अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री यूएई जाँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री यूएई जाँदै

रासस

काठमाडौँ — रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ । यूएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् ।  

वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ । नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले आइतबार नेपालका लागि (यूएई) का राजदूत साइद हमदान अल नाकीसँग छलफल गरेका थिए ।

छलफलमा उनले रोजगारीको प्रलोभनमा यूएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेका थिए । मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्ने क्रममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्‍याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

छलफलमा राजदूत साइदले अलपत्र परेका नेपालीलाई यूएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेलाई पनि आवश्यक सहयोग गर्ने बताए । मन्त्री श्रेष्ठको यूएई भ्रमणका क्रममा नेपाल–यूएई संयुक्त समितिको बैठक पनि आयोजना हुनेछ ।

प्रकाशित : माघ २३, २०७८ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्

‘जमिन दिलाईदिन्छु’ भन्दै ठग्ने २ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — सुकुम्बासीलाई ‘जमिन दिलाईदिन्छु’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने ३८ वर्षीय होम नारायण चौधरी र बुढानिलकण्ठ नगरपालिका–४ का ४४ वर्षीय उद्धव भण्डारी छन् ।

आइतबार काठमाडौं–१६ वसन्तपुरस्थित एक क्याफेमा ‘जग्गा वितरण गर्छौं फाराम भर्नुपर्छ’ भनी रकम असुली गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

‘आफूहरुलाई भूमी आयोगले खटाएका व्यक्ति भनी परिचय गराई काठमाडौंमा सुकुम्बासीले ४ आना जग्गा प्राप्‍त गर्न जनही ५० हजार रुपैयाँका दरले माग गरी फाराम भराइरहेको अवस्थामा २ जना प्रक्राउ परेका हुन्,’ मैनालीले भने । उनीहरुको साथबाट ल्यापटप, प्रिन्टर, स्पिकर, मोबाइल ३ थान, विभिन्न फाराम र रेकर्ड फाइल बरामद गरिएको छ ।

प्रकाशित : माघ २३, २०७८ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×