकतर्फ हिउँ खेल्न गएको परिवारको सूचनाको आधारमा खोजी भइरहेको प्रहरले जनाएको छ ।

स्थानीय र प्रहरीले आइतबार र सोमबार दिनभर लाप्राक क्षेत्रमा खोजी गरे पनि उनीहरूलाई फेला पार्न नसकेको बताइएको छ। ‘हिउँ खेल्न गएको भन्ने सूचनाको आधारमा लाप्राक क्षेत्रमा खोजी भइरहेको छ, आफन्त र चिनेजानेका व्यक्तिहरूकहाँ पुगे कि भन्ने तरिकाले पनि खोजी गरिरहेका छौं,’ उनले भने ।

स्थानीय जितबहादुर घलेले पनि उनीहरूको अवस्थाबारे केही जानकारी नपाएको बताए। छिमेकी गाउँ लाप्राक, गुम्दा, लापुसम्म खबर गरेर हराएका किशोरहरूको खोजी गरिएको उनी बताउँछन् । बिहीबार मम्चेमा रहेको भन्ने खबर पाएको तर त्यसपछि उनीहरू कता गए भन्ने पक्ता लगाउन नसकिएको उनले भने ।

यसअघि चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बेपत्ता भएका ५ जनाको प्रहरीले उद्धार गरेको छ । आइतबार दिउँसो चन्द्रागिरी डाँडामा हिउँ खेल्न गएका काठमाडौं चन्द्रागिरी नगरपालिका–६ महादेवस्थानका एकै परिवारका ५ जना हराइरहेको खबर आएपछि काठमाडौं प्रहरीले उनीहरुको मध्यराति उद्धार गरेको थियो। पछिल्लो साता देशका अधिकांश उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ परेको थियो ।

प्रकाशित : माघ २४, २०७८ २१:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×