जाडोमा असावधानीले लिँदै छ ज्यान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाडोमा असावधानीले लिँदै छ ज्यान

एक महिनायता काठमाडौंमा मात्रै ५ जनाको मृत्यु, कोठामा हिटर, कोइला र दाउरा बाल्दा झ्यालढोका खुला राख्न, रातभर नबाल्न र हिटरनजिकै नबस्न चिकित्सकको सुझाव
लिला श्रेष्ठ

काठमाडौँ — जाडोयाममा कोठा न्यानो पार्नका लागि कोइला, दाउरा, हिटर आदि बालेर सुत्दा मृत्यु हुने क्रम बढ्दो छ । काठमाडौं प्रहरीका अनुसार एक महिनायता जिल्लामा ५ जनाको अकालमै ज्यान गएको छ ।

गत बिहीबार मात्रै शंखरापुर नगरपालिका–३ बोजेनीमा कोठामा कोइला बालेर सुत्दा दुई जनाको मृत्यु भयो । अघिल्लो साँझ खाना खाएपछि कोइला बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङको सुतेकै अवस्थामा मृत्यु भएको हो । ‘कोइला बालेर सुतेको पाइयो, निसासिएर मृत्यु भएको हुन सक्छ,’ काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले भने, ‘पोस्टमार्टमको रिपोर्ट आएको छैन, रिपोर्टले घटनाको यथार्थ खुल्नेछ ।’

त्यसैगरी तीन महिने शिशुलाई तेल लगाउन बालेको कोइला ननिभाइ सुत्दा रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चा बस्ने माघ ८ मा २८ वर्षीय पसुना तामाङ र उनका पति ३० वर्षीय अभिषेक रम्तेल बिहान बेहोस अवस्थामा भेटिए । शिशुको मृत्यु नै भयो । रम्तेल दम्पती बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तीनै जनालाई थिमिस्थित मध्यपुर अस्पताल पुर्‍याउँदा शिशुको मृत्यु भइसकेको थियो । रम्तेलको सोही दिन र पत्नी पसुनाको दुई दिनपछि मात्र होस आएको अस्पतालले जानकारी दिएको छ । कोइलाबाट निस्किएको कार्बन मोनोअक्साइडका कारण शिशुको मृत्यु र अभिभावक अचेत भएको अस्पतालका चिकित्सकले बताए ।

चिकित्सकका अनुसार बिजुली, कोइला, दाउरा तथा ग्यास उपयोग गर्दा निस्कने ग्यास जुन देख्न, सुँघ्न र महसुस गर्न सकिँदैन, त्यो कार्बन मोनोअक्साइड हो, जसलाई अदृश्य हत्यारा वा मौन हत्यारा पनि भनिन्छ । बिनाकुनै संकेत र लक्षण कसैको ज्यान लिन सक्ने अवस्था वा कारकका रूपमा यसलाई लिइन्छ । ग्यास बाहिर जान नपाएपछि कहिलेकाहीँ मानिसको निसासिएर अचानक मृत्यु हुने गरेको भक्तपुर अस्पतालका छाती रोग विशेषज्ञ डा.कुन्दन सिंह कार्कीले बताए ।

उनका अनुसार गुम्म पारेर मकल, आगो तथा हिटर बालेको कोठामा सास लिँदा त्यसबाट निस्किएको कार्बन मोनोअक्साइड ग्यास फोक्सोमा जान्छ । फोक्सोले रगतका कोषिकाहरूमा अक्सिजन पुर्‍याउने काम गर्छ । कार्बन मोनोअक्साइडले रगतमा रहेको रक्तकोषिकाबाट अक्सिजनलाई हटाइदिन्छ, जसका कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुको चालसमेत गडबड हुने गर्दछ । ‘कार्बन मोनोअक्साइडले शरीरमा भएको अक्सिजन बाहिर फालिदिने गर्छ, त्यही कारण अक्सिजनको मात्रा कम हुन्छ,’ उनले भने ।

पुस १० मा कोठामा कोइला बालेर सुत्दा दाङ तुल्सीपुर उपमहानगर–१० घर भई बाँसबारी जलढुंगा मार्ग बस्ने २१ वर्षीया निमा चौधरीको र पुस ५ मा नुहाउने क्रममा बाथरुममा बेहोस भएका बागबजारस्थित काठमाडौं मोडल कलेजका विद्यार्थी १८ वर्षीय सुशील सहनीको मृत्यु भयो । घरको छतमा साँझ ताप्न बालेको कोइला कोठामा लगेर सुत्दा निसासिएर चौधरीको ज्यान गएको हो । कलेजको होस्टलमा बस्ने रौतहट गढिमाई नगरपालिका–९ का १८ वर्षीय सहनीको भने ग्यास गिजरमा पानी तताएर नुहाउने क्रममा बेहोस भएर मृत्यु भएको हो । उनलाई मोडल अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए । काठमाडौं प्रहरी प्रवक्ता एसपी मैनालीका अनुसार अक्सिजनको कमी भएर मृत्यु भएको चिकित्सकको रिपोर्ट छ ।

