सूचना नदिनेमा स्थानीय तह अघि, सूचना नपाएको भन्दै ७५३ जनाले दिए पुनरावेदन - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूचना नदिनेमा स्थानीय तह अघि, सूचना नपाएको भन्दै ७५३ जनाले दिए पुनरावेदन 

कान्तिपुर संवाददाता

काठमाडौँ — सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थाबमोजिम सूचना नपाएको भन्दै राष्ट्रिय सूचना आयोगमा ७५३ जनाले पुनरावेदन गरेका छन् । आर्थिक वर्ष ०७७/७८ को आयोगको वार्षिक प्रतिवेदनअनुसार एक वर्षको अवधिमा सूचनाको हकसम्बन्धी ऐनको दफा १० बमोजिम सार्वजनिक निकायबाट सूचना प्राप्त नभएको भन्दै ७५३ वटा पुनरावेदन परेका थिए ।

त्यसरी प्राप्त पुनरावेदनमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित रहेको आयोगले जनाएको छ । स्थानीय तहसँग सम्बन्धित ७३ प्रतिशत पुनरावेदन छन् । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित ७ प्रतिशत, आर्थिक क्षेत्रसँग सम्बन्धित ४ प्रतिशत, कानुन, न्याय र प्रशासनसँग सम्बन्धित ४ प्रतिशत रहेका थिए ।

आयोगले तीमध्ये ९८.७ प्रतिशत पुनरावेदनहरू फर्छ्यौट गरेको छ । सो अवधिमा आयोगले ६९५ जनालाई सूचनाको हक कार्यान्वयनका विविध पक्षबारे प्रशिक्षण प्रदान गर्नुका साथै अन्तरक्रिया गराएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले सो वर्षभरि गरेका मुख्य–मुख्य काम कारबाही संलग्न गर्दै आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । ऐनको दफा २५ (१) बमोजिम व्यवस्थापिका संसद्‌मा पेश गर्ने सन्दर्भमा प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएको आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जानकारी दिए ।

प्रतिवेशन पेश गर्ने सन्दर्भमा आयोगका आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनाली, नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीलगायत उपस्थित थिए ।

प्रकाशित : माघ १८, २०७८ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्

सचिवहरूलाई खर्च बढाउन भनिरहनु राम्रो होइन : अर्थमन्त्री 

कान्तिपुर संवाददाता

काठमाडौँ — पुँजीगत खर्च गर्नका लागि सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्मको पुँजीगत खर्च समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् । ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने उनको भनाइ छ ।

‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन, राम्रो कुरा होइन’, उनले भने ‘समस्याको सहजीकरण गर्नु ठिकै हो । तर खर्च गर्नुपर्छ भनेर दबाब दिइरहनुपर्ने कुरा ठिक संस्कार होइन । यसको अन्त्य गर्नुपर्छ ।’ मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनु पर्ने अवस्थाको अन्त्य हुने बताए ।

यसैगरी मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवलाई खर्च हुन सक्ने/नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन दिए । जनतामा सरकारले पुँजीगत खर्च गर्नै नसक्ने भन्ने सन्देश प्रवाह भएको बताउँदै खर्च गर्न सकिने तथा नसकिने योजनाहरूको सूची बनाउन निर्देशन दिए । खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न उनले भनेका छन् । खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिए ।

पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनाहरूलाई अगाडि बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिए । त्यसमा पनि पछिल्लो समय कृषि मन्त्रालयको भूमिका थप हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित : माघ १८, २०७८ १४:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×