जसपा–जनमत पार्टी द्वन्द्व किन ?

मधेस प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जसपा र त्यही प्रदेशमा स्थापित हुन खोजिरहेको जनमत पार्टीबीच मुठभेड चर्कंदै
मधु शाही

काठमाडौँ — जनता समाजवादी पार्टीकी नेता एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति इंगित गर्दै ‘गौर नरसंहार दोहोरिन सक्ने’ सार्वजनिक अभिव्यक्ति दिएपछि दुई दलबीच द्वन्द्व चर्किर्एको छ । मधेस प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जसपा र त्यही प्रदेशमा स्थापित हुन खोजिरहेको जनमत पार्टीबीच प्रतिद्वन्द्विता झनै चर्कने आकलन गर्न थालिएको छ ।

जसपा–जनमत पार्टी द्वन्द्व किन ?

तीन वर्षअघि मात्र मूलधारको राजनीतिमा आएर राउतले गठन गरेको जनमत पार्टीले जनताको साथ जुटाउन किसानलगायतका मुद्दा उठाउँदै आएको छ । त्यस क्रममा उसले उग्र देखिने गरी प्रदर्शन पनि गर्दै आएको छ । केन्द्र र प्रदेश दुवैको सत्तामा रहेका कारण जसपाले जनमतका गतिविधिलाई आफ्नै दलप्रति लक्षित रहेको बुझ्ने गरेको छ । दुवै दलको राजनीतिक आधार क्षेत्र पनि मधेस प्रदेश नै हो । ‘मधेसमा अहिलेको मुख्य पार्टी भनेको जनता समाजवादी हो । त्यसैले जसपामाथि प्रहार गरेर राउत आफ्नो राजनैतिक हैसियत स्थापित गर्न खोजिरहेका छन्,’ जसपा नेता गंगानारायण श्रेष्ठले भने ।

जनमत पार्टीले मधेसमा डेढ महिनादेखि किसान आन्दोलन गरिरहेको छ । त्यही क्रममा उसले केन्द्रका मन्त्रीहरूलाई कालो झन्डा देखाउने, निषेध गर्ने घोषणा गरिसकेको अवस्थामा मन्त्री यादव ‘बलिदान दिवस’ का अवसरमा गौरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न पुगेकी थिइन् । मन्त्री आउने भएपछि जनमतका कार्यकर्ताहरू कालो झन्डा, ढुंगा, लाठीसहित गौरमा जम्मा भएका थिए । मन्त्री यादवलाई कडा सुरक्षा व्यवस्थासहित कार्यक्रम स्थलमा पुर्‍याइएको थियो । त्यही कार्यक्रममा उनले अमर्यादित अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि जनमत पार्टी झन् उग्र देखिएको छ ।

मधेस प्रदेशमा माघ १२ गते भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा जनमत पार्टीका कार्यकर्ता जसपाका नेतामाथि खनिएका थिए । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई मतदान स्थल जानबाट रोक्न उनीहरूले प्रयास गरेका थिए । उनीहरूले जसपाका सांसद तथा प्रदेश मामिला संसदीय समितिका सभापति अशोक यादव चढेको गाडीमाथि तोडफोड गरेका थिए । त्यसै क्रममा सर्लाही हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसार्इं, उपप्रमुख रेणु पौडेललगायतका जनप्रतिनिधि सवार गाडीमा समेत तोडफोड भएको थियो ।

विश्लेषक चन्द्रकिशोरले एकले अर्कालाई अस्वीकार गर्ने दुवै दलले मधेस अशान्त हुने गतिविधि गरेको टिप्पणी गरे । ‘पार्टी चिनाउन हिंसात्मक गतिविधि गर्ने सीके राउत र हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादव दुवैले माफी माग्नुपर्छ,’ उनले भने । राउतले किसान आन्दोलनका नाममा मधेसमा भड्काउने र अराजकता फैलाउने राजनीति गरिरहेको उनले बताए । ‘चर्का नारासहित कार्यक्रम गरेर आफ्नो राजनीतिक अस्तित्व बढाउन खोज्नु लोकतान्त्रिक पद्धतिमा स्वाभाविक हो,’ चन्द्रकिशोरले भने, ‘हिंसात्मक क्रियाकलाप अपनाएर नेतृत्व स्थापित गर्न खोजिनु भने अलोकतान्त्रिक हो ।’ मधेस आन्दोलनबाट आएका दलको प्रभाव कमजोर हुँदै गरेका बेला जनमत पार्टीले ठाउँ लिन प्रयास गरिरहेको विश्लेषक चन्द्रकिशोरले बताए । ‘जनमतले जसपामाथि टार्गेट गरेको देखिन्छ । हिंसाको राजनीतिबाट जनमत पार्टी बच्नुपर्छ,’ उनले भने ।