कोठामा हिटर, कोइला र दाउरा बाल्दा झ्यालढोका खुला राख्न, रातभर नबाल्न र हिटरनजिकै नबस्न डा.कार्कीले सुझाए । ‘मकल, हिटर बाल्दा झ्यालढोका खुल्ला राख्दा कोठामा हावा आवतजावत गर्न पाउँछ, बाहिरको स्वच्छ र स्वस्थ हावा भित्र आउँछ र भित्रको दूषित हावा बाहिर जान पाउँछ,’ उनले भने ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बिजुली, कोइला, दाउरा तथा ग्यासको प्रयोग गर्दा सर्वसाधारणले सावधानीका उपाय अपनाउन अनुरोध गर्दै आएको छ । हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने/हिटर बाल्ने वा गिजर प्रयोग गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्ने, आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउन नबिर्सने, सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्नेलगायतको कार्य गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित : माघ १७, २०७८ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्

आखिर के चाहन्छन् किम ?

देश आर्थिक समस्यामा भए पनि प्रतिरक्षा नीति प्राथमिकतामा रहेको सन्देश दिइरहेका उत्तर कोरियाली नेता किमले क्षेप्यास्त्र परीक्षणमार्फत दबाब सिर्जना गरी अमेरिकालाई वार्तामा ल्याउन र आफ्नो देशमाथिका प्रतिबन्ध हटाउन चाहन्छन्
बुद्धिसागर मरासिनी

काठमाडौँ — तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सन् २०१८ को जुनमा सिंगापुरमा भएको भेटवार्तामा उत्तर कोरियाली नेता किम जोङ–उनले ‘आफ्नो देश परमाणु तथा विनाशकारी हतियार त्याग्न तयार रहेको’ बताएका थिए । उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति अमेरिकाले लिने ट्रम्पको आश्वासनपछि किमले उक्त जवाफ दिएका थिए ।

वार्तापछि दुई नेताद्वारा जारी संयुक्त वक्तव्यमा ‘नयाँ शान्तिपूर्ण सम्बन्ध, कोरियाली द्वीपलाई परमाणु अस्त्रविहीन बनाउने र उच्च अधिकारीबीचको वार्तालाई निरन्तरता दिने’ लगायतका कार्य गर्ने उल्लेख गरिएको थियो ।

त्यसलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ‘कोरियाली द्वीपमा दक्षिण कोरियासँग संयुक्त सैनिक अभ्यास नहुने र उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता ल्याउन चाहेको’ बताएका थिए । तर अमेरिकी सिनेटले सन् २०१९ का लागि सैनिक बजेट पारित गर्दै तत्काल सैनिक संख्या कटौती नहुने जनाएको थियो । उक्त कदमले रुष्ट उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिएको भए पनि राष्ट्रपति ट्रम्प र किमबीच सन् २०१९ को फेब्रुअरी अन्त्यमा भियतनामको राजधानी हनोईमा भेटवार्ता भएको थियो ।

त्यसयता भने अमेरिका र उत्तर कोरियाबीच उच्च तहमा वार्ता हुन सकेको छैन । अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्डका क्रियाकलाप र आफूमाथिका प्रतिबन्धहरूका कारण रुष्ट उत्तर कोरियाले पछिल्लो समय हतियार परीक्षण पुन: तीव्र पारेको छ । तर पछिल्लो समय परीक्षण गरिएका सबै अधिकांश क्षेप्यास्त्र छोटो दूरीका हुन् । र, तीमध्ये अधिकांश तटीय क्षेत्रभन्दा टाढै खसेका जापानी अधिकारीले जनाइएका छन् ।

उत्तर कोरियाले आइतबार जनवरी महिनामा सातौंपटक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार आइतबार मध्यम दूरीको गरिएको बलिस्टिक क्षेप्यास्त्र (आईआरबीएम) परीक्षण गरिएको हो । सन् २०१७ को नोभेम्बरपछिकै ठूलो क्षेप्यास्त्र २ हजार किलोमिटर माथि र करिब ८ सय मिटर टाढा पुगेको जापान र दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

