संघीय कानुन आएपछि शिक्षामा लगानी गर्ने वातावरण बन्छ : राज्यमन्त्री श्रेष्ठ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय कानुन आएपछि शिक्षामा लगानी गर्ने वातावरण बन्छ : राज्यमन्त्री श्रेष्ठ

रासस

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न संघीय कानुन ल्याउन लागेको जानकारी दिएका छन् । 

काठमाडौंको स्वस्तिश्री गुरुकुल स्कुलमा शनिबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघीय कानुन आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्नसक्ने वातावरण तयार हुने जानकारी दिए । उनले समारोहमा भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । उनले प्राविधि र उच्च शिक्षा तथा विद्यालय तहको शिक्षाका विषयमा छुट्टाछुट्टै कानुन बन्ने जानकारी दिए ।

मन्त्री श्रेष्ठले परिवर्तित समय र आवश्यताअनुसारको शिक्षा जरुरी रहेको उल्लेख गर्दै नेपाल शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गरे । 'अहिले पनि ६०/७० हजार विद्यार्थी पढ्न विदेश जाने गरेका छन्, अर्बौं पैसा विदेश जान्छ,' उनले भने, 'त्यसलाई रोक्न नेपालमा गुणस्तरीय शिक्षा आवश्यक छ, संघीय कानुन बनेपछि केही प्रभावकारी हुन्छ ।'

राम्रो काम गर्दा टीकाटिप्पणी आउने उल्लेख गर्दै उनले धैर्य गर्न पनि सुझाव दिए । आजै स्वस्तिश्री गुरुकुललाई ‘आइबी वर्ल्ड स्कुल’ घोषणा गरिएको थियो ।

प्रकाशित : माघ १५, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्

गाउँमै प्रयोगशाला भएपछि गर्भवतीलाई सहज

रासस

बागलुङ — प्रयोगशाला सेवा पाएपछि ग्रामीण स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकी र बडिगाडको ग्वालिचौर स्वास्थ्य चौकीमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो ।

सामान्य समस्या भएपछि प्रयोगशाला अभावमा बाहिर रिफर हुने बिरामी र गर्भवतीलाई ती स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि अन्यत्र नजान सुझाव दिन थालेका छन् । पछिल्लो दुई वर्षदेखि सञ्चालित ल्याबमा सबै प्रकारका परीक्षण सम्भव भएको हो ।

गलकोट नगरपालिका–३ बस्ने गोमा अर्गेजाले अघिल्लो महिना हटिया स्वास्थ्य चौकीमा पुगेर सुत्केरी हुँदा ल्याब सेवा पनि पाएकाले सजिलो भएको बताइन् । 'चार पटक गर्भजाँच र एकपटक भिडियो एक्स–रे पनि गराउन पाएर ढुक्क भएँ,' उनले भनिन्, 'यसअघिको बच्चाको पालामा पाल्पा पुगेकी थिएँ, अहिले यहीँ सेवा पाएँ ।'

गलकोट नगरपालिका–८ का सुरेश विकले बिरामी हुँदा रगत, खकार, पिसाबसमेत हटिया स्वास्थ्य चौकीमा परीक्षण गर्न पाएको बताए । 'कोरोनाले सङ्क्रमित भएर पनि अन्यत्र जानुपरेन, यही सेवा पाएँ,' विकले भने, 'सदरमुकाम जानु परेको भए होटेल खोजेर बस्नुपर्थ्यो, जाने सवारी भाडा आदि गर्दा पाँच हजार रुपैयाँले पुग्दैनथ्यो ।' हटिया स्वास्थ्य चौकीमा सबै सेवा निःशुल्क पाएको उनले बताए ।

पत्नी सुनितालाई प्रसूति व्यथाले च्याप्दा मध्यरातमा लगेर सुत्केरी गराएको उनले बताए । 'अहिले यहाँबाट चौबिसै घन्टा स्वास्थ्य सेवा सुरु भएको रहेछ, त्यसैले रातमा पनि सहज भयो,' विकले भने । उनको घर भएको कांडेवासमा यो सेवा छैन । त्यसैले रातारात हटिया ल्याएको उनले बताए ।

हटिया स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीका अनुसार जिल्ला सदरमुकामपछि सबैभन्दा धेरै बिरामीले हटियाबाट स्वास्थ्य परीक्षण र सेवा लिन्छन् । गत वर्ष ८६० जनाले ल्याब सेवा लिएकामा चालु वर्षमा ४५० जनाले सेवा लिइसकेका छन् ।

हरेक वर्ष २५० भन्दा बढीले सुरक्षित सुत्केरी सेवा लिने गरेका छन् । चालु वर्ष पनि एक सयभन्दा बढीले सेवा लिइसकेको उनले बताए । 'स्वास्थ्य संस्थामै सुत्केरी हुनेको सङ्ख्या शत प्रतिशत पुग्न थालेको छ,' सुवेदीले भने, 'एकाध बाहेक सबैले स्वास्थ्य संस्थाको सेवा लिने गर्छन् ।'

गलकोट नगरपालिकाले चारपटक गर्भ जाँच गरेर स्वास्थ्य चौकीमै सुत्केरी भएका महिलालाई चार हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने गर्छ । नेपाल सरकारले दिने दुई हजारसमेत थप्दा छ हजार ५०० रुपैयाँ बुझेर फर्कन्छन् ।

प्रकाशित : माघ १५, २०७८ १४:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×