कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वाब नै नलिई पीसीआर रिपोर्ट बनाइदिने अस्पतालका कर्मचारी पक्राउ

प्रारम्भिक अनुसन्धानबाट ती अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको पाइएको छ ।

काठमाडौँ — नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारीलाई पक्राउ गरेको हो ।

स्वाब नै नलिई पीसीआर रिपोर्ट बनाइदिने अस्पतालका कर्मचारी पक्राउ

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि ती अस्पतालबाट स्वाबको नमूनासमेत नलिई नक्कली पीसीआर रिपोर्ट बनाउने काम भएको महाशाखाले जनाएको छ ।

नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित एयरपोर्ट अगाडिबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । यस्तै अस्पतालका ल्याब म्यानेजर प्रसन्नकुमार झालाई नियन्त्रणमा लिइएको महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै कान्तिपुर अस्पताल प्रालिका कर्मचारी परिचयपत्र भएका नागेन्द्रकुमार यादवलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित नियन्त्रणमा लिएको पनि महाशाखाले जनाएको छ । त्यस्तै सोही अस्पतालका कर्मचारी माधव मैनाली पनि पक्राउ परेका छन् । कान्तिपुर अस्पतालबाट पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट उल्लेख गरिएको ४ थान रिपोर्ट पनि भेटिएको छ ।

प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटरलगायत उपकरण पनि नियन्त्रणमा लिइएको छ । दुवै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पीसीआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको महाशाखाले जनाएको छ । दुवै अस्पतालका पीसीआर ल्याब सिल गरिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती अस्पतालका ल्याबहरूले कतिपय व्यक्तिको स्वाब र परीक्षणबिना नै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको पाइएको छ । ती ल्याबहरूमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको पाइएको छ । कतिपय पीसीआर पोजिटिभ देखिएका स्याम्पलहरूको सीटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको भेटिएको पनि प्रहरीले जनाएको छ ।

ती अस्पतालले केही बिचौलियाहरूलाई अस्पतालको कर्मचारी भनी परिचयपत्र समेत बनाई दिई सामूहिक स्वाब संकलन गरेको भेटिएको महाशाखाले जनाएको छ । सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबबिनै बिचौलियाहरूले आफैंले आफ्नै स्वाब संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रति व्यक्ति १० हजार रुपैयाँसम्म असुल गरेको भेटिएको छ । ती रिपोर्ट क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी सक्कली जस्तै रिपोर्ट बनाउने गरेको पाइएको छ ।

प्रकाशित : माघ १९, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?