परीक्षणलाई निकै तीव्रता दिए पनि किमले तत्कालै केही गरिहाल्ने सम्भावना भने देखिन्न । किनकि, पछिल्ला सबै क्रियाकलाप भने किमले ‘उत्तर कोरियालाई पूर्ण र प्रभावकारी परमाणु शक्ति सम्पन्न राष्ट्र बनाउन’ खोजेकामा दुईमत छैन । तर आफूले चाहेको जस्तो नतिजा नआएको खण्डमा भने उनले चेतावनीस्वरुप अप्रिय कदम चाल्न सक्ने कतिपयको विश्लेषण छ ।

उत्तर कोरियाले बिहीबार परीक्षण गरेको क्षेप्यास्त्र । तस्बिर : एपी

‘मेरो दृष्टिकोणमा यो अनुमानित नै थियो,’ उत्तर कोरियाली नौसेनाका कमान्डर प्राध्यापक किम डोङ युपले बीबीसीसँग भनेका छन्, ‘उत्तर कोरियाली प्रविधिलाई हामीले कम आँकेका थियौं । वास्तवमा, उत्तर कोरियाले हामीले सोचेभन्दा छिटो सैनिक क्षमता बढाइरहेको छ ।’ जनवरी ५ र १० मा हाइपरसोनिक तथा रेल वा कारबाट प्रहार गर्न मिल्ने हतियार परीक्षण गर्नुले उनको भनाइ पुष्टि हुन्छ ।

त्यस्तै, जनवरी १७ मा उसले रणनीतिक रूपमा निर्देशित क्षेप्यास्त्र पनि सफलतापूर्व परीक्षण गरिसकेको छ । उत्तरले जनवरी महिनामा मात्रै ५ पटक गरी दर्जनभन्दा बढी क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । प्रविधिमा गरेको तीव्र विकाससँगै उत्तर कोरियाले उक्त क्षेत्रमा रहेका अमेरिका र जापानका महँगा र जटिल क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई नै परास्त गर्न सक्ने आकलन गरिएको छ ।

यसको अर्थ, ‘शत्रु देशहरूको प्रतिरक्षा प्रणाली ध्वस्त पार्नु’ नै किमको पहिलो प्राथमिकता देखिएको छ । त्यसका साथै उत्तरले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली विकास गरिरहेको हुन सक्ने देखिएको छ । तर उत्तर कोरियाको पहिलो उद्देश्य आक्रमण गर्नु नभई आफ्नो प्रतिरक्षा गर्नु देखिएको प्राध्यापक किमको बुझाइ छ ।

पछिल्लो समय उत्तर कोरिया आर्थिक संकटबाट गुज्रिरहेको छ । क्षेप्यास्त्र तथा परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध बेवास्ता गरेपछि संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी जारी छ । त्यस्तै, अमेरिका र युरोपेली संघले लगाएको आर्थिकलगायत नाकाबन्दी पनि उसले झेलिरहेको छ । देश आर्थिक समस्यामा परेको भए पनि आफ्नो प्रतिरक्षा नीति प्राथमिकतामा रहेको किमले सन्देश दिन चाहेका अमेरिकास्थित थिंक ट्यांक अंकित पन्डाको बुझाइ छ ।

त्यसका साथै कोभिड–१९ को महामारी नियन्त्रणका लागि गरिएको नाकाबन्दीका कारण चरम खाद्यान्न अभाव देखिएको छ । केही साताअघि दलको वार्षिक बैठकमका क्रममा बोल्दै नेता किमले ‘देशले जीवन र मरणबीच संघर्ष गरिरहेको’ स्वीकार गरेका थिए ।

सन् २०२१ को जनवरीको सैनिक परेडका क्रममा प्रदर्शन गरिएका उत्तर कोरियाका क्षेप्यास्त्र । तस्बिर : रोयटर्स  

देशको विकास गर्नु र जनताको जीवनस्तर सुधार्नु नै सन् २०२२ को प्रमुख लक्ष्य भएको किमको भनाइ थियो । तर कोरियाली द्वीपमा आफ्नो ‘देशको प्रतिरक्षा क्षमता सुदृढ पार्ने काम भने जारी रहने र त्यसका लागि तयारी भइरहेको’ उनले बताएका थिए । त्यसको केही दिनमा उत्तरले क्षेप्यास्त्र परीक्षण तीव्र पारेको हो ।

उत्तर कोरियाले हाल आफ्नो कुल गार्हस्थ्य उत्पादनको करिब एक चौथाइ रक्षा तथा सैनिक क्षेत्रमा खर्च गर्छ । यस्तो अवस्था आउनुको मुख्य कारण भनेको किम अझै पनि आफ्नो प्रतिरक्षा प्रणालीमा विश्वस्त नभएको देखिन्छ ।