राउतका कार्यकर्ताले किसानको हकहितका लागि लामो समयदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेको जिकिर गर्दै आएका छन् । जसपाको कार्यकारिणी सदस्य प्रशान्त सिंह जनमत पार्टीले किसान आन्दोलनमा उठाएका विषयलाई जायज मान्छन् । ‘तर आन्दोलनको नाममा गर्दै आएका गतिविधि अराजनीतिक छन्,’ उनले भने, ‘राज्यको उच्च पद धारण गरेको व्यक्तित्वले पनि बोल्दा संवेदनशीलता अपनाउनुपर्छ ।’ जसपा नेता श्रेष्ठले वैचारिक र सैद्धान्तिक राजनीति गर्नुपर्नेमा जनमतका पार्टीका कार्यकर्ताले हिंसात्क शैली अपनाएको बताए । जनमत पार्टीका महासचिव चन्दन सिंह भने जसपालाई अराजकतामा विश्वास दल भनेर टिप्पणी गर्छन् । ‘उहाँहरू (जसपाका नेता) को जग नै अराजक छ । उदण्ड मच्चाएर नेता बन्ने प्रयास गर्छन्,’ उनले भने, ‘मन्त्री पदमा बसेर हिंसा भड्काउने अभिव्यक्ति दिँदा पनि सरकारले हटाउँदैन,’ उनले भने, ‘न्यायालय चुप छ ।’

समानता र समावेशीका विषयमा जसपा र जनमत पार्टी दुवैको दृष्टिकोण उस्तै देखिन्छ । जसपाले समुन्नत संघीय समाजवादलाई मार्ग निर्देशक सिद्धान्त मानेको छ । उसले उत्पीडित राष्ट्रियताहरूका लागि संघीयता र श्रमजीवि वर्गको मुक्तिका लागि समाजवाद भन्दै आएको छ । बहुल सांस्कृतिक राष्ट्रवाद, समानुपातिक निर्वाचन प्रणाली र समावेशीकरण, समतामूलक समृद्धि र मानवीय खुसी, पहिचानसहितको संघीयता, उत्पीडित राष्ट्रियता र श्रमजीवि जनताको एकतालगायत मुद्दालाई जसपाले राजनीतिक आधार बनाएको छ ।

जनमत पार्टीको चुनावी घोषणा पत्रको पहिलो बुँदामा ‘वैचारिक आधार–स्तम्भ : सामुदायिक स्वराजमा’ उल्लेख गरिएको छ । ‘देशभित्रको हरेक नागरिकले यो हाम्रै राज्य हो, हाम्रै शासन हो भन्ने अनुभति गर्नु नै स्वराज हो,’ घोषणापत्रमा भनिएको छ, ‘अदृश्य रेखाहरू कोरेर कुनै भूखण्डलाई अलग गर्नु नै स्वराज होइन, बरु देशको भूभागभित्र पनि त्यहाँ बसोबास गर्ने रहेक वर्ग, समुदाय एवं जातजातिले राज्य व्यवस्थासँग अपनत्वको बोध गर्नु नै स्वराज हो ।’ जनमत पार्टीले सामुदायिक स्तरको जन–सम्प्रभुतामा जोड दिने भनेको छ । संविधानले सार्वभौमसत्ता जनतामा अन्तर्निहित रहेको भने पनि जनताले आफ्नो सार्वभौमसत्ताको अधिकार कुन स्तरमा के–के का लागि कसरी गर्ने भन्ने पक्ष स्पष्ट नरहेको जनमत पार्टीको दाबी गरेको छ ।

जसपाले समाजवादमार्फत समग्र राष्ट्रसहित समुदायलाई समेत समेट्ने भनेको छ । जनमत पार्टीले सामुदायिक समाजवादको दिशामा केन्द्रित हुने जनाएको छ । प्रशासकीय संघीयताको बदलामा सामुदायिक संघीयता स्थापना गर्नुपर्ने उसको तर्क छ । जनमत पार्टीले घोषणा पत्रमा मधेसको नाममा राजनीति गरेर केन्द्रीय राजनीतिमा पुगेका सबै दल र नेतृत्वप्रति असन्तुष्टि राखेको छ । नामै किटान गरेर ‘संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले टुटफुट र गुटबन्दीको राजनीति गरेको’ उल्लेख छ ।

त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपाल कुनै सिद्धान्त, एजेन्डा र अडानबिनाको केवल सत्तामा जानका लागि गुटबन्द भएको, सत्ता–भत्तामूखी अवसरवादी नेताहरूको झुन्ड रहेको, जनतालाई कुनै गन्तव्यसम्म पुराउन नसक्ने पुरानो थोत्रो गाडी भएको घोषणा पत्रमा लेखिएको छ । जनमत पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई व्यक्तिगत महात्त्वाकांक्षा पूर्तिका लागि मधेसी जनताको बलिदानीलाई पटक–पटक बेच्दै आएको अवसरवादी भनेर टिप्पणी गर्ने गरेको छ ।

प्रकाशित : माघ २२, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?