हुन त किमले छिट्टै कसैको पनि विश्वास गर्दैनन् । स्कुले जीवन स्विट्जरल्यान्डमा बिताएका किमले सन् २००२ देखि २००७ सम्म भने प्योङयाङस्थित किम इल–सुङ राष्ट्रिय युद्ध कलेजमा पढेका थिए । युवा अवस्थादेखि नै किम आफ्ना पिता किम इल–सुङसँगै सैनिक निरीक्षणमा जाने गर्थै र कोरियाली वकर्स पार्टीका कतिपय काममा सहभागी हुन्थे ।

सन् २०११ मा पिताको मृत्युसँगै उनी उत्तर कोरियाको सर्वोच्च नेता घोषित भए । सरकार र सैनिक फौजको प्रमुख रहने उक्त पद सन् २०१२ मा स्वीकार गरिएपछि भने उनी झन् शक्तिशाली भए । सन् २०१३ मा अविश्वासकै कारण किमले ‘पार्टीको फोहोर सफा गरेको’ भन्दै आफ्ना काका जाङ सोङ–थाएलाई फाँसी दिए । आफ्नो पिताका निकट र चीनसँगको सम्बन्धका कारक थाए मारिएसँगै चीनसँग किमको सम्बन्ध केही समय बिग्रेको थियो ।

पार्टीभित्र वा शासन सञ्चालनका विषयमा भने किमले निकै कमसँग मात्रै सल्लाह लिने गर्छन् । तीमध्ये आफ्नी बहिनी किम यो–जोङ पनि एक हुन् । उनी वकर्स पार्टीको प्रचार तथा सूचना विभागकी उपप्रमुख तथा राज्य मामिला आयोगकी एकमात्र महिला सदस्य हुन् । त्यस्तै, तत्कालका लागि देशबाहिर भने चीन र रुस नै उनका मित्र हुन्, जसप्रति उनी ढुक्क देखिन्छन् । पछिल्ला घटनाबारे पनि दुवै देशले अझैसम्म मुख खोलेका छैनन् ।

दक्षिण कोरियाको राजधानी सोलस्थित युद्ध संग्रहालयमा राखिएका क्षेप्यास्त्र । तस्बिर : एपी

जनवरी महिनामा उत्तरले गरेको प्रक्षेपण गति भने अस्वाभाविक देखिएको छ । कोरियाली प्रायद्वीपमा अमेरिका र दक्षिण कोरियाली सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यासको कडा विरोध जनाउन पनि उत्तरले क्षेप्यास्त्र परीक्षणको गति बढाएको हो । त्यसका साथै, परमाणु तथा हतियार कार्यक्रममार्फत अमेरिकालाई उक्त क्षेत्रबाट हटाउन र दक्षिण कोरियासँग शान्ति सम्झौता गर्न सकिन्छ भन्ने महत्त्वाकांक्षा किममा पलाएको देख्छन्, दक्षिण कोरियाको बुसानस्थित प्राध्यापक ब्रायन आर मायर्स ।

त्यसका साथै आफ्ना क्षेप्यास्त्रको क्षमता विकसित गर्न, अवस्था परीक्षण गर्न र तयारी अवस्थामा राख्न पनि परीक्षलाई तीव्रता दिइएको जानकारहरू बताउँछन् ।

अमेरिकाको ध्यान खिच्नका लागि पनि किमले अनेकन उपाय अपनाउँदै आएका छन् । यसको अर्थ हो, जुन गतिमा क्षेप्यास्त्र परीक्षण भइरहेको छ त्यसले छिटै नै अमेरिका र उत्तर कोरियाबीच वार्ता नहोला भन्न सकिन्न । उत्तर कोरियाले सन् २०१७ मा प्रशान्त महासागरको गुआममा रहेको अमेरिकी सैन्य अखडामा प्रहार गर्न सक्ने क्षमताको ह्वासोङ–१५ क्षेप्यास्त्र परीक्षण गरेको थियो । जसले अमेरिकालाई वार्तामा आउन दबाब दिएको ठानिएको थियो ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएसँगै भने दुई देशबीचको परमाणु वार्ता अवरुद्ध छ । उत्तर कोरियाका लागि संयुक्त राष्ट्रसंघ तथा अमेरिकाले लगाउँदै आएका नाकाबन्दी तत्काल हटाउनुपरेको छ । जनवरी सुरुमा क्षेप्यास्त्र परीक्षण गरेपछि रुष्ट बाइडेन प्रशासनले उत्तरमाथिका प्रतिबन्धहरू कडा पारिसकेको छ । त्यसका साथै, अमेरिकी राष्ट्रपति बाइडेन पछिल्लो समय युक्रेन–रुस तनावमा अल्झिरहेका कारण पनि त्यस्तो अवसर भने झट्टै आइहाल्ने देखिन्न ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : माघ १६, २०७८ २१:